कांग्रेस छाडेलगत्तै किसान श्रेष्ठको घरमा पुगे स्वर्णिम वाग्ले, रामकुमारीसहित उपचुनावबारे छलफल – Nepal Press

कांग्रेस छाडेलगत्तै किसान श्रेष्ठको घरमा पुगे स्वर्णिम वाग्ले, रामकुमारीसहित उपचुनावबारे छलफल

किसान श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न गएका स्वर्णिम वाग्लेले गरे तनहुँको राजनीतिक अवस्थाबारे छलफल

काठमाडौं । नेपाली कांग्रेस छाडेर रास्वपाबाट तनहुँ १ मा उम्मेदवार बन्ने तयारी गरिरहेका अर्थविद स्वर्णिम वाग्ले शुक्रवार पूर्वमन्त्री तथा तनहुँका प्रभावशाली नेता किसान श्रेष्ठलाई भेट्न उनकै निवासमा पुगेका छन् ।

लिगामेन्ट च्यातिएर घरमै आराम गरिरहेका नेकपा एसका सांसद श्रेष्ठलाई स्वास्थ्यलाभको कामना गर्न वाग्ले महाराजन्जस्थित घरमै पुगेका हुन् । उनले श्रेष्ठको स्वास्थ्यस्थितिसँगै तनहुँको राजनीतिक स्थितिबारे समेत चासो राखेका थिए ।

श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न नेकपा एसकी सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्री समेत श्रेष्ठ निवासमै रहेका बेला वाग्लेसँग राजनीतिक विषयमै छलफल भएको बताइएको छ ।

२०७४ सालमा रामचन्द्र पौडेललाई पराजित गरेर चर्चामा आएका श्रेष्ठले पछिल्लो चुनाव भने बारा ४ बाट जितेका छन् । तनहुँ १ मा इतिहासमै पहिलोपटक किसानले एमालेलाई जिताएका थिए ।

अघिल्लो पटक पौडेललाई हराएका श्रेष्ठले यसपटक पौडेलका लागि सो क्षेत्र छाडेका थिए । पौडेल राष्ट्रपति भएपछि रिक्त रहेको सो क्षेत्रमा वैशाख १० मा निर्वाचन हुँदैछ । सो क्षेत्रमा कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ ।

श्रेष्ठ व्यक्तिगत रुपमा पनि सो क्षेत्रमा प्रभावशाली रहेको र उनको सक्रियताले जितहारमा प्रभाव पार्ने रिपोर्टिङपछि वाग्लेले उनलाई भेटेको बताइएको छ । गठबन्धनबाट कांग्रेस उम्मेदवार भट्टराईलाई सघाउने भनिए पनि नेकपा एसले प्रतापलाल श्रेष्ठलाई उम्मेदवार सिफारिस गरेको छ ।

श्रेष्ठको सोही निवासमा केही समयअघि एमाले अध्यक्ष केपी शर्मा अ‍ोली र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच गोप्य वार्ता भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर