रास्वपामा जाँदैछन् डा. स्वर्णिम वाग्ले ? तनहुँमा उपचुनाव लड्ने चर्चा – Nepal Press

रास्वपामा जाँदैछन् डा. स्वर्णिम वाग्ले ? तनहुँमा उपचुनाव लड्ने चर्चा

काठमाडौं । कांग्रेसनिकट युवा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले तनहुँ-१ बाट उपचुनाव लड्ने चर्चा सुरू भएको छ । तर, उनी कांग्रेसबाट नभएर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्न लागेको दाबी गरिएको छ ।
स्रोतका अनुसार डा. वाग्ले अहिले तनहुँ १ मै गएर त्यहाँको वस्तुस्थिति बुझिरहेका छन् । पर्सिसम्ममा उनको उम्मेदवारीको औपचारिक घोषणा हुनसक्ने स्रोतले दाबी गर्‍यो ।

वाग्ले रास्वपाका सांसद शिखिर खनालसँगै तनहुँ गएको बताइएको छ । उनले रास्वपाका जिल्ला सभापति विकास सिग्देललगायतसँग छलफल गरेका थिए । सिग्देलले मंसिर ४ को निर्वाचनमा रास्वपा उम्मेदवार बनेर सो क्षेत्रमा ६ हजार ३ सय मत ल्याएका थिए । रास्वपाले सो क्षेत्रमा समानुपातिक मत भने १२ हजार कटाएको थियो ।

यसैबीच रास्वपा तनहुँका सचिव सूर्यमणि पौडेलले भने आफू चितवनबाट फर्कदै गरेकाले वाग्लेसँग भेट हुन नपाएको बताए । उनले वाग्ले तनहुँमा आएको जानकारी पाए पनि थप केही थाहा नभएको बताए ।

यस विषयमा रास्वपाका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकाललाई सोध्दा उनले उम्मेदवारको टुंगो लागि नसकेको बताए । तनहुँ १ को उम्मेदवारीमा पार्टीले ‘सरप्राइज दिने’ उनको भनाई छ ।

‘अहिल्यै खुलासा नगरौं, तर तनहुँ १ मा उम्मेदवारको नामले नै भाइब्रेसन आउनेछ,’ डा. ढकालले भने ।

उनले चितवन र तनहुँमा रास्वपाको जित सुनिश्चित रहेको बताए । यसअघि संसदीय चुनावमा तनहुँमा रास्वपा चौथो भएको थियो । पार्टीका उम्मेदवार विकास सिग्देलले ६ हजार ३२ भोट ल्याएका थिए ।

डा. वाग्ले भने संसदीय चुनावमा चितवनबाट उठ्न चाहन्थे । तर, कांग्रेसले उनलाई टिकट दिएन । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका वाग्लेले चितवन १ बाट लड्न आवेदन दिएका थिए । तर, पार्टीले अर्का अर्थशास्त्री विश्व पौडेललाई उम्मेदवार बनाएको थियो । तर, उनी पराजित भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर