कर्णालीमा नयाँ वर्ष : बुलबुले तालमा यसरी रमाए आन्तरिक पर्यटकहरु (तस्बिरहरु) – Nepal Press

कर्णालीमा नयाँ वर्ष : बुलबुले तालमा यसरी रमाए आन्तरिक पर्यटकहरु (तस्बिरहरु)

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको मुटुमा रहेको बुलबुले उद्यानमा नयाँ वर्ष २०८० सालको खुशीयाली मनाउनेहरुको भिड लागेको छ ।

शुक्रबार पर्यटकीय क्षेत्र बुलबुले उद्यानमा नयाँ वर्षलाई स्वागत गर्दै आन्तरिक पर्यटकहरुको भिड लागेको हो । नयाँ वर्षको अवसर पारेर बुलबुलेमा घुम्न, टिकटक भिडियो बनाउन, फोटो खिच्न, र परिवारसँग रमाइलो गर्नेहरुको लस्कर थियो ।

नयाँ वर्षको दिनमा मात्रै ३ हजार भन्दा बढि आन्तरिक पर्यटकले बुलबुले तालको अवलोकन गरेको बुलबुले उद्यानकी कर्मचारी निर्मला बास्तोलाले बताइन् ।

उनले भनिन्, ‘आज एकदमै धेरै आन्तरिक पर्यटकहरु आउनु भएको छ । त्यस्तै, सार्वजनिक बिदाको दिन हजारौको संख्यामा युवायुवतीहरू टिकटक बनाउनका लागि बुलबुले उद्यान आउने गरेका हुन्छन् । यस्तै, पर्यटकको भिडभाड भएपछि बुलबुलेमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

बुलबुले ताल साढे ३१ विघा क्षेत्रफलमा फैलिएको छ । हाल कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको छ । बुलबुलेमा जमिनमुनिबाट बुलबुल गर्दै पानी आउने भएर बुलबुले ताल नामकरण गरिएको यहाँका स्थानीयहरुको भनाई छ ।

उक्त ताल समुन्द्र सतहबाट लगभग ६५७ मिटरको उचाइमा अवस्थित छ । सो तालमा पूर्व-पश्चिम राजमार्गमा पर्ने कोहलपुरदेखि उत्तरतर्फको रत्न राजमार्ग हुँदै करिब ८७ किलोमिटरको यात्रापछि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बजारमा पुगिन्छ ।

प्रदेश राजधानीको मुख्य भागमा रहेको हुनाले बुलबुलेमा आन्तरिक तथा बाह्य पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ । बुलबुलेमा पिकनिक क्षेत्र, रंगीन बगैचा, बाल उद्यान, सुन्दर फुलहरु , धार्मिक स्थल लगायतका संरचनाहरु रहेका छन् ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *