एमाले अध्यक्षलाई भेटेर पुण्य गौतमले भने- चितवनको टिकट दिनुस्, रविलाई हराएर देखाउँछु – Nepal Press

एमाले अध्यक्षलाई भेटेर पुण्य गौतमले भने- चितवनको टिकट दिनुस्, रविलाई हराएर देखाउँछु

काठमाडौं । सामाजिक सञ्जालमा चर्चित एमालेका नेता पुण्य गौतम चितवन २ बाट उपचुनाव लड्न कस्सिएका छन् । उनी पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आज भेटेर आफूलाई टिकट दिन आग्रह गरे ।

सामाजिक सञ्जालमा तस्वीर राखेर गौतमले अध्यक्षसँग सार्थक र प्रभावकारी कुराकानी भएको बताएका छन् । त्यसअघि उनले चितवनका एमाले नेताहरु र त्यहाँका फिल्ड कमाण्डर गोकुल बास्कोटासँग पनि छलफल गरेका थिए ।

नेपाल प्रेससँग कुरा गर्दै गौतमले अध्यक्ष ओलीबाट आफूले सकारात्मक रेस्पोन्स पाएको दाबी गरे । ‘तपाईंको नामबारे पनि गम्भीर चर्चा भइरहेको छ, भरेसम्ममा निर्णय लिन्छौं भन्नुभयो’, गौतमले भने ।

ओलीसँगको भेटमा गौतमले आफू चितवनबाट चुनाव जितेर आउने दाबी गरेका थिए । ‘म रवि लामिछानेलाई हराउन सक्षम छु । यही कुरा अध्यक्षज्यूसमक्ष राखें । पार्टीले मेरो क्षमताको मूल्यांकन गरेर टिकट दिनेमा आशावादी छु’, उनले भने ।

आफूले टिकट पाएको खण्डमा राष्ट्रियतालाई मुख्य मुद्दाका रुपमा उठाउने गौतमले बताए । ‘रवि लामिछानेको नागरिकता र पासपोर्ट विवादित छ । औपचारिक अध्ययनको हिसाबले पनि मभन्दा निकै तल हुनुहुन्छ । म उहाँ जस्तो आफ्नो देशको नागरिकता त्यागेर फर्केको अनागरिक होइन’, उनले भने ।

यदि एमालेले टिकट दिएन भने स्वतन्त्र लड्ने कि भन्ने नेपाल प्रेसको प्रश्नमा गौतमले भने, ‘त्यो सम्भावना छैन । म जीवनपर्यन्त एमाले नै रहन्छु, चाहे टिकट पाउँ वा नपाउँ । तर, मेरो क्षमताको उचित मूल्यांकन नेताहरुले गर्नुहुन्छ भन्ने आशा छ ।’

भाइरलम्यानका रुपमा परिचित गौतम गत वैशाखमा एक चुनावीसभामा एमाले अध्यक्ष ओलीको खुट्टा ढोग्दै पार्टी प्रवेश गरेका हुन् । त्यसअघि उनी नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर