दीर्घरोगीहरुलाई सुनकोशीको निःशुल्क औषधी, बिरामीहरू भन्छन्- अब औषधीका लागि ऋण लिन नपर्ने भयो – Nepal Press

दीर्घरोगीहरुलाई सुनकोशीको निःशुल्क औषधी, बिरामीहरू भन्छन्- अब औषधीका लागि ऋण लिन नपर्ने भयो

सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिका–५ का ६० वर्षीया जगतबहादुर विक लामो समयदेखि सुगर र प्रेसर रोगबाट पीडित छन् । मासिक १६ सय बढीको औषधी सेवन गर्नुपर्छ । आर्थिक अभावका कारण नियमित सेवन गर्नुपर्ने औषधी किन्न समेत थामीलाई धौ–धौ छ । एक दिन औषधी सेवन गरेन भने समस्या हुन्छ,किन्नलाई पैसा पनि हुँदैन नकिनी पनि भएको छैन विकले भने ।

थामीलाई जस्तै समस्या सोही वडाका यज्ञकुमार थापालाई पनि छ । थापा लामो समयदेखि दम रोगबाट पीडित छन् । तान्ने औषधी दैनिक तिन पटक प्रयोग गर्नुपर्छ । मासिक १ हजार बढीको औषधी किन्नका लागि थापालाई पनि समस्या थियो ।

दीर्घ रोगका बिरामीहरूलाई नियमित औषधी सेवन गर्न नै समस्या भएपछि सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले दिर्घरोगीहरुले सेवन गर्दे आइरहेको औषधी निःशुल्क वितरण गरेपछि विक र थापा जस्ता सयौँ दिर्घरोगका बिरामीहरूलाई अहिले सजिलो भएको छ ।

आफ्नै वडाबाट आफैले जिताएर पठाएका जनप्रतिनिधिको हातबाट औषधी पाउँदा उनीहरू निकै खुसी थिए । सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना र उपाध्यक्ष कान्छी लामाको हातबाट औषधी पाएपछि खुसी हुँदै भने–‘अब औषधी किन्न लाई कसैलाई पनि ऋण माग्नु परेन,धेरै खुसी छु ।’ अहिले सजिलो भएको छ ।

सुनकोशी गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै दिर्घरोगीहरुलाई निःशुल्क औषधी उपलब्ध गराउने नीति पास गरेको थियो । सोही नीति अनुसार सुगर,प्रेसर,दम र मानसिक रोगका बिरामीहरूले चिकित्सकहरूको सल्लाहमा सेवन गर्दे आइरहेको औषधी वितरण सुरु गरेको छ ।

गाउँपालिकाले निःशुल्क औषधी वितरणको शुभारम्भ सँगै स्वास्थ्य सेवाको पहुँच नपुगेको सुनकोशी–५ सुनखानीमा वृहत् स्वास्थ्य शिविर समेत सञ्चालन गरेको छ । दिर्घरोगीहरुलाई गाउँपालिकाले प्रदान गर्ने औषधी अब सबै वडामा रहेको स्वास्थ्य संस्थाबाट उपलब्ध गराउने गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

गाउँपालिकाले सार्वजनिक सूचना प्रकाशित गरेर दिर्घरोगीहरुले आफूले सेवन गर्दे आइरहेको औषधीको पुर्जा सहित निवेदन माग गरेको थियो । पहिलो चरणमा झण्डै ४ सय बढीले निवेदन दर्ता गराएको र सोही निवेदनको आधारमा अब सबैलाई औषधी उपलब्ध गराउने गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख गोविन्द हायुले जानकारी दिए ।

स्वास्थ्य शिविरमा सयौँले निःशुल्क उपचार पाए

स्वास्थ्य सेवाको पहुँच नपुगेको सुनकोशी गाउँपालिका–५ सुनखानीमा ह्याम्स अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा आयोजना गरिएको स्वास्थ्य शिविरमा २ सय ५२ बिरामीहरूले गाउँमा नै स्वास्थ्य सुविधा पाएका छन् । विशेषज्ञ चिकित्सक र औषधी ह्याम्स अस्पताल काठमाडौँले सहयोग गरेको थियो ।

स्वास्थ्य शिविरमा शिविरमा स्त्री रोगको विशेषज्ञ सेवा, नाक, कान, घाटीको विशेषज्ञ सेवा लगायत प्रेसर, सुगर, दम र सामान्य चिकित्सक सेवा सञ्चालन गरिएको थियो । शिविर बाट जम्मा २५२ जनाले सेवा लिएका थिए । जसमध्ये स्त्री रोग सम्बन्धी ५० , नाक, कान घाँटीका ५१ र सुगर, प्रेसर, दम र सामान्य चिकित्सामा १५१ जनाले सेवा लिएका थिए । सुनकोशी गाउँपालिकासँग सहकार्य गरेर आगामी दिनमा अन्यत्र पनि स्वास्थ्य शिविर सञ्चालन गरिने ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारीले जानकारी दिए ।

स्त्री रोग तर्फ २ जना शङ्कास्पद पाठेघर मुखको क्यान्सर पत्ता लागेको थियो भने १७ जना महिलाको आङ खस्ने समस्या भई रिङ्ग प्रेसरी राखी उपचार गरिएको स्वास्थ्य शाखा प्रमुख गोविन्द हायुले जानकारी दिए ।

ग्रामीण अल्ट्रासाउन्ड सेवा सुरु

गर्भवती महिलाहरूको गर्भ परीक्षणका लागि अब गाउँपालिकाका सबै स्वास्थ्य चौकीहरूमा निःशुल्क रूपमा सुरुवात गरिएको छ । पालिका भित्र रहेका स्वास्थ्य चौकीहरूमा तिन/तिन महिनामा सबै गर्भवती महिलाहरूको गर्भ परीक्षणका लागि गाउँपालिकाले अल्ट्रासाउन्ड मेशिन खरिद गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए ।

सुनकोशी गाउँपालिका–५ बाट सुरुवात गरिएको ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रममा पाँच जना महिलाहरूको गर्भ परीक्षण गरिएको थियो । बृहत् स्वास्थ्य शिविरको अवसरमा पालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना, उपाध्यक्षकान्छी लामा र प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले देविस्थान स्वास्थ्य चौकीलाई अक्सिजन कन्सनट्रेटर, कम्प्युटर सेट, अटोक्लेभ लगायत विभिन्न सामाग्रीहरू वडा अध्यक्ष जालबहादुर लामालाई हस्तान्तरण गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *