पूर्वाञ्चलमा पूर्वराजालाई भोलि नागरिक अभिनन्दन गरिँदै, जिप्रका भन्छ- अनुमति दिएका छैनौं – Nepal Press

पूर्वाञ्चलमा पूर्वराजालाई भोलि नागरिक अभिनन्दन गरिँदै, जिप्रका भन्छ- अनुमति दिएका छैनौं

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भोलि पूर्वाञ्चलमा नागरिक अभिनन्दन गरिने भएको छ । कोशी प्रदेशको नागरिक समाजका नाममा गर्न लागिएको कार्यक्रमलाई स्थानीय प्रशासन भने अनुमति दिएको छैन ।

राजसंस्थाको पक्षमा माहोल बनाउनका लागि भव्य तयारीका साथ यो नागरिक अभिनन्दन गर्न लागिएको हो । यसको अगुवाइ राजावादी नेताहरु केशरबहादुर विष्ट र सिनेट श्रेष्ठले गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका स्थानीय नेताहरु पनि सक्रिय सहभागी हुने बताइएको छ ।

आयोजक विष्टले कार्यक्रम भव्य र सभ्य हुने बताए । के सन्दर्भ र उद्देश्यले पूर्वराजालाई अभिनन्दन गर्न लागिएको हो भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘महाराजधिराज सरकारले देशका लागि दिनुभएको योगदानका लागि धन्यवाद दिनलाई हो । अरु के सन्दर्भ चाहिन्छ ?’

उनले अभिनन्दन कार्यक्रममा लाखौंको जनसहभागिता रहने बताए । कुनै पार्टी वा संगठनको नेतृत्वमा नभएर जनताले स्वस्फुर्तरुपमा कार्यक्रम आयोजना गरेको उनको भनाइ छ ।

‘यसमा राजा चाहिन्छ भन्ने सबै पार्टीका रहेका मानिसहरु सहभागी हुनुहुनेछ,’ उनले भने, ‘हामीले संयोजन मात्रै गरिरहेका छौं ।’

सामान्यतया नागरिक अभिनन्दनपछि अभिनन्दित पात्रले मन्तव्य दिने प्रचलन हुन्छ । तर, भोलिको कार्यक्रममा पूर्वराजाले कुनै मन्तव्य नदिने सम्भावना रहेको स्रोतले बतायो ।

इनरुवाको विशाल खेलमैदानमा अभिनन्दन कार्यक्रम आयोजना हुने छ ।

यता, राजावादी पार्टी राप्रपा भने यो कार्यक्रमले फेरि एकपटक अप्ठेरोमा परेको छ । यसअघि दुर्गा प्रसाईको कार्यक्रममा पूर्वराजा सहभागी हुँदा राप्रपा असन्तुष्ट बनेको थियो । भोलिको कार्यक्रमलाई पनि पार्टीले सकारात्मक रुपमा नलिएको उच्च स्रोत बताउँछ ।

‘राजालाई सम्मानित गर्ने यति ठूलो कार्यक्रम भइरहँदा पार्टीले आफ्नो तल्लो तहमा कुनै पनि सर्कुलर गरेको छैन, नेतृत्वमा पनि छलफल भएको छैन,’ एक नेताले भने ।

राप्रपाले स्थानीय कमिटी र नेताहरुलाई केही पनि निर्देशन दिएको छैन । यद्यपि स्थानीय नेताहरु भने कार्यक्रममा सहभागी हुने तयारमिा छन् । राप्रपाबाट निर्वाचित दमकका मेयर राम थापाले दुई दिनअघि पूर्वराजासँग भेटघाट समेत गरेका थिए । नेपाल प्रेससितको कुराकानीमा उनले पूर्वराजासँगको भेटघाटका विषयवस्तुबारे केही बताउन चाहेनन् ।

सुरक्षाको प्रश्न

कार्यक्रमका लागि केही दिनअघि नै आयोजकका तर्फबाट जिल्ला प्रशासन कार्यालयमा अनुमति मागिएको थियो । तर, जिप्रकाले अनुमति दिन अस्वीकार गरेको छ । सुरक्षाको कारण देखाउँदै जिप्रकाले अनुमति नदिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा जिप्रका सुनसरीका प्रवक्ता माधवप्रसाद ढुंगानाले नागरिक अभिनन्दनका लागि आफूहरुले अनुमति नदिएको बताए ।

‘उहाँहरुले कार्यक्रमका लागि अनुमति माग्नुभएको थियो, तर पहिचानवादीको आन्दोलन तथा स्वयम् पूर्वराजाको सुरक्षालाई हेरेर हामीले अनुमति नदिएका हौं,’ ढुंगानाले भने ।

तर, आयोजकहरुले भने अनुमति प्राप्त नभए पनि कार्यक्रम गर्ने तयारी गरेका छन् । सामाजिक सञ्जालबाट व्यापक प्रचारप्रसार भइरहेको छ ।

यदि अनुमतिबिनै कार्यक्रम आयोजना भए जिप्रकाले के गर्छ ? भन्ने प्रश्नमा प्रवक्ता ढुंगानाले जवाफ दिए, ‘के हुन्छ त मलाई के थाहा ?’

स्रोतका अनुसार कार्यक्रमलाई अनुमति नदिनुको वास्तविक कारण चाहीँ राजनीतिक हो । यता पहिचानवादीको आन्दोलन चलिरहेका बेला अर्कोतिरबाट राजसंस्था पुनर्स्थापनाको आन्दोलन पनि चर्कियो भने थप दवावमा पर्ने त्राश स्थानीय प्रशासनलाई छ । जिल्ला प्रशासनले यो कार्यक्रमको विषयमा माथिल्लो निकायमा समेत जानकारी गराएकाे थियो । माथिबाट ‘ग्रीन सिग्नल’ नआएपछि अनुमति नदिइएको बुझिएको छ ।

यस विषयमा अभिनन्दन कार्यक्रमका अगूवा विष्टलाई प्रश्न गर्दा उनले जिल्ला प्रशासनसँगको समन्वयमा नै कार्यक्रम गर्न लागेको दावी गरे ।

‘हामीले उहाँहरुलाई जानकारी गराएका छौं । उहाँहरुले केही कुराहरु हामीलाई भन्नुभएको छ । त्यही अनुसार हामी शान्तिपूर्णरुपमा कार्यक्रम सम्पन्न गर्नेछौं,’ विष्टले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर