ठूला घरानाको कब्जामा नयाँ स्टक एक्सचेन्ज


काठमाडौं । नेपाल धितोपत्र बोर्डले स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार कम्पनी स्थापनाका लागि आवेदन माग गरेको समय आज सकिदैछ । योसँगै दुईवटा स्टक एक्सचेन्ज र दुईवटा वस्तु विनिमय बजार कम्पनीले आवेदन दिएका छन् ।
आवेदन दिनेमा स्टक एक्सचेन्जतर्फ हिमालयन स्टक एक्सचेन्ज र नेशनल स्टक एक्सचेन्ज रहेको छ । ३ अर्ब रुपैयाँ चुक्तापूँजी हुने स्टक एक्सजेन्का लागि ठूला घरानाको आवेदन परेको छ ।
स्रोतका अनुसार हिमालयन स्टक एक्सचेन्जमा शंकरलाल अग्रवालसँगै नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा गोल्छा अर्गनाइजेसनका शेखर गोल्छाको लगानी छ । महासंघका पूर्वअध्यक्षहरु पशुपति मुरारका, भवानी राणाको पनि लगानी रहेको स्रोतको दाबी छ ।
त्यस्तै, खेतान ग्रुपका राजेन्द्र खेतान, लक्की ग्रुपका सतिशलाल मोर, दुगड ग्रुपका विवेक दुगड, ज्योती समूहका शौरभ ज्योती लगायतका ठूला व्यापारी र व्यावसायिक घरानाको लगानी रहेको छ । यसमा रोहित गुप्ता, आशिष श्रेष्ठ, जुनी गुरुङ र दीपक भट्टको पनि लगानी रहेको बताइएको छ ।
यता, नेसनल स्टक एक्सचेन्जमा सिद्धार्थ गुप, अग्नि ग्रुप, रिलायन्स ग्रुपको मुख्य लगानी रहेको छ । दीपक तिमिल्सिना, गैरआवासीय नेपालीको पनि यसमा लगानी रहेको छ ।
गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्ष जीवा लामिछाने, संघका वर्तमान अध्यक्ष बद्री केसी, कुल आचार्य र महासचिव गौरी जोशीको पनि लगानी छ ।
नेपालमा अहिले सरकारी स्वामित्वको नेपाल स्टक एक्सचेन्ज छ । एउटा मात्र स्टक एक्सचेन्ज हुँदा एकाधिकार भएको र लगानीकर्ताले राम्रो तथा गुणस्तरीय सेवा नपाएको भन्दै निजी क्षेत्रबाट पनि स्टक एक्सचेन्ज खोलिनुपर्ने आवाज उठ्दै आएको थियो ।
एउटा स्टक एक्सचेन्जका लागि आवेदन माग भएकोमा दुईवटाको आवेदन परेको छ ।
धितोपत्र बोर्डले एउटा नयाँ स्टक र २ वटा वस्तु विनियम बजारका लागि आवेदन माग गरेको थियो । असोज २ गते धितोपत्र बोर्डले नयाँ ब्रोकर, नयाँ स्टक र वस्तु विनियम बजारलाई लाइसेन्स दिन आवेदन माग गरेको थियो ।
असोज ३१ गते अधिवक्ता दिपकविक्रम मिश्रले तत्काल नयाँ ब्रोकर, नयाँ स्टक र वस्तु विनियम बजारलाई लाइसेन्स दिने प्रक्रिया रोक्न माग गर्दै रिट दायर गरेका थिए । सो रिट चैत २६ गते सर्वोच्चले खारेज गरेपछि सेवोनले ३० गते १० दिनको समय दिएर अर्को आवेदन माग गरेको थियो । सोही बमोजिक बैशाख १० गते समय सकिएको हो ।
अनुमति पाउँने स्टक एक्सचेन्जले कारोबार संचालन गरेको दुई वर्षभित्र आफ्नो जारी पूँजीको कम्तीमा तीस प्रतिशत शेयर सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन गर्नु पर्नेछ ।
धितोपत्र बजारको कम्तीमा दुई तिहाइ संचालक अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा वाणिज्य कानून विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधी हासिल गरी पूँजी बजार वा उद्योग वा बाणिज्य वा वित्त वा लेखा वा कानून वा व्यवस्थापनका सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव हासिल गरेक हुनुपर्ने व्यवस्था छ ।
यता कमोडिटस्तर्फ भने मल्टि एसेट्स एण्ड डेरिभेटिभ प्रालि र मल्टि डेरिभेटिभ एक्सचेन्जको आवेदन परेको बोर्डका सुचना अधिकारी तेज प्रसाद देवकोटाले जानकारी दिए । हालसम्म नेपालमा एउटा पनि वस्तु विनिमय बजार कम्पनी छैन । यसअघि केही कारोबार भएपनि ति कारोबारहरु गैरकानुनी हुदै आएको थियो ।