नेविसंघ सभापतिबाट दुजाङ शेर्पाको बर्खास्ती र महाधिवेशन माग गर्दै कांग्रेस कार्यालयमा रिले अनसन


काठमाडौं । कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का सभापति दुजाङ शेर्पालाई बर्खास्त गर्न माग गर्दै पार्टी कार्यालयमा रिले अनसन सुरु भएको छ ।
नेविसंघ वृहत् संघर्ष समितिले ‘असक्षम’ सभापतिलाई खारेज गरी नयाँ पदाधिकारीसहितको विधानसम्मत कमिटी ल्याउनुपर्ने माग पनि गरेको छ । यस्तै अवैधानिक सभापतिले गरेको सम्पूर्ण चिठी खारेज हुनुपर्ने र १२ औं महाधिवेशन सुनिश्चित गरिनुपर्ने माग पनि संघर्ष समितिको छ ।
केही जिल्ला नेविसंघ भित्र विवाद छ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनपछि विभिन्न जिल्लाहरूमा अध्यक्ष चयन गर्दा विवाद देखिएको हो ।
कतिपय जिल्लामा एकभन्दा बढी अध्यक्ष चयन गरिएका पत्रहरू सार्वजनिक भइरहेका छन् । यद्यपि नेविसंघले पत्र आतंक भन्दै फोटोसप गरी वातावरण भाँड्ने काम भइरहेको बताउँदै आएका छ ।