‘प्रचण्डले एमाले होइन आफैँ र माओवादी आन्दोलनलाई धोका दिए’ (भिडिओ) – Nepal Press
नेपाल टक

‘प्रचण्डले एमाले होइन आफैँ र माओवादी आन्दोलनलाई धोका दिए’ (भिडिओ)

शंकर पोखरेल भन्छन्- जनसरोकारका विषयलाई केन्द्रबिन्दुमा राखेर पार्टी बलियो बनाउने अभियानमा छौं

प्रमुख प्रतिपक्षी नेकपा एमाले यतिखेर ‘मिसन ग्रासरुट’ अभियान लिएर कार्यकर्ता र जनमाझ छ । पार्टीलाई अझ सशक्त बनाउँदै जनताका वास्तविक मुद्दाको पहिचानसहित आगामी चुनावमा बहुमत ल्याउने प्रणका साथ एमालेले थालेको यो अभियानमा शीर्ष नेताहरू जिल्ला दौडाहामा छन् । यसै मेसोमा कार्यकर्ता भेला कार्यक्रममा कर्णाली प्रदेशको राजधानी सुर्खेत आएका एमाले महासचिव शंकर पोखरेलसँग पार्टीको अभियान, अबको रणनीति, गठबन्धन सरकारमाथिको मूल्यांकन र समसामयिक राजनीतिक विषयमा गरिएको कुराकानी नेपाल प्रेसको नेपाल टकमा :

– गठबन्धन सरकारका चार महिनालाई एमालेले कसरी मूल्याङ्कन गरिरहेको छ ?

यो असफल भइसकेको गठबन्धन भएकाले मूल्यांकन गरिरहनुपर्ने विषय नै होइन । फेरि यसलाई ब्यूँताउने खालको काम जनताको चाहनाअन्तर्गत वा संसद्को आवश्यकताका आधारमा भएको पनि होइन । एक प्रकारको अदृश्य शक्तिको प्रभावमा परेर पाँचदलीय गठबन्धनलाई ब्यूँताइयो । यो गठबन्धन पूर्णरूपमा असफल छ । विगतमा १५ महिनामा पाँचदलीय गठबन्धनले मुलुकलाई आर्थिक संकटग्रस्त अवस्थामा पुर्‍याउने कामको नेतृत्व गर्‍यो । यति बेला मुलुकमा मौद्रिक तरलताको संकट र आर्थिक मन्दीको स्थिति उत्पन भएको छ । त्यसको कारण विगतमा कांग्रेस र माओवादी नेतृत्वको सरकारले जसरी निश्चित व्यापारी घरानालाई लाभ हुने हिसाबले करका दरहरू हेरफेर गर्ने नीति अवलम्बन गर्‍यो त्यसको परिणाममा अथवा अर्को अर्थमा वैधानिक अर्थतन्त्रलाई कमजोर बनाउने र अवैधानिक अर्थतन्त्रलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ गलत आर्थिक नीति अवलम्बन गर्दाको परिणाम आज मुलुक आर्थिक सङ्कटमा छ । त्यही संकटको नेतृत्वकर्ता नै फेरि सरकारमा छन् । मन्त्रिपरिषद् गठन गर्ने कुरालाई उसले आफ्नो जिम्मेवारीको विषयको रूपमा लिन सकेको छैन । मन्त्रिमण्डललाई पूर्णता नै प्राप्त गर्ने सकेको छैन । कामको कुरा त उसको प्राथमिकतामा नै छैन । यो नेपालको राजनीतिमा असफल भइसकेको समीकरण हो । असफल भइसकेको गठबन्धन हो । यसबाट जनता, राष्ट्रले अपेक्षा गर्ने विषय केही पनि छैन ।

– प्रचण्डलाई तपाईँहरूले नै बालकोटमा लगेर प्रधानमन्त्री बनाइदिनुभयो । तर, अहिले उहाँकै कारणले नै संघदेखि प्रदेशसम्म तपाईँहरूको हात रित्तो भयो नि ?

चुनाव पछाडि नेतृत्वका लागि जनताले हामीलाई जनादेश दिएनन् । हामी प्रतिपक्षमा बस्न तयार नै छौं । यदि प्रमुख दलहरूमध्ये कोही पाँचदलीय समीकरणबाट आउनेछन् भने नयाँ ढङ्गले जान सकिन्छ भन्ने खालका कुरा हामीले गरेका थियौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यसका लागि तयार भएपछि हामीले सरकार गठनका लागि साथ दिएको हो यद्यपि हाम्रो आफ्नो सोच भन्ने हो भने अहिले हाम्रा लागि सरकार प्राथमिकताको विषय होइन । अहिलेको सरकारको समीकरण संसद्‌भित्रको शक्ति सन्तुलनको अवस्था जस्तो छ । यो धेरै प्रधानमन्त्री जन्माउने, धेरै मन्त्री जन्माउने, धेरै मुख्यमन्त्री जन्माउने, धेरै प्रदेश मन्त्रीहरू जन्माउने संसद् हो । त्यस अर्थमा जनताले कुनै ठूलो अपेक्षा गरेका छैनन् र हामीले पनि यसबाट कुनै सकारात्मक परिणाम दिने ठानेका छैनौं । तसर्थ हामीले पार्टी निर्माणलाई केन्द्रबिन्दुमा राखेर जति बेला प्रचण्ड प्रधानमन्त्री हुनुभएको थियो त्यति बेला नै हाम्रो ध्यान पार्टी सुदृढीकरण विकासतर्फ केन्द्रित थियो । त्यति बेला नै हामी ‘मिसन ग्रासरुट’ को योजना बनाएका थियौँ ।

– अब उपनिर्वाचनपछि यो सरकार फेरिने चर्चा गाइँगुइँ चल्न थालेको छ । एमाले यो गठबन्धन भत्काउने खेलमा लाग्ने हो ?

एमालेलाई कुनै रुचि छैन । उहाँहरूले १० दलीय गठबन्धन भन्नुहुन्छ । १० दलको समर्थनमा बनेको सरकार भन्नुहुन्छ । कतिपयले टिप्पणी गरेको पनि सुन्छु नेकपा एमाले एक्लियो भनेर एक प्रकारले नेकपा एमालेप्रति खिसी टिउरी गरेको पनि देखिन्छ । तर, नेकपा एमालेले यसलाई आफ्नो भविष्य उज्यालो बनाउने अवसरको रूपमा लिएको छ । किनकि एक चोटि १० वटा पार्टी असफल भए नेपालमा जनताको छनोटमा को बाँकी रहन्छ भन्दा एमालेमात्रै बाँकी रहन्छ । तसर्थ भविष्यका लागि जे चिजबाट अनुकूल आधार तयार हुन्छ । त्यो स्थिति देखिसकेपछि नेकपा एमाले फेरि सरकारका लागि जोडजुलम गर्नुपर्ने कुनै आवश्यकता छैन । १० दलीय गठबन्धन स्वार्थ आधारित गठबन्धन हो । यो आफ्नै कारणले गर्दा सङ्कटमा पर्छ र यो लामो समयसम्म जान्न भन्ने हाम्रो बुझाई र विश्लेषण छ । र कतिपय पुष्पकमल दाहालले एमालेलाई धोका दियो भन्ने गर्छन् । मैले के भन्ने गरेको छु भने, प्रचण्डले आफैँलाई धोका दिएर माओवादी आन्दोलनलाई धोका दिए । माओवादी आन्दोलनको भविष्य असुरक्षित बनाउने काम गरे । तसर्थ उनले एमालेलाई धोका दिएको होइन आफैँलाई धोका दिएको हो ।

चुनाव पछाडि नेतृत्वका लागि जनताले हामीलाई जनादेश दिएनन् । हामी प्रतिपक्षमा बस्न तयार नै छौं । यदि प्रमुख दलहरूमध्ये कोही पाँचदलीय समीकरणबाट आउनेछन् भने नयाँ ढङ्गले जान सकिन्छ भन्ने खालका कुरा हामीले गरेका थियौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यसका लागि तयार भएपछि हामीले सरकार गठनका लागि साथ दिएको हो यद्यपि हाम्रो आफ्नो सोच भन्ने हो भने अहिले हाम्रा लागि सरकार प्राथमिकताको विषय होइन ।

– एमालेको अबको रणनीति चाहिँ के हुन्छ त ? पार्टी संगठन अभियानमै हो ?

निश्चित रूपमा, जनताका सरोकारका प्रश्नलाई केन्द्रबिन्दुमा राखेर पार्टीलाई बलियो बनाउने । नेकपा एमालेलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने । आज मुलुकमा जुन प्रकारको अस्थिरताको दुष्चक्र छ । यसबाट मुलुकलाई कसरी जोगाउन सकिन्छ भन्ने प्रश्नमा केन्द्रित छौं । २०४६ सालको परिवर्तन पछाडि यो मूलकमा कहिले स्थायित्व प्राप्ति हुन् सकेन । ३२ वर्षमा २८ प्रधानमन्त्री मुलुकले व्यहोर्नुपर्नेपर्‍यो । एउटा प्रधानमन्त्रीले औसतमा सवा वर्ष पनि काम गर्न पाएको छैन । देश बन्छ कसरी ? यसर्थमा हाम्रो ध्यान देश बनाउने कुरामा केन्द्रित छ । हामी भन्दै आएका छौं- समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नेका लागि बलियो शक्तिको आवश्यकता पर्छ । राजनीतिक स्थायित्वको आवश्यकता पर्दछ । त्यो राजनीतिक स्थायित्वका लागि नेकपा एमालेलाई तयार बनाउने हाम्रो उद्देश्य हो । त्यसतर्फ केन्द्रित छौं ।

– ‘मिसन ग्रासरुट’ को अहिलेसम्मको उपलब्धि के-कस्तो मूल्याङ्कन भएको छ ?

मिसन ग्रासरुटअन्तर्गत पार्टीलाई पुनर्जागरण प्रदान गर्ने खालको उद्देश्य राखेका थियौं । त्यसमा हामी पूर्ण सफल भएका छौं । हामी हाम्रो पार्टी सदस्यता पूर्णपुरमा डिजिटलाइज गर्ने र पार्टी केन्द्र र सदस्यताका बीचमा सीधै संवाद गर्ने आधार तयार गर्ने उद्देश्य छ । त्यो काममा हामी जुटेका छौं । तेस्रो कुरा मिसन ग्रासरुट अभियानअन्तर्गत जनतासँगका सरोकारका विषयमा पहिचान गर्ने । जनताका र राष्ट्रका पक्षमा महत्त्वपूर्ण काम गर्‍यौं । जनताका चाहनाहरू बदलिँदा रहेछन् । त्यो बदलिएको चाहनाको पहिचान गरी भविष्यमा जनअपेक्षा अनुसार नेकपा एमालेलाई खरो साबित गर्ने उद्देश्यका साथ हामी संवादका जुटेका छौं स्थानीय तहअन्तर्गत हल गर्नेगरी पार्टी एकताबद्ध बनाउने पार्टीको योजना रहेको छ । पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक, चुस्त-दुरुस्त बनाउने योजनाका साथ आफ्नो अभियान सुरू गरेका छौं ।

यो आफैँमा विशिष्ट प्रकृतिको कार्यक्रम हुन पुगेको छ । हामीले हाम्रो पार्टीका नेताहरूलाई आधारभूत तहमा पुर्‍याउने काम गरेका छौं । पार्टी नेतृत्व र पार्टी कार्यकर्ता रूपमा अन्तरक्रिया मिसन ग्रासरुट अगाडि बढ्दैछ । दुई महिनाको अनुभवले यसमा जुट्नेहरू उत्साहित भएको र यसका समय थपौँ, निरन्तरता दिऊँ भन्ने कुराहरू आइरहेका छन् । यद्यपि यो विशेष अवधिका लागि निर्धारण गरिएको कार्यक्रम हो । हामी समीक्षामा छौं ।

– अहिले संसद्‌मा महत्वपूर्ण विधेयकको विषयमा सभामुखको पहलमा शीर्ष तीन दलका नेताहरूबीच भेटवार्ता भइरहेको छ । खास कुरा अड्केको कहाँ हो ?

खासगरी त्यति बेला द्वन्द्व पक्षहरू भनेको माओवादी विद्रोह पक्ष र सत्ताको नेतृत्व गरेको कांग्रेस शान्ति प्रक्रियालाई सही ढङ्गले टुङ्गो लगाउनका लागि उनीहरूको भूमिका आवश्यक पर्दछ । हाम्रो पार्टी अध्यक्ष प्रधानमन्त्री भएको बेलामा पनि सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगमा कांग्रेस र माओवादीको जे सहमति हुन्छ त्यहीलाई नै अगाडि बढाउने नीति अवलम्बन गरेका थियौं । तर कांग्रेस र माओवादी नै त्यो सङ्क्रमणकालीन न्याय निरूपण गर्ने कुरामा उदासीन रहे । उनीहरूले कहिले पनि त्यो विषयलाई प्राथमिकताका साथ महत्त्वका साथ अगाडि बढाउन नै चाहेनन् । जस कारण शान्ति प्रक्रिया सुरु भएको यति लामो समय बितिसक्दापनि त्यो प्रक्रिया अगाडि बढ्न सकेको छैन । पीडितहरूले न्यायको अनुभूति गर्न पाइरहेका छैनन् । सङ्क्रमणकालीन न्यायिक व्यवस्थाको सन्दर्भका बारेमा शान्ति प्रक्रियाको जुन महत्त्व आत्मसात् गरेर द्वन्द्वका पक्षका बीचमा एकले अर्कालाई आरोप लगाउने प्रतिशोधजस्ता कुराहरू नहुन् भन्ने कुरामा हामी सचेत छौं ।

इतिहासमा नेकपा असल मनसाय साथ गरिएको प्रयास थियो । त्यसलाई जसले असफल बनाए उनीहरूलाई फेरि सफल बनाउनका लागि योगदान गर्छन् भन्ने कुराहरू थोरै पनि नेकपा एमाले विश्वास गर्दैन । इतिहासका कुनै एउटा घटना पटकपटक दोहोरिने कुरा सम्भव पनि होइन उचित पनि होइन । त्यही कुरा फेरि पुनरावेदन हुन्छ भन्ने खालको कुरा हामीले सोचेका पनि छैनौं ।

– पछिल्ला दिनमा प्रधानमन्त्रीका अभिव्यक्ति हेर्दा एमालेलाई लक्षित गर्दै व्यवस्थामाथि खतरा छ भनिराख्नुभएको छ, त्यस्तो हो र ? कसरी लिनुहुन्छ ?

वास्तवमा यो नेपालको राजनीतिकभित्र जो असफल छ, उसले अनेक प्रकारको चर्चा परिचर्चा गर्ने कुरा आमप्रवृतिको कुरा बन्न पुगेको छ । प्रचण्ड दुई पटक सरकारको नेतृत्व गर्दा काम देखाउन पाइन, अब तेस्रो पटक काम देखाउन चाहन्छु भन्ने खालको विचार व्यक्त गर्दा हामीले पुष्पकमल दाहालमा अब केही गरौं भन्ने भावना जागृत भयो भन्ने लागेर सहयोग गर्न खोजेका थियौं । तर, काम गर्ने कुरामा उहाँलाई रुचि नै रहिनछ । उहाँ प्रधानमन्त्री हुँदा कुन कुन मन्त्रालय माओवादीले पाउने भन्ने कुराको जिरह ज्यादा गरेको हामीले पायौं । प्रधानमन्त्रीको रुचि शासन प्रशासनमा हुनुपर्नेमा मुलुकलाई विकास र समृद्धिको बाटोमा सुशासनतर्फ लैजान केन्द्रित हुनुपर्नेमा अमुक-अमुक मन्त्रालय माओवादीलाई चाहिन्छ भनेर जिरह गरेको देख्दा उहाँको चाहना चाहिँ वास्तवमा सफल हुनेतर्फ नभई अवाञ्छित लाभ लिनेमा बढी इच्छुक हुनुहुन्छ भन्ने देखिन्छ । उहाँले के भन्नुहुन्छ भन्ने कुरामा हामी गम्भीरतापूर्वक छैनौं । किनकि उहाँ एउटा कुरा भन्ने अर्को काम गर्ने खालको स्वभाव छ । जनता सचेत छन् । नेकपा एमाले स्पष्ट छ । अहिले जनताको अपेक्षा आकांक्षाहरू पूरा हुन् नसक्दा जनतामा असन्तुष्टि रहेको हो । नेकपा एमाले नेतृत्वमा रहँदा ती चिजहरूलाई सम्बोधन गर्ने सामर्थ्य राख्दछ । एमाले सरकारबाट बाहिरिँदा जनतामा निराशा र चिन्ता बढ्नु स्वाभाविक हो । एमालेले भूमिका पायो भने ती चिजहरूलाई हल गर्छ र कुनै पनि सङ्कटबाट मुलुकलाई जोगाउने सामर्थ्य राख्दछ ।

– कहिलेकाहीँ कम्युनिस्ट पार्टीबिचको मोर्चाको कुरा पनि उठ्छ नि एमालेको धारणा के हो ?

नीति आधारित सहकार्य आवश्यक थियो । त्यही भएर विगतमा माओवादी केन्द्रसँग चुनावी तालमेल पनि गर्‍यो र पार्टी एकता पनि गर्‍यो तर त्यो सफल हुन् सकेन । कसका कारण सफल हुन् सकेन भन्ने कुरा बाहिर आइसकेको छ । प्रचण्डको उपयोगवादीको नीतिका कारण अस्थिरता, चरित्रताका कारण र अन्तरबिरोधका खेलहरूले आफूहरूलाई सुरक्षित गर्न सक्ने स्वभावका कारणले गर्दा नेकपा निर्माणका काम सफल हुन् सकेन । हाम्रो मान्यता नेतृत्वलाई केन्द्रबिन्दुमा राखेर एकताको कुराको कुनै अर्थ छैन । कार्यकर्ताको मन जोड्नुपर्छ । बलियो कम्युनिस्ट आन्दोलन निर्माण गर्नुपर्छ । राष्ट्रिय शक्ति निर्माण गर्नुपर्छ । तसर्थ राजनीतिक ध्रुवीकरण आवश्यक छ भन्ने हाम्रो मान्यता छ ।

– अनि, नेकपा ब्यूँताउने, माधव नेपालको पार्टीसँग एकता पनि बेलाबेलामा चर्चा भइरहेको छ कत्तिको सम्भव छ ?

इतिहासमा नेकपा असल मनसाय साथ गरिएको प्रयास थियो । त्यसलाई जसले असफल बनाए उनीहरूलाई फेरि सफल बनाउनका लागि योगदान गर्छन् भन्ने कुराहरू थोरै पनि नेकपा एमाले विश्वास गर्दैन । इतिहासका कुनै एउटा घटना पटकपटक दोहोरिने कुरा सम्भव पनि होइन उचित पनि होइन । त्यही कुरा फेरि पुनरावेदन हुन्छ भन्ने खालको कुरा हामीले सोचेका पनि छैनौं । अब नयाँ शिराबाट राष्ट्रिय शक्ति निर्माण हुन्छ । राजनीतिक धुव्रीकरण नयाँ शिराबाट गरिन्छ । नेताहरूलाई जोडेर होइन कार्यकर्ता मन जोडेर नेपालमा बलियो आन्दोलनको निर्माण गर्छौं । बलियो राष्ट्रिय शक्तिको निर्माण गर्छौं । जसले जनताको विकास र समृद्धिको आकंक्षालाई स्वाधीनता स्वाभिमान आकांक्षालाई पूरा गर्न सक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर