आइतबार साँझसम्म मन्त्रीमण्डल बिस्तार गर्ने बागमतीका मुख्यमन्त्री जम्कट्टेलको तयारी – Nepal Press

आइतबार साँझसम्म मन्त्रीमण्डल बिस्तार गर्ने बागमतीका मुख्यमन्त्री जम्कट्टेलको तयारी

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार साँझसम्म मन्त्रीमण्डल बिस्तारको तयारी गरेका छन् । नेपाल प्रेससँग कुरा गर्दै मुख्यमन्त्री जम्कट्टेलले मन्त्रीमण्डल बिस्तारको तयारी अन्तिम चरणमा पुगेको बताउँदै आइतबार साँझसम्म नभए सोमबार बिहानसम्म मन्त्रीमण्डल बिस्तार हुने बताए ।

नेपाली कांग्रेस सहित एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीलाई सरकारमा सहभागी गराउने तयारी गरिएको बताउँदै मुख्यमन्त्री जम्कट्टेलले कांग्रेसभित्र आन्तरिक सहमति जुट्नासाथ मन्त्रीमण्डल बिस्तार हुने बताए । उनले भने ‘नेपाली कांग्रेसलाई ५ वटा मन्त्रालय दिने गरी सहमति जुट्ने सम्भावना छ, उनीहरूले माग गरेको ६ मन्त्रालयबाट बढीमा ५ सम्म दिने गरी तयारी गरिएको छ ।’

सरकारमा सहभागिताको लागि नेपाली कांग्रेसले ६, एकीकृत समाजवादीले ३ तथा हाम्रो नेपाली पार्टीले १ मन्त्रालयको दाबी गरेको छ । तर सहमतिमा कांग्रेसले ५ पाउने सम्भावना देखिएको छ भने समाजवादी र हाम्रो नेपाली पार्टीले १–१ मन्त्रालय पाउने सम्भावना बढेको छ । यसो हुँदा हाल कायम रहेको ११ मन्त्रालय ‘फूलफील’ हुनेछ ।

कांग्रेसबाट दलका नेता लामाले सरकारको नेतृत्व गर्ने

नेपाली कांग्रेसबाट संसदीय दलका नेता बहादुर लामाकै नेतृत्वमा सरकारमा सहभागिता हुने तयारी रहेको बुझिएको छ । कांग्रेस निकट श्रोतले नेपाल प्रेसलाई जानकारी दिए अनुसार सरकारमा दलको नेताकै नेतृत्वमा सरकारमा सहभागिताको करिब–करिब कुरा टुंगिएको छ । लामाले आर्थिक मामिला मन्त्रालय लिएर सरकारको नेतृत्व गर्नेछन् ।

नेपाली कांग्रेसले एमालेले छाडेका मन्त्रालयहरू पाउने सम्भावना अधिक रहेको छ । प्रदेशमा महत्त्वपूर्ण मानिएको आर्थिक मामिला, स्वास्थ्य, कृषि, श्रम रोजगार तथा यातायात मन्त्रालयमा कांग्रेसको दाबी रहेको छ ।

यसबाहेक कांग्रेसले भौतिक निर्माणमा पनि जोड दिएको छ तर भौतिक निर्माणमा माओवादीका युवराज दुलाल हाल मन्त्री रहेको कारण कांग्रेसलाई उक्त मन्त्रालय पाउन भने सहज देखिएको छैन । भौतिक नपाएको अवस्थामा उसले राप्रपाले छाडेको बन मन्त्रालय दाबी गर्ने श्रोतको भनाई छ ।

माओवादी केन्द्र र कांग्रेसको भागवण्डा मिलेपछि बाँकी रहेको मन्त्रालय एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले पाउने छन् । हाल बागमती प्रदेशमा ११ मन्त्रालय रहेको र उक्त संख्यामा नबढ्ने गरी मन्त्रिपरिषद बिस्तारमा मुख्यमन्त्री जम्कट्टेलले लागेका छन् ।

मन्त्रालय कटौतीको पहिलो निर्णय गरेका मुख्यमन्त्री जम्कट्टेल मन्त्रालयको संख्या कुनैपनि हालतमा नबढाउने अडान लिएको कारण पनि भागबन्डामा समस्या देखिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर