भीम रावलले वरिष्ठ नेता मागेका हुन् ? अनुशासन आयोगका अध्यक्षको घरमा ३ घण्टा ‘केरकार’ – Nepal Press

भीम रावलले वरिष्ठ नेता मागेका हुन् ? अनुशासन आयोगका अध्यक्षको घरमा ३ घण्टा ‘केरकार’

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले चैत १६ गते बिहीबार फेसबुक स्टाटसमा लेखेका छन्- अछाम र कैलालीका विभिन्न पालिका तथा सुर्खेत र कञ्चनपुरमा पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरुसँग भेटघाट र छलफल गरी ३५ दिनपछि चैत १५ गते काठमाडौं आइयो । अब राष्ट्रिय राजनीति नियाल्दै र पर्गेल्दै ।

के अब एमालेबाट बाहिरिने हो ? भन्ने नेपालप्रेसको प्रश्नमा डा. रावलले प्रस्ट जवाफ दिएनन् । तर, पार्टीमा छलफलको वातावरण नभएको र पार्टी कार्यालयमा जाने अवस्थासमेत नभएको भन्दै अहिलेकै अवस्थामा एमालेमा बस्ने स्थिति नरहेको प्रस्ट पारे ।

डा. रावलले भने, ‘पार्टीमा बस्ने अवस्था देखिएन । उपाध्यक्ष जस्तो मान्छेले (विष्णु पौडेल)ले भनेको कुरा पनि सुनिहाल्नुभयो । देशैभरि नेता–कार्यकर्तालाई भीम रावलसँग बोल्यो भने नम्बर काटिने अवस्था छ । मैले उठाएका विषयमा छलफलसमेत हुँदैन भने बुझ्नुस् कि कसरी बस्ने ?’

डा. रावल पार्टीको सम्पर्कमा नरहेको भन्दै अछाममै पुगेका बेला उपाध्यक्ष पौडेलले रावलको बारेमा पार्टीले कुनै न कुनै निर्णय लिनैपर्ने अवस्था आएको बताए थिए । उनले अछाममा पार्टी बनाउन आफू ६ महिना सोही ठाउँमा बस्न तयार रहेको भन्दै अब अछाममा एमालेले चुनाव हार्न नहुने बताएका थिए ।

पछिल्लो पटक रावल निकट कार्यकर्ताले साँफेबगरमा गरेको हुलदंगा र नाराबाजी तथा सो कार्यलाई रावलले ‘स्वाभीमानी कार्यकर्ताको आँट’लाई समर्थन गर्छु भन्दै पत्रकार सम्मेलन गरेपछि एमाले नेतृत्व गम्भीर बनेको छ । रावल दशौं महाधिवेशनपछि पार्टी पद्धतिमा नरहेको एमाले नेताहरुको भनाइ छ ।

अनुशासन आयोगका अध्यक्षको घरमा छलफल

रावलको बारेमा अछाम जिल्ला कमिटीले निर्वाचनमा सहयोग नगरेकोलगायतका रिपोर्ट नै पठाएपछि उनीमाथि अनुशासनको कारबाही अघि बढाउन केन्द्रीय अनुशासन आयोगमाथि दबाब छ । तर, आयोगले रावलमाथि अहिलेसम्म कुनै कारबाही गरेको भने छैन ।

करीब एक महिनाअघि अनुशासन आयोगका अध्यक्ष केशव बडालले रावललाई छलफलका लागि बोलाएका थिए । २०३२ सालदेखि नै रावलसँग राम्रो सम्बन्ध रहेका बडाललाई उनले नेता नै मान्छन् । बडालले छलफल गर्न खोज्दा रावलले अनुशासन आयोगको अध्यक्षका हैसियतमा भेट्न मानेनन् ।

उनले आफू पार्टी कार्यालय र आयोगमा नआउने भन्दै घरमा बोलाएको खण्डमा आउँछु भनेपछि बडालले रावललाई चाबहिलस्थित आफ्नै घरमा बोलाएका थिए । बडालको घरमा दुई नेताबीच ३ घण्टा १० मिनेट कुराकानी भएको थियो । त्यस क्रममा रावलले आफ्ना धेरै गुनासाहरु राखेको बडालले नेपाल प्रेसलाई बताए ।

बडालले भने, ‘उहाँले आयोगमा आउँदिनँ भनेपछि मेरै घरमा बोलाएको थिएँ । लामो कुराकानी भयो । उहाँले बाहिर भन्दै आउनुभएका धेरै कुरा नै भन्नुभयो । हैसियतअनुसारको पार्टीमा जिम्मेवारी नपाएको आशय पनि थियो । मैले तपाईं जस्तो मान्छेले पार्टी पद्धतिभित्र बसेरै आफ्ना कुरा राख्नुस् भनेको थिएँ । त्यसपछि केही भएको छैन ।’

रावलले भनेको हैसियतअनुसारको जिम्मेवारी के हो ? उनले प्रस्ट बताएका पनि छैनन् । केन्द्रीय सदस्य उनले अस्वीकार गरेर आफूले अध्यक्षमा उम्मेदवारी दिएको भन्दै सदस्यको उम्मेदवारी कायम नराख्न भनेका थिए । रावलले आफूले पदभन्दा पनि नीतिगत विषयमा छलफल चाहेको बताए ।

तर, अनुशासन आयोगका अध्यक्ष बडालले भने नीति सिद्धान्तका विषयमा रावलको कुनै विमति नरहेको दाबी गरे । रावलले धनगढीमा आयोजित पत्रकार सम्मेलनमा यसअघि अध्यक्षमा पराजित भएकाहरु पार्टीको वरिष्ठ नेता बनाइएको भन्दै विगतमा माधव नेपाल, झलनाथ खनाल र केपी ओलीले पाए जस्तै वरिष्ठ नेता पदमा आफ्नो दाबी रहेको संकेत गरेका थिए ।

बडालले भने, ‘उहाँको आशय त्यस्तै थियो । तर, त्यसका लागि पनि पार्टीमा छलफल हुनुपर्छ । उहाँको स्वभावजन्य समस्याहरु छन् । अहिले धेरै कुराहरु विविध ढंगबाट आएका छन् । थप छलफल पार्टीमा नभएकाले यसै भन्न सकिन्न । उहाँका गुनासाहरु मैले टिपोट गरेर राखेको छु ।’

रावलले अब आफैंले पार्टी छाडेको घोषणा गर्ने कि एमालेले कारबाही गर्ने भन्नेबाहेक तेस्रो विकल्प साँघुरिँदै गएको एमाले नेताहरु बताउँछन् । यद्यपि कतिपय नेताले घनश्याम भुसाललाई जस्तै स्थायी कमिटी सदस्य मनोनीत गरेर सकेसम्म भीम रावललाई पार्टीमै राख्न सुझाव दिएका छन् ।


प्रतिक्रिया

2 thoughts on “भीम रावलले वरिष्ठ नेता मागेका हुन् ? अनुशासन आयोगका अध्यक्षको घरमा ३ घण्टा ‘केरकार’

  1. भिम रावललाई जति समयसम्म एमाले भनेर पालिन्छ त्यति एमालेलाई घाटा छ । कि यिनी आफैं छोडुन कि एमालेले निकालोस् । यिनी आफूलाई एमाले भन्छन, एमाले पार्टीको काम सिन्को भाँच्दैनन, केबल एमाले पार्टी र नेताको विरोध मात्र गर्छन् ।के काम यस्ता मान्छे ? एमालेको विरोध गर्न अहिले दिल्लीले उसका आदेशपालकहरूको गठबन्धन नामको झुण्ड बनाएको छ । उनीहरूको काम देश विकास, स्वाभिमान केही छैन केवल एमालेको विरोध, देश लुटने, एमालेलाई सबैतिर छेक्ने मात्र हो किनकी दिल्लीको कुत्सित मनसायमा एमाले तगारो भयो । रावलजिको काम र झुण्डको काम एउटै भएपछि रावल पनि दिल्लीका आदेशपालक हुन् किन नभन्ने ?

  2. कसैका मर्यादा पालकहरु लाई यति लेखे वापत पार्टीमा नम्बर मिल्छ भन्ने सबैलाई थाहा छ । भिम रावलका विरुद्ध धेरै नखोक्दा हुन्छ । भिम रावल जत्तिको नेता एमालेमा केपि ओलि पछि कोहि छैन्न । भोलीको राजनीति फाईदाका लागि केही थान बुर्जुवा ग्याङका नाईकेहरुके भिम रावल लाई पार्टी बाट निकाल्न बनाएको योजना सबै कार्यकर्ताले बुझिसके ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर