नक्कली भूटानी शरणार्थीका नाममा ठगीका पीडित बढ्दो, गृह मन्त्रालयका उच्च अधिकारी नै संलग्न ! – Nepal Press

नक्कली भूटानी शरणार्थीका नाममा ठगीका पीडित बढ्दो, गृह मन्त्रालयका उच्च अधिकारी नै संलग्न !

काठमाडौं । ९ महिनाअघि प्रहरीकहाँ भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने बहानामा करोडौं रुपैयाँ ठगी भएको भन्दै ८१ जनाले निवेदन दिएका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार ती सबै पीडित दाङका थिए । आफूहरुको जनही २० देखि ५० लाख रुपैयाँसम्म ठगी भएको उनीहरुको दाबी थियो ।

अनुसन्धानका क्रममा प्रहरीले यसै साता तीन जनालाई पक्राउ गर्‍यो । पक्राउ पर्नेमा पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाका पूर्वपीए केशव दुलाल पनि छन् । उक्त पक्राउबारे समाचार आएपछि पीडितको संख्या बढेको छ ।

बुधबारमात्र मोरङ र सुनसरीका २८ जना पीडितले जाहेरी दिएका छन्, ३ करोड २४ लाख रुपैयाँ ठगी भएको भन्दै ।

‘पोखराबाट पनि उजुरी आउने कुरा छ । त्यहाँ २०-२२ करोड रुपैयाँ ठगी भएको भन्ने छ । पीडितको संख्या अझ बढ्न सक्ने देखिन्छ’, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले भने ।

प्रहरीले केही यस्ता प्रमाण फेला पारेको छ । ती प्रमाणअनुसार यो ठगी प्रकरणमा गृह मन्त्रालयकै अधिकारीहरु पनि संलग्न देखिन्छन् ।

एसएसपी केसीका अनुसार पीडितका नाममा गृह मन्त्रालयले जारी गरेको शरणार्थी परिचय पत्र, ट्राभल डकुमेन्ट र शरणार्थीका रुपमा नाम समावेश भएको गृह मन्त्रालयको रिपोर्ट पनि फेला परेको छ । ‘तर, ती डकुमेन्ट सक्कली हुन् या विश्वास दिलाउन तयार गरिएका हुन् भन्नेबारे अनुसन्धान भइरहेको छ । यदि सक्कली हुन् भने उहाँहरु पनि जरुर अनुसन्धानको दायरामा आउनुहुन्छ’, केसीले भने ।

अनुसन्धानका क्रममा पक्राउ परेकाले क-कसको नाम पोलेका छन् भन्नेबारे प्रहरीले केही बताएको छैन । अनुसन्धान अधिकारीहरु बयानमा पोलेरमात्र नहुने तर त्यसलाई प्रमाणले पनि पुष्टि गर्नुपर्ने बताउँछन् ।

‘बयानमा पोलेको अवस्थामा सम्बन्धित अधिकारीहरुसँग पनि बुझ्नुपर्ने र प्रमाण भेटिए थप कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्ने पनि हुनसक्छ । अहिले हामी पक्राउ परेकाको बयान प्रमाणित भएपछि थप अनुसन्धानको प्रक्रिया अगाडि बढाउने तयारीमा छौ‌‌’, एसएसपी केसीले भने ।

उनले पीडितले बुझाएका विभिन्न डकुमेन्टको परीक्षण गर्ने काम पनि भइरहेको बताए । प्रहरीले विगत ४ वर्षदेखि उक्त ठगीको काम भइरहेको जनाएको छ । ८१ जनाको निवेदनमा करिब १३ करोड रुपैयाँ ठगी भएको दाबी गरिएको छ ।

अझै पक्राउ परेनन् जिल्ला प्रशासनका कर्मचारी

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले तिब्बतीलाई नेपाली नागरिकता बनाउने गिरोह पक्राउ गरे पनि सरकारी अधिकारीहरुलाई नियन्त्रणमा लिन सकेको छैन ।

प्रहरीले गत साता नै नक्कली बाबु र छोरालाई सक्कली नागरिकतासहित पक्राउ गरेको थियो । तर, नक्कली बाबुका नाममा बनाइएको नक्कली नागरिकताबाट नक्कली छोराका नाममा सक्कली नागरिकता जारी गर्ने काठमाडौं जिल्ला प्रशासनका अधिकारीहरु पक्राउ परेका छैनन् ।

प्रहरीले उक्त घटना सार्वजनिक गर्ने बेलामै जिल्ला प्रशासनका कर्मचारीहरु पनि पक्राउ पर्ने बताएको थियो । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रमुख केसीले पक्राउ परेका व्यक्तिको बयान प्रमाणित भएपछि उनीहरुमाथि अनुसन्धान गरिने बताए ।

‘बयान प्रमाणित भएपछि उपलब्ध प्रमाणहरुका आधारमा अनुसन्धान अगाडि बढ्नेछ’, उनले भने । प्रहरीले उक्त गिरोहले ५ सय जनाभन्दा बढी तिब्बतीलाई नेपाली नागरिकता बनाइदिएको दाबी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर