माओवादीका मुख्यमन्त्री शर्मालाई एमालेले विश्वासको मत दिने


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई नेकपा एमालेले विश्वासको मत दिने भएको छ । एमाले संसदीय दलका नेता यामलाल कँडेलले विश्वासको मत दिने निर्णय गरेकाे बताए ।
यस्तै नेपाली कांग्रेसले भने आवश्यक परेको अवस्थामा मात्रै मत दिने जनाएको छ । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले विश्वासको मत दिने विषयमा बोल्दै सरकार बहुमत मै रहेको बताए ।
उनले भने, ‘बहुमत हुँदा पनि उतिबेलै मैले भनेको थिएँ सरकारलाई संकट परेका बेला हामी छँदैछौँ । तर, यदि सरकार संकटमा परेको हो भने म दलको नेताको हिसाबले र मेरो संसदीय दलले सकारात्मक सोच्नेछौँ ।’
गत माघ ६ गते एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा एकीकृत समाजवादीको समर्थनमा बनेको कर्णाली प्रदेश सरकार राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रोपटक विश्वासको मत मागेका छन् ।