खेलकुदमा नेपाललाई विश्वकै हब बनाउन सकिन्छ : प्रधानमन्त्री प्रचण्ड – Nepal Press

खेलकुदमा नेपाललाई विश्वकै हब बनाउन सकिन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएको बताएका छन् ।

शनिवार काठमाडौंमा राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको खेलकुद पूर्वाधार नीति संवाद २०७९ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले खेल क्षेत्रमा नेपाललाई विश्वकै हब बनाउन सकिने भएकाले सरकारले यस क्षेत्रलाई उच्च प्राथमिकता दिएको बताएका हुन् ।

उनले खेलाडीहरूलाई पुरस्कृत गर्ने, मैदानमा नै पुगेर खेलाडीहरूको मनोबल बढाउने, खेल क्षेत्रसँग सम्बन्धित विषयहरूमा आफूले सदैव सहभागिता जनाउने धारणा राखे । उनले प्रत्येक विद्यालय र प्रत्येक टोलमा खेल इकाई र खेल मैदान बनाएर तल्लो तहदेखि नै खेलाडी उत्पादन र विकास गर्न सकिने उल्लेख गरे ।

पछिल्लो समय नेपालले खेलकुद प्रतियोगितामा सफलता हासिल गरेको भन्दै उनले खेलाडी उत्पादन, पूर्वाधार विकास र खेलाडीहरूको वृत्ति विकासमा ध्यान दिन सकेमा नेपालले खेल क्षेत्रमा ठूलो फड्को मार्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले संघीय निजामती ऐन लगायतका ऐनहरू छिटो पारित गरेर संविधानको व्यवस्थित कार्यान्वयनमा जाने पनि बताए ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ लगायतले खेल क्षेत्रको पूर्वाधार विकासमा तीन तहका सरकारको स्पष्ट नीति र सहकार्य आवश्यक रहेको धारणा राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर