मन्त्री सुदन किराँतीले अन्तर्राष्ट्रिय विमानस्थलमा यी १२ समस्याको खोजे परिणाम


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकपछि अर्को बेथितिको घटना बढेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आकस्मिक बैठक बोलाएका छन् । बिहीबार विमानस्थलका अधिकारीसँग बैठक बसेर विमानस्थलमा यात्रुले पाइरहेको सास्तीबारे मन्त्री किराँतीले चासो राखेका हुन् ।
उनले ब्यागेज चोरिएको, विद्युतीय भर्याङको अवस्था, जहाजको उडान-अवतरण नियमितताको अवस्था, एयरपोर्टभित्रको महँगी, शौचालयको अवस्थालगायत १२ विषयमा चासो राखेका हुन् । आफूले उठाएका सवालबारे बोलेर, लेखेर नभई परिणाममा समाधान खोजेको मन्त्री किराँतीले बताए ।
यसअघि पटकपटक अनुगमन र निर्देशन दिँदा पनि समस्या समाधान नभएकोतर्फ ध्यानाकर्षण गराउँदै मन्त्री किराँतीले निम्न प्रश्नहरूको परिणाम खोजेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्-
१, व्यागेज चोरिएको घटनाहरू सत्य हो ?
२, अराइभलमा यात्रु लड्ने विद्युतीय भर्याङ्ग के हुँदैछ कहिलेसम्म बनि सक्छ ?
३, सरसफाइ अभियान के कस्तो चल्दैछ ?
४, समयमा जहाज उड्दैछ कि छैन ?
५, ब्रेकविनाको ट्रली किन्ने प्रकृया के हुँदैछ ?
६, एयरपोर्टभित्र महङ्गी नियन्त्रण भयो कि भएन ?
७, ब्रेकविनाको ट्रली फेर्ने काम कहाँ पुग्यो ?
८, शौचालयभित्र बजिरहेको सङ्गीत किन बन्द भयो ?
९, महिला शौचालयमा सेनिट्यारी प्याड राख्ने काम के भयो ?
१०, एयरपोर्ट अगाडिको ब्यूटिफिकेशन के भयो ?
११, एयरपोर्टभित्र कुकुर र बाँदर कसरी पस्यो ?
१२, एयरपोर्टभित्र वाईफाई प्रभावकारी किन चल्दैन ?