एमाले बैठक- भीम रावलसँग संवाद गर्न तीन सदस्यीय वार्ता टोली गठन – Nepal Press

एमाले बैठक- भीम रावलसँग संवाद गर्न तीन सदस्यीय वार्ता टोली गठन

काठमाडौँ । नेकपा एमालेले पार्टीका पूर्व उपाध्यक्ष डा. भीम रावलसँग संवाद गर्न र पार्टीमा बस्ने वा नबस्ने टुंगो लगाउँदा तीन सदस्य टोली गठन गरेको छ ।

पार्टीको मिसन ग्रासरुट अभियानको सुदूरपश्चिम कमाण्डर रहेका उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको वार्ता टोलीमा सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्ट र कर्ण थापा सदस्य रहेको उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

पार्टीका प्रचार विभाग प्रमुख समेत रहेका उपमहासचिव गुरुङले पूर्व उपाध्यक्ष रावल दशौं महाधिवेशनपछि पार्टीको विधि विधानबाहिर रहेर पार्टीको गतिविधिमा समेत संलग्न नरहेकाले संवाद गर्न पौडेल नेतृत्वको टोलीलाई जिम्मा दिइएको बताए । सोही टोलीले संवाद गरेर आवश्यक टुंगोमा पुग्ने र पार्टीको जिम्मेवारी दिने उनले बताए ।

यो पनि पढ्नुहोस् : भीम रावलले वरिष्ठ नेता मागेका हुन् ? अनुशासन आयोगका अध्यक्षको घरमा ३ घण्टा ‘केरकार’

पछिल्लो पटक उपाध्यक्ष पौडेल मिसन ग्रासरुट अभियानकै क्रममा रावलको गृह नगर साँफेबगर पुग्दा उनीनिकट केही कार्यकर्ताले अन्य नेता बोलिरहेका बेला होहल्ला र अवरोध सिर्जना गरेका थिए ।

रावलले उनीहरूलाई समर्थन जनाउँदै विष्णु पौडेलविरुद्ध अभिव्यक्ति दिएका थिए । पौडेलले रावलको बारेमा पार्टीले चाँडै एउटा निर्णय गर्ने बताएका थिए । पौडेलको रिपोर्टिङपछि नै सचिवालय बैठकले उनीसँगै संवाद गरेर टुंगो लगाउन टोली गठन गरेको हो ।

यसअघि अनुशासन आयोगका अध्यक्ष केशव बडालले पनि रावललाई आफ्नै निवासमा बोलाएर लामो छलफल गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर