थ्रीस्टार क्लव खप्तड गोल्डकपको फाइनलमा, मनाङ मर्स्याङ्दीसँग उपाधि भिडन्त पक्का – Nepal Press

थ्रीस्टार क्लव खप्तड गोल्डकपको फाइनलमा, मनाङ मर्स्याङ्दीसँग उपाधि भिडन्त पक्का

कैलाली । आयोजक सुदूरपश्चिम ११ लाई हराउँदै थ्रीस्टार क्लव छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा बिहीबार भएको खेलमा आयोजकलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै थ्रीस्टार उपाधि नजिक पुगेको हो । थ्रीस्टारले उपाधिका लागि शनिबार मनाङ मर्स्याङ्दी क्लवसँग खेल्नेछ ।

खेलको ३०औं मिनेटमा पहेंलो कार्ड पाएका थ्रीस्टारका दीपेश गुरुङ ४४औं मिनेटमा रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । थ्रीस्टार १० खेलाडीमा सीमित भए पनि पहिलो हाफमा दुइटै टीमले गोल गर्न सकेनन् ।

विक्रम लामाले ८३औं मिनेटमा हेडमार्फत गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको इन्जुरी समयमा आयोजक टीमका माधव भण्डारीले गोल गर्दै खेललाई पेनाल्टी सुटआउटमा पु¥याएका थिए ।

पेनाल्टी सुटआउटमा सुदूरपश्चिम ११ का विष्णु चौधरी र विमल ओलीको प्रहार थ्रीस्टारका गोलकिपर मोहम्मद टाहाले रोकेका थिए ।

थ्रीस्टारका विक्रम लामा, आदित्य शाक्य, अशोक खवास र माथिन्जाको प्रहार सफल भएको थियो । सुदूरपश्चिमका फागुराम थारु र माइकल शाहीको प्रहारले जाली चुमेको थियो । खेलको ‘एसपीए म्यान अफ दि म्याच’ थ्रीस्टारका कप्तान विक्रम लामा घोषित भए । उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे ।

मनाङ मर्स्याङ्दी क्लव यसअघि नै क्यामरुनको एभिनर फुटबल क्लवलाई हराउँदै प्रतियोगिताको फाइनल प्रवेश गरिसकेको छ ।

मोफसलको सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रवर्द्धक रहेको प्रतियोगिता सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *