१२औं पटक मन्त्री बनेको खुशीमा शरतसिंह भण्डारीले स्याम्पेन फोडे – Nepal Press

१२औं पटक मन्त्री बनेको खुशीमा शरतसिंह भण्डारीले स्याम्पेन फोडे

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट श्रममन्त्री नियुक्त भएका शरतसिंह भण्डारीले स्याम्पेन फोडेर खुशियाली मनाएका छन् । उनी मन्त्रीको कुर्सीमा बसेको यो १२औं पटक हो ।

भण्डारी मन्त्री नियुक्त भएपछि परिवारका सदस्य र निकट आफन्तहरूको उपस्थितिमा सेलिब्रेसन गरिएको थियो । मन्त्री भण्डारी र उनकी ‘प्रेमिका’ निर्जला राउतलाई आफन्तहरूले खादा र माला लगाएर अभिनन्दन गरे । त्यसक्रममा स्याम्पेन फोड्दै मन्त्री भण्डारीले स्याम्पेन फोडेर रमाइलो गरेका हुन् । समारोहमा उपस्थितहरुले स्याम्पेनको घुट्को समेत लिएका थिए ।

प्रचण्ड नेतृत्वको मन्त्रीपरिषद्‌मा लोसपाले एक सिट पाउँदा भण्डारी मन्त्री बनेका हुन् । यसअघि उनी ११ पटकसम्म विभिन्न दलबाट विभिन्न मन्त्रालय सम्हालिसकेका छन् । उनको मन्त्री पदको यात्रा भने पञ्चायतकालबाटै सुरू भएको हो । पहिलोपटक उनी २०४४ सालको फागुनमा मरिचमान सिंह श्रेष्ठको मन्त्रिपरिषद्‌मा पञ्चायत तथा स्थानीय विकास सहायक मन्त्री बनेका थिए ।

४६ सालमा बहुदल आएपछि केही भण्डारीले विभिन्न पार्टी बदल्दै लगातार चुनाव जितिरहेका छन् भने मन्त्री पनि बनिरहेका छन् । सुरूमा कांग्रेसमा प्रवेश गरेका उनी त्यसपछि मधेसी जनअधिकार फोरम, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय मधेस समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी (राजपा), जनता समाजवादी पार्टी (जसपा) हुँदै अहिले लोसपामा पुगेका हुन् ।

२०६८ सालको भदौमा बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्‍मा रक्षामन्त्री भएका भण्डारीले एउटा विवादास्पद अभिव्यक्तिका कारण पदबाट हात धुनुपरेको थियो । एक सार्वजनिक कार्यक्रममा उनले ‘नेपाली सेनामा मधेसीको सामूहिक प्रवेश नभए तराई टुक्रिनसक्ने’ अभिव्यक्ति दिएका थिए । त्यसको सर्वत्र विरोध भएपछि उनी राजीनामा दिन बाध्य भए ।

भण्डारी पछिल्लोपटक मन्त्री बनेको चाहीँ २०७८ जेठ २१ मा हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई उर्जा मन्त्री बनाए पनि अदालतको आदेशका कारण १७ दिनमै बाहिरिनुपरेको थियो ।

भण्डारीको वैवाहिक जीवन केही विवादास्पद छ । उनी आफ्नी श्रीमती हुँदाहुँदै प्रेमिका निर्जला राउतसँग लिभिङ टुगेदरमा छन् । निर्जलालाई भण्डारीले दुईपटक समानुपातिक सांसद समेत बनाउन सफल भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर