अर्थको ड्राइभिङ सीटमा डा. प्रकाशशरण महत : उनको विज्ञताले पार लगाउला त आर्थिक संकट ? – Nepal Press

अर्थको ड्राइभिङ सीटमा डा. प्रकाशशरण महत : उनको विज्ञताले पार लगाउला त आर्थिक संकट ?

काठमाडौं । देशको अर्थतन्त्रको ढुकुटी सम्हाल्न अर्थमन्त्रीमा डा. प्रकाशशरण महत आएका छन् । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेका प्रवक्तासमेत रहेका महतलाई बिग्रेको अर्थतन्त्रको जिम्मेवारी दिएका छन् । महतले आजै पदभारसमेत ग्रहण गरेका छन् ।

अमेरिकाको साउथर्न इलिनोइस युनिभर्सिटी कार्बनडेलबाट अर्थशास्त्रमा पीएचडी गरेका महतले अध्ययनअनुसारको मन्त्रालय पाएका छन् । उनको अर्थशास्त्रको परीक्षण अब उनको कार्यकालले गर्नेछ । प्रायःजसो अर्थ मन्त्रालयले विषय विज्ञ पाउँदैन । तर, अर्थले यो पटक विषय विज्ञ अर्थमन्त्री पाएको छ ।

देशमा उदारवादी अर्थतन्त्रको अवधारणा भित्र्याएका उनका दाइ डा. रामशरण महत त्यतिबेलाका सफल अर्थमन्त्री मानिन्छन् । बेलायती पत्रिका द बैंकरले विश्वकै उत्कृष्ट अर्थमन्त्रीको रुपमा तत्कालीन अर्थमन्त्री डा. रामशरण महतलाई ठहर्‍याएको थियो ।

मुलुकमा उदारवादको जग बसालेको श्रेय लिने महत उत्कृष्ट ठहरिँदा उनकै स्थानमा आइपुगेका प्रकाशशरणले अर्थमन्त्रीको रुपमा कस्तो छाप छोड्लान् ? त्यो समयले देखाउने नै छ । यद्यपि उनले निजी क्षेत्रलाई खुशी बनाएर अघि बढ्ने बताइसकेका छन् ।

महतले ऊर्जा मन्त्रालयमार्फत (२०६६ देखि २०६७ चैतसम्म) पहिलो पटक मन्त्रीमा इन्ट्री गरेका थिए । त्यसपछि परराष्ट्र मन्त्रालय (२०७३ देखि २०७४ सम्म)को जिम्मेवारी पाए । अर्थ मन्त्रालय उनको तेस्रोपटकमा पाएको जिम्मेवारी हो । देउवा निकट भएकै कारण उनले अर्थमन्त्रीमा बाजी मारेका छन् ।

माओवादीबाट अर्थमन्त्री बनेका जनार्दन शर्माले बिगारेको अर्थतन्त्रको परीक्षण गर्न नपाउँदै नेकपा एमालेका विष्णु पौडेल बाहिरिएका थिए । सोलगतै अहिले महतको हातमा त्यही बिग्रेको अर्थतन्त्र परेको छ । विज्ञहरुको भनाइलाई आधार मान्ने हो भने मुलुकको अर्थतन्त्र इतिहासकै कमजोर अवस्थामा छ ।

सम्भवतः बिग्रेको अर्थतन्त्रविरुद्ध बोल्ने हिम्मत महतले राख्लान् या नराख्लान् समयले देखाउला । महतकै पार्टीबाट भर्खरैमात्र निस्केका वरिष्ठ अर्थविद् डा. स्वर्णिम वाग्लेले भने जस्तै ‘आरजु देउवा’ गिरोहलाई रिझाउने गरी काम गरे महतको विषय विज्ञता प्रमाणपत्रमा मात्र सीमित रहने निश्चित छ । तर, अहिले नगरे कहिले गर्ने भन्ने मनसायका साथ सबैलाई साथ लिँदै अगाडि बढे अर्थतन्त्र सुध्रनसक्छ ।

आगामी बजेट निर्माणकै क्रममा अर्थ मन्त्रालय भित्रिएका महतले दबाब र प्रभावबाट मुक्त भई बजेट निर्माण गर्नुपर्नेछ । चालू वर्षको भन्दा सानो आकारको बजेटको सिलिङ पाएको अर्थले अनिवार्य दायित्वलाई नछुटाउँदै अनावश्यक खर्चमा कैंची चलाउनुपर्नेछ । कार्यतालिका नै बनाएर बजेट बनिरहेको वेला कर्मचारी हेरफेरभन्दा पनि बजेट निर्माणतर्फ गम्भीर हुनुपर्ने देखिन्छ । पपुलर बन्ने नाममा आम्दानीले धान्न नसक्ने बजेट बनाउने छुट उनलाई हुनेछैन ।

इतिहासकै कमजोर अवस्थामा पुगेको मुलुकको राजस्व प्रणालीको खाल्डो पुरेर ब्रेक थ्रु गर्नसक्ने अवसर पनि उनीसामु छ । बैंक तथा वित्तीय संस्थाप्रतिको असन्तुष्टिका कारण सडकमा पोखिएको आक्रोश समाधान गर्नुपर्ने चुनौती उनलाई छ । देशको आम्दानी लगातार घटिरहेको र खर्च बढी रहेको अवस्थामा खर्च र आम्दानीबीचमा तालमेल ल्याइ अन्तर्राष्ट्रियस्तरबाट विश्वास जित्न उनले ठूलै कसरत गर्नुपर्ने देखिन्छ । ताकि देशको अर्थतन्त्रको सन्तुलन देखेर वैदेशिक लगानीहरु बढ्न सक्नेछ ।

खस्कँदो पूँजी बजारलाई सम्बोधन गरी लगानीकर्ताको आत्मबल बढाउनुपर्नेछ । नेपाल राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयबीचको तालमेलमा अर्थमन्त्रीले नै कमाण्ड गर्नुपर्ने देखिन्छ । देशको वित्तीय अवस्था ठीक भएरमात्र हुँदैन मौद्रिक अवस्था पनि ठीक हुनुपर्छ । यसकारण मौद्रिक व्यवस्थापनको जिम्मेवारी पाएको राष्ट्र बैंकसँग अघिल्लो अर्थमन्त्री शर्मा जस्तो इगो साँधेर व्यक्तिगत रुचिले देशको अर्थतन्त्र बिगार्ने छुट अब उनलाई छैन् ।

नातावाद र कृपावादका कारण धुमिलिएको उनको आफ्नै पार्टीको छवि सुधार्न र समग्र पार्टीलाई जस दिलाउन पनि उनको अर्थ मन्त्रालयमार्फत हुँदै गरेको सत्ता यात्रा सहज छैन ।


प्रतिक्रिया

One thought on “अर्थको ड्राइभिङ सीटमा डा. प्रकाशशरण महत : उनको विज्ञताले पार लगाउला त आर्थिक संकट ?

  1. तस्कर र राजश्वमारासँग साँठगाँठ छ । अर्थतन्त्र सप्रिने ह‍ोईन झन् बिग्रन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर