भोजपुर गोल्डकप : घरेलु टीमलाई हराउँदै क्यामरुनको पोल्टामा उपाधि – Nepal Press

भोजपुर गोल्डकप : घरेलु टीमलाई हराउँदै क्यामरुनको पोल्टामा उपाधि

भोजपुर । छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकपको उपाधि एभिनिर फुटबल क्लब क्यामरुनले हात पारेको छ ।

बिहीबार साँझ भएको फाइनल खेलमा क्यामरुनले घरेलु भोजपुरको टीमलाई २-० ले पराजित गरेको हो । क्यामरुनका न्युगिनीले ४२औं मिनटमा पहिलो गोल गरेर खेललाई अग्रता दिलाएका थिए । दोस्रो हाफको इन्जुरी समयमा टिम्बाले दोस्रो गोल गर्दै टीमलाई उपाधिको सुनिश्चित गराए ।

विजेताले पाँच लाख र उपविजेता टीमले नगद तीन लाख पुरस्कार पाए ।

फाइनल खेलको म्यान अफ द म्याच भोजपुरका धिरज मगर चुनिए । व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक एभनिरका एलाईन चुनिए । उत्कृष्ट डिफेन्डर पनि एभनिर कै एनसानगुई घोषित भए । उत्कृष्ट मिडफिल्डर पनि एभनिरका एन गुईन बने भने उत्कृष्ट प्रशिक्षक पनि एभिनिरकै सागर लामा घोषित भए । उत्कृष्ट बनेका सबैले जनही ५-५ हजार र ट्रफी हात पारे ।

त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार एभनिरका टिम्बा र भोजपुरका सन्तोष तामाङले संयुक्त रुपमा हात पारे । उनीहरुले पुरस्कार वापतको ६५ सय आपसमा बाँडे । उदीयमान खेलाडी भोजपुरका विनुप राई घोषित भए । त्यसबापत उनले नगद ५ हजार र ट्रफी हात पारे ।

त्यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि भोजपुरका विजय भुजेल घोषित भए ।

भोजपुर जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिका, भोजपुरको मुख्य प्रायोजनमा चैत १० गतेदेखि सुरू भएको प्रतियोगितामा ८ टीमले प्रतिस्पर्धा गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर