पाटन क्याम्पसमा चैत २५ गते निर्वाचन, अखिलका अध्यक्ष उम्मेदवारले मुद्दा लडेर सुनिश्चित गरे चुनाव – Nepal Press

पाटन क्याम्पसमा चैत २५ गते निर्वाचन, अखिलका अध्यक्ष उम्मेदवारले मुद्दा लडेर सुनिश्चित गरे चुनाव

काठमाडौं । सत्ता गठबन्धन आबद्ध विद्यार्थी संगठनहरुको तालाबन्दी र अवरोधका कारण स्थगित भएको पाटन संयुक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैत २५ गते हुने भएको छ ।

उच्च अदालत पाटनको आदेश बमोजिम सबै विद्यार्थी संगठनहरुसँगको छलफलपछि सो मिति तोकिएको क्याम्पस प्रमुख डा.लक्ष्मण सिंह कुँवरले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । विद्यार्थीहरुको परीक्षालाई समेत दृष्टिगत गरी सो मिति तोकिएको हो ।

निर्वाचन कार्यतालिका चैत १७ गते सार्वज्निक गरिने क्याम्पस प्रशासनले जनाएको छ । स्ववियु निर्वाचन स्थगनविरुद्ध अनेरास्ववियुका स्ववियु अध्यक्ष उम्मेदवार सुरेश जिसी रिट लिएर अदालत गएका थिए ।

उनको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश जनार्दन घिमिरेको एकल इजलासले निर्वाचन रोक्नपर्ने कुनै कारण नदेखिएको भन्दै तत्काल निर्वाचन प्रक्रिया अघि बढाउँन अन्तरिम आदेश दिएको थियो ।

अध्यक्ष उम्मेदवार जिसीले क्याम्पस प्रशासन र सत्ता गठबन्धन आबद्ध विद्यार्थीहरुका कारण चुनाव नभएपछि आफू न्यायका लागि अदालत गएको बताए । चुनावको परिणाम जे आए पनि विद्यार्थीको अधिकार स्थापित गर्न आफू सफल भएको भन्दै सबै विद्यार्थीलाई तोकिएको मितिमा मतदानमा सहभागी हुन आग्रह समेत गरेका छन् ।

उच्च अदालतले सोही दिन आर आर क्याम्पस र नेपाल कमर्स क्याम्पस मिनभवनमा पनि तत्काल निर्वाचन गर्न आदेश दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर