काठमाडौंमा ‘जात्रा पर्व, हाम्रो गर्व’ फोटो प्रदर्शनी (तस्बिरहरु) – Nepal Press

काठमाडौंमा ‘जात्रा पर्व, हाम्रो गर्व’ फोटो प्रदर्शनी (तस्बिरहरु)

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे)ले २५ औं रजत जयन्तीको अवसर पारेर जात्रा पर्व, हाम्रो गर्व : सेतो मछिन्द्रनाथ रथ जात्रा विशेष फोटो प्रदर्शनी आयोजना गरेको छ ।

बिहीबारदेखि तीन दिनसम्म चल्ने फोटो प्रदर्शनी काठमाडौँ महानगरपालिका २७ का वडाध्यक्ष योगेश खड्गी, असन सेवा समितिका अध्यक्ष यज्ञरत्न तुलाधर र जात्रा व्यवस्थापन समितिका संयोजक सुजिब बज्राचार्यले संयुक्त रुपमा उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिका २७ का वडाध्यक्ष खड्गीले फोटोको माध्यमबाट जात्रालाई अन्तराष्ट्रिय समुदायसम्म पुर्याउने कार्य गरेकोमा एनएफपिजेलाई धन्यवाद दिए ।

राष्ट्रिय फोटो पत्रकार समूह, नेपालले संयोजन गरेको उक्त प्रदर्शनीको आयोजक सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समिति रहेको छ भने काठमाडौँ महानगरपालिका वडा नं. १७, २१, २५ ,२७ र २८ सहयोग गरेको छ। प्रदर्शनी रथयात्राको प्रमुख विश्राम स्थलमा रहनेछ। आज पहिलो दिन असन, दोस्रो दिन हनुमानढोका तथा तेस्रो दिन लगन टोलमा हुनेछ ।

प्रदर्शनीमा करिब ३० व्यवसायिक फोटोपत्रकार तथा अन्य फोटोग्राफरहरूले खिचेका ५० भन्दाबढी फोटोहरू राखिएका छन् । रथयात्रा मात्रै नभएर सेतो मच्छिन्द्रनाथ जात्रा अन्य विभिन्न पक्ष, प्रकियासँग सम्बन्धित छ, सोबारे जनमानसमा जानकारी दिनु यो प्रदर्शनीको मुख्य उद्देश्य रहेको कार्यक्रम संयोजक सुनिल शर्माले बताए ।

हिन्दू तथा बौद्ध धर्मावलम्बीले संयुक्तरूपमा आस्था प्रकट गर्ने मच्छिन्द्रनाथको देवतालाई करुणाका प्रतीकका रूपमा सम्मान गरिन्छ । स्थानीय जनबहालस्थित मन्दिरमा रहेको मूर्तिलाई विधि विधानपूर्वक रथारोहण गरी भित्री सहरको परिक्रमा गराइने प्रचलन छ ।

हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिनबाट यो रथ यात्रा सुरु गरिन्छ । काठमाडौंँको जमलबाट सुरु भएर चैत्र शुक्ल पूर्णिमाका दिन जनबहालमा सम्पन्न हुन्छ । सेतो मच्छिन्द्रनाथलाई वर्षा र सहकालका देवताका रुपमा पूजा गरिन्छ ।

अनिष्ट हटाउने, अकाल मृत्युबाट बचाउने तथा अशान्ति र असुरक्षाबाट बचाउने देवताका रुपमा समेत मच्छिन्द्रनाथको पूजा आराधना गर्ने चलन छ । मच्छिन्द्रनाथको जात्रा मनाउनाले घरमा लक्ष्मी भित्रिने, परिवारमा सुख, शान्ति र समृद्धि छाउने विश्वाशले मानिसहरु जात्रामा सहभागी हुन्छन् ।

लगनमा मच्छिन्द्रनाथकी आमा भएको रुखको परिक्रमा गराइन्छ । रथ यात्राको अन्तिम दिन लगनबाट मूर्तिलाई खटमा राखेर ज्याबहाल द्यः लँ, यूतुननी, कोहिटी, भीमसेनस्थान, मरु, यट्खा, नरदेवी, किलाघः, भेडासिंह, केलटोल हुँदै जनबहाल पु¥याइन्छ ।

अष्टमीका दिन निकालिएको सेतो मच्छिन्द्रनाथको मूर्तिलाई पूर्णिमाका दिन मन्दिरमा लगेर रथ यात्रा बिसर्जन गर्नु पर्ने प्रचलन छ ।

हिन्दू र बौद्ध धर्मावलम्बीहरुका साझा आस्थाका देवता सेतो मच्छिन्द्रनाथको जात्रा चैत्र शुक्ल अष्टमीदेखि पूर्णिमा भित्रका ५ दिन चल्छ । मूर्ति सेतो भएकोले देवताको नाम सेतो मच्छिन्द्रनाथ राखिएको विश्वास छ । देवताका अन्य नामहरुमा करुणामय, आर्य अबलोकितेश्वर पनि हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *