उपचुनावमा ‘क्लीन स्वीप’ गर्ने रास्वपाको लक्ष्य, तीनवटै क्षेत्रमा बलिया उम्मेदवार – Nepal Press

उपचुनावमा ‘क्लीन स्वीप’ गर्ने रास्वपाको लक्ष्य, तीनवटै क्षेत्रमा बलिया उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० गते उपचुनाव हुने तीनवटै क्षेत्रमा प्रभावशाली उम्मेदवारहरू खडा गरेको छ । तीनवटै क्षेत्र जितेर ठूला दलहरूलाई चक्मा दिने रास्वपा नेताहरू बताउन थालेका छन् ।

करिब ८ महिना अगाडिमात्रै गठन भएको यस पार्टीले गत संसदीय चुनावमा आश्चर्यजनकले २० सीट जितेर चौथो दलका रूपमा स्थापित भएको थियो । तर, चुनावपछि पार्टीको क्रेज बिस्तारै कम हुन थालेका बेला उपनिर्वाचन अगाडि फेरि यसले ठूला दलहरूलाई अत्याइदिएको हो ।

चितवन २, तनहुँ १ र बारा २ मा हुने उपनिर्वाचनका लागि रास्वपाले भित्रभित्रै तयारी गरिरहेको थियो । हिजो एकाएक डा. स्वर्णिम वाग्लेको नाम चर्चामा आयो । उक्त चर्चाको आधिकारिक पुष्टि गर्दै पार्टी प्रवक्ता तथा महामन्त्री डा. मुकुल ढकालले राति अबेर विज्ञप्ति प्रकाशित गरे । उक्त विज्ञप्तिमा उपनिर्वाचनमा पार्टीबाट उम्मेदवार बन्न दाबी प्रस्तुत गरेकाहरूको सूची थियो ।

उक्त सूचीमा तनहुँ १ मा स्वर्णिमसहित ३ जनाको नाम थियो भने बारा २ मा दुईजनाको नाम थियो । बारा २ का दुई आकांक्षीमध्ये एक रमेश खरेल थिए । तर, के उनी पूर्व डिआईजी खरेल नै हुन् वा अरु कसैसँग नाम मिलेको हो ? त्यतिबेलासम्म पार्टीका सिनियर नेताहरू नै अनभिज्ञ देखिए ।

केन्द्रीय समितिका एक प्रभावशाली नेतालाई नेपाल प्रेसले प्रश्न गर्दा उनी आफैं अलमलमा परे ।

‘उहाँ पार्टीमा आउने कुरा त मलाई थाहा थिएन, सायद अरु कोही हुनुपर्छ’, उनले भने । यस विषयमा थप बुझेर जानकारी दिने ती नेताले बताए ।

एकछिनपछि कल गर्दा उनले पुष्टि गरे, ‘पूर्वडीआईजी रमेश खरेल नै हुनुहुँदो रहेछ ।’

खरेलसँग रास्वपा सभापति आफैंले कुराकानी अगाडि बढाइरहेका थिए र सीमित नेतालाई मात्रै यसको जानकारी थियो । जे भए पनि अहिले उपचुनावमा उनी उठ्ने समाचारले पार्टीभित्र खुशीयाली छाएको छ ।

प्रवक्ता डा. ढकाल भन्छन्, ‘चितवनसँगै तनहुँमा पनि हाम्रो जित सुनिश्चित छ । बारामा पनि हामीले कडा टक्कर दिनेछौं ।’

चितवनमा रवि लामिछानेले यसअघि भारी मतान्तरले जितेका थिए । उनले ४९ हजार २६१ मत ल्याउँदा मुख्य प्रतिस्पर्धी कांग्रेसका उमेश श्रेष्ठको मत १५ हजार ९९ मात्र थियो । यसपाली पहिलेको भन्दा पनि ठूलो मतान्तरले जित्ने दाबी रास्वपा नेताहरू गर्छन् । यद्यपि, अन्य पार्टीहरूले चाहीँ यसपालि उलटफेर हुने दाबी गर्दै आएका छन् । लामिछानेले यसअघि पाएको भोटलाई ‘खहरे भेल’ भन्दै उनीहरूले अब त्यो नदोहोरिने बताइरहेका छन् ।

चितवनमा कांग्रेसले स्थानीय नेता जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । उनलाई सत्तारुढ गठवन्धनको समर्थन प्राप्त हुनेछ । एमालेले आफ्नो उम्मेदवार तय गरिसकेको छैन ।

यता बारा २ को भिडन्त निकै रोचक हुने देखिएको छ । यहाँ पहिल्यै तीनजना हेभिवेट उम्मेदवारहरू खडा भइसकेकोमा अब खरेल पनि थपिएका छन् । खरेलले जितका लागि जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका राजेन्द्र महतो र जनमत पार्टीका शिवचन्द्र प्रसाद कुसवाहलाई पन्छाउनुपर्ने हुन्छ । यो क्षेत्रमा कसले चुनाव जित्छ भन्न नसकिने अवस्था छ ।

खरेललाई बारामा सजिलो चाहीँ छैन । अघिल्लो संसदीय चुनावमा यहाँ रास्वपाले प्रत्यक्षतर्फ उम्मेदवारी नै दिएको थिएन भने समानुपातिकमा पनि न्यून मत ल्याएको थियो । एमाले समर्थित उम्मेदवार रामसहायप्रसाद यादवले १३ हजार ८२३ भोट ल्याएर जितेका थिए भने उनका निकटतम प्रतिस्पर्धी माओवादीका शिवचन्द्र कुशवाहले १३ हजार ४६८ मत ल्याएका थिए । उनै कुसवाह अहिले जनमतमा प्रवेश गरेर फेरि उम्मेदवार बन्न लागेका हुन् ।

तनहुँ १ को कुरा गर्दा यो राष्ट्रपति रामचन्द्र पौडेलको निर्वाचन क्षेत्र हो । उनी २५ हजार ३१३ मत ल्याएर विजयी भएका थिए । प्रमुख प्रतिस्पर्धी एमालेका एकबहादुर रानामगरले १९९२५ भोट ल्याएका थिए । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले विकास सिग्देललाई उम्मेदवार बनाएको थियो । उनले ६ हजार ३२ भोट ल्याएर चौंथो भएका थिए ।

तनहुँ १ मा रास्वपाको समानुपतिक मत राम्रो छ । त्यो मतमा डा. स्वर्णिम वाग्लेको व्यक्तिगत प्रभाव र लोकप्रियताको मत थपिने हुँदा रास्वपाले जितको दावी गरेको हो । यस क्षेत्रमा गठवन्धनका तर्फबाट कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार बनाउँदैछ । राष्ट्रपतिले छोडेको निर्वाचन क्षेत्र भएको हुँदा तनहुँ १ कांग्रेसका लागि प्रतिष्ठाको विषय रहने छ ।


प्रतिक्रिया

2 thoughts on “उपचुनावमा ‘क्लीन स्वीप’ गर्ने रास्वपाको लक्ष्य, तीनवटै क्षेत्रमा बलिया उम्मेदवार

  1. बुथ कब्जा भए हो नत्र रास्वपाका मान्छेहरू विधि बिधान बिपरित छन कसैको पनि राजनीतिक चरित्र राम्रो छैन नकारात्मक भोट बैकमा कब्जा जमाउन प्रयासरत नागरिकता अबैध पासपोर्ट लेनदेन मा अनि पत्रकार अफाहा फिजाउदै ।

    1. हैन यो विधि र बिधान भन्या कुन चरिको नाम रैछ हामी सोझा सिधा जनता पो अलमलमा परेउ कृपया झर्को नमानी विधि र बिधान मान्ने एकजना मात्रै नेता पाटी बताई दिए आभारी हुने थियौं 😀😂🤣

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर