गठबन्धनले उपेन्द्रलाई काखी च्यापेपछि असन्तुष्ट सिके राउतको पार्टी सरकारबाट बाहिर – Nepal Press

गठबन्धनले उपेन्द्रलाई काखी च्यापेपछि असन्तुष्ट सिके राउतको पार्टी सरकारबाट बाहिर

काठमाडौं । संसदमा ६ सिट रहेको जनमत पार्टी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको छ । सो पार्टीका एक मात्र मन्त्री अब्दुल खानले आज प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाए ।

पार्टीले दुईवटा मन्त्रालय पाउनुपर्ने वा एउटै मात्र पाए उद्योग मन्त्रालय चाहिने माग गरेको थियो । तर, सो माग पूरा नभएको भन्दै अब्दुलले राजीनामा दिएका हुन् । तर, जनमत पार्टी सरकारबाट बाहरिनुमा यो मात्र कारण होइन ।

स्रोतका अनुसार बारा २ को उपचुनावमा गठबन्धनले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई साथ दिने भएपछि जनमतका अध्यक्ष सिके राउत तीव्ररुपमा असन्तुष्ट थिए । यही आक्रोशमा हिजो उनी गठबन्धनको बैठक नै छोडेर हिँडेको स्रोतले बतायो ।

‘उपेन्द्रलाई काखी च्यापेर हामीलाई पेल्ने रणनीति स्पष्ट देखिएपछि सरकार छोडेका हौं, तत्काल फर्किने सम्भावना छैन,’ स्रोतले भन्यो ।
राउत र यादवबीच जुँगाको लडाईं छ । सप्तरीमा सिके राउतले उपेन्द्रलाई गत संसदीय चुनावमा विशाल अन्तरले हराएका थिए ।

१८ हजार मतले चुनाव हारेका यादवले आफू उपचुनाव जितेर संसदमा आउनकै लागि बारा २ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाए । अब यादवले बारा २ बाट उपचुनाव लड्दैछन् भने गठवन्धनको साथ उनलाई रहनेछ ।

तर, गठवन्धनमै रहेको जनमत जसरी पनि यादवलाई संसद पस्नबाट रोक्न चाहन्छ । त्यसैले उसले माओवादीबाट गत संसदीय चुनावमा सोही क्षेत्रमा झिनोमतले पराजित शिवचन्द्र कुसवाहलाई पार्टीमा भित्र्याएर उपेन्द्रविरुद्ध लडाउने तयारी गरेको छ ।

पार्टीका एक नेताले सप्तरीमा १८ हजार मतले हराएका यादवलाई बारामा २० हजार मतले हराउने दावी गरे । यही क्षेत्रबाट लोसपाका राजेन्द्र महतो र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल पनि भिड्दैछन् । मुख्य प्रतिस्पर्धा चाहीँ यादव र कुसवाहबीच हुने अनुमान छ ।

जनमत पार्टीका केन्द्रीय सदस्य विपी साहले पार्टी सरकारबाट अलग हुनुमा दुईवटा कारण प्रस्तुत गरे । पहिलो सरकारले राजद्रोहसम्वन्धी मुद्दा खेपिरहेका आफ्नो पार्टीका नेताहरुको मुद्दा फिर्ता गरेर क्लीन चिट दिने सहमति कार्यान्वयन नगर्नु र दोस्रो उद्योग वा कृषिजस्ता पार्टीको रुचीका मन्त्रालय नदिनु । सरकारबाट हटेपछि अबको रणनीतिबारे पार्टीले छलफल गर्ने उनले बताए ।

जनमत पार्टी मधेस प्रदेशको सरकारमा सहभागी छ, जहाँ जसपाका सरोज यादव मुख्यमन्त्री छन् । संघीय सरकारसँगै प्रदेश सरकारबाट पनि जनमत अलग हुन सक्ने सम्भावना रहेको बताइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर