मैले गरेजति काम अरुले पनि गरे देश बन्न समय लाग्दैन: खानेपानीमन्त्री खान (भिडिओ) – Nepal Press

मैले गरेजति काम अरुले पनि गरे देश बन्न समय लाग्दैन: खानेपानीमन्त्री खान (भिडिओ)

काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले आफूले गरेको जति काम अन्य मन्त्रालयले गर्ने हो भने देश बन्न समय नलाग्ने बताएका छन् ।शुक्रबार सिंहदरबारभित्र ४ स्थानमा सार्वजनिक खानेपानीको धारा उद्घाटन गर्दै मन्त्री खानले यस्तो दाबी गरेका हुन् ।

उनले आफूले मन्त्री बनेर काम गरेको लगभग साढे २ महिना भएको भन्दै यो अवधिमा आफूले सोचेअनुसार काम गर्न नसकेपनि राम्रो काम गरेको दाबी गरे । उनले आफूले मन्त्री बनिसकेपछि नै सबै नेपालीहरुलाई जार र बोतलको पानी किन्नुपर्ने अवस्थाबाट मुक्त गरी सार्वजनिक धाराको पानी खुवाउने घोषणाअनुसार सिंहदरबारबाट काम शुरु गरेको बताए ।

उनले भने, ‘हामीले पानीको वितरण दुई महिनाभित्र अघि बढेको छ, यो हाम्रो मन्त्रालयको निम्ति र मैले सोचेको अनुसार ऐतिहासिक काम हो, यही अनुसार अन्य मन्त्रालयले पनि काम गर्ने हो भने देश बन्न कसैले रोक्न सक्दैन । सार्वजनिक धारा हामीले अहिले सिंहदरबारका विभिन्न स्थानमा राखेका छौँ, यसका अलावा हामीले सार्वजनिक स्थल, अस्पताल, बसपार्क, एयरपोर्टमा राख्ने सोच छ । मैले जुन स्प्रिटले काम गर्नुपर्ने हो त्यो अनुसार त अहिले पनि काम गर्न पाएको छैन । किनभने विभिन्न किसिमका बाधाहरु हुन्छन्, त्यो बाधाहरु पार गर्दै अघि बढ्ने स्प्रिट पाएको छैन । १ वर्षभित्रमा मेलम्ची २ को समस्या समाधान गर्नेछौँ ।’

उनले मन्त्रालयका विभिन्न समस्याका कारण अझैपनि आफूले चाहेको गतिमा काम गर्न नसकेको बताए । मन्त्री खानले बोतल र जारमा महंगो मूल्यको नियन्त्रण गर्ने काममा मन्त्रालय लागेको भन्दै पानीको मूल्य ५ महिनाभित्र घटाएरै छोड्ने दाबी गरे । उनले देशका रेक क्षेत्रमा ५ वर्षभित्र खानेपानीको समस्या समाधान गर्नेगरी मन्त्रालयले काम गरिरहेको बताए ।

शुक्रवार खानेपानी मन्त्रालय, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सक्रियतामा निःशुल्क रुपमा सेवा पाउनेगरी स्वच्छ खानेपानी धाराको उद्घाटन भएको हो । निकट भविष्यमा काठमाडौं उपत्यकाका अन्य सार्वजनिक ठाउँमा सेवा बिस्तार गर्ने मन्त्तालयको योजना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *