अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध आपराधिक मुद्दा चल्ने, पोर्न स्टारसँगको सम्बन्धमाथि छानबिन हुने – Nepal Press

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध आपराधिक मुद्दा चल्ने, पोर्न स्टारसँगको सम्बन्धमाथि छानबिन हुने

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध आपराधिक मुद्दा चल्ने तय भएको छ । न्युयोर्कको म्यानहेट्टन ग्र्याण्ड जुरीले बिहीबार ट्रम्पविरुद्ध मुद्दा चलाउने अनुमति दिएको हो ।

सन् २०१६ को राष्ट्रपतीय चुनावअघि पोर्न स्टारसँगको अफेयर र यसबारे चुप बस्न पोर्न स्टार स्ट्रोमी डेनियल्सलाई एक लाख ३० हजार डलर दिएको विषयमा ट्रम्पविरुद्ध छानबिन हुने भएको हो ।

पैसाको लेनदेनबारे खुलासा स्वयं स्ट्रोमी डेनियल्सले गरेकी हुन् । ट्रम्पले भने आफूमाथि लगाइएका आरोपलाई खण्डन गर्दै आएका छन् ।

‘ममाथि लगाइएका सबै आरोप झूटा हुन् । यसको न्यूयोर्कमा निष्पक्ष छानबिन हुन सक्दैन । म अमेरिकाका जनताको साथमा छु । त्यसैले ममाथि यस्ता आरोप लगाइँदैछ । यो जो बाइडेनलाई भारी पर्नेछ, कट्टरपन्थी र वामपन्थी डेमोक्र्याटहरूले के गरिरहेका छन् भन्ने कुरा अमेरिकी जनताले बुझेका छन् । सबैले हेरिरहेका छन्’, ट्रम्पको भनाइ छ ।

म्यानहट्टन जिल्ला न्यायाधिवक्ता एल्भिन ब्रागलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार ट्रम्पले आउँदो मंगलबारसम्म आत्मसमर्पण गर्ने उनका वकिलहरुले जनाएका छन् । न्यूयोर्क टाइम्सका अनुसार ट्रम्पले आत्मसमर्पण गरेपछि न्यायाधीशले उनीमाथि लगाइएको आरोपको खुलासा गर्नेछन् ।

यसपछि पूर्वराष्ट्रपतिले फिंगर प्रिन्टिङ र बाँकी कानुनी प्रक्रियाका लागि म्यानहट्टन जानुपर्नेछ । यद्यपि उनीविरुद्ध जेल चलान नै हुने प्रकृतिको मुद्दा लग्ने सम्भावना भने कम रहेको रिपोर्टमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *