गठबन्धनको तालमेल प्रस्ताव रास्वपाद्वारा अस्वीकार, तनहुँमा पनि जित्ने दाबी – Nepal Press

गठबन्धनको तालमेल प्रस्ताव रास्वपाद्वारा अस्वीकार, तनहुँमा पनि जित्ने दाबी

काठमाडौं । आगामी वैशाख १० गते तीन वटा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले कसैसँग तालमेल नगर्ने भएको छ ।

सत्तारुढ गठबन्धनका तर्फबाट तालमेल प्रस्ताव आए पनि त्यसलाई स्वीकार नगरिएको पार्टी स्रोतले बतायो ।

स्रोतका अनुसार गठबन्धनले रास्वपालाई बारा २ र तनहुँ १ छाड्ने शर्तमा चितवन २ मा रवि लामिछानेलाई सघाउने प्रस्ताव गरेको थियो । तर, रास्वपाले तीनवटै क्षेत्रमा पार्टी बलियो रहेको ठहर गर्दै प्रस्ताव अस्वीकार गरेको छ ।

रास्वपाले तीनवटै क्षेत्रमा उम्मेदवारी दिने आधिकारिक निर्णय लिएपछि गठबन्धनका दलहरुले आफ्नो तयारी गरेका छन् । तर, उनीहरुबीच आपसमै समझदारी हुन सकेको छैन ।

चितवन २ बाट कांग्रेसले जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने आज निर्णय गरेको छ । यस्तै तनहुँ १ बाट कांग्रेसकै गोविन्द भट्टराई गठबन्धनका साझा उम्मेदवार बन्नेछन् ।

बारा २ मा भने सत्तारुढ गठबन्धनकै दलहरुबीच टकराबको अवस्था देखिएको छ । जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिँदै छन् भने उनलाई जसरी पनि हराउने उद्देश्यसहित जनमत पार्टीले शिवचन्द्र कुसवाहलाई उठाउने तयारी गरेको छ ।

यतिले नपुगेर लोकतान्त्रिक समाजवादी पार्टीबाट चर्चित मधेसवादी नेता राजेन्द्र महतो पनि यही क्षेत्रमा भिड्न आउने भएका छन् । गठबन्धनको समर्थन भने उपेन्द्र यादवलाई छ ।

रास्वपाले भने तीनवटै क्षेत्रमा उम्मेदवार तय गर्न बाँकी छ । चितवन २ बाट सभापति रवि लामिछानेले नै उम्मेदवारी दिने भए पनि बाँकी दुई क्षेत्रमा भने टुंगो लागेको छैन । रास्वपा प्रवक्ता डा। मुकुल ढकाल तीनवटै क्षेत्रमा जित्ने लक्ष्यसहित उपचुनावमा होमिने बताउँछन् ।

‘चितवन २ त भन्नै परेन बाँकी २ वटा क्षेत्रमा पनि हामी जित्ने गरी अगाडि बढेका छौँ,’ उनले भने ।

रास्वपाले  तीनवटै क्षेत्रमा मित्रवत प्रतिस्पर्धा गर्ने प्रस्ताव गठवन्धनसँग राखेको छ ।

डा. ढकालले भने, ‘हामी एउटा स्वतन्त्र पार्टी हौं, सरकारलाई विश्वासको मत दिँदैमा सबै कुरामा साथ दिनुपर्छ भन्ने हुँदैन । गठवन्धन गरेर चुनाव लड्ने कुरा लोकतन्त्रको भावना अनुकुल पनि होइन । हामी चुनावअघि स्वतन्त्र र चुनावपछि सहकार्य गरेर जानुपर्नेमा विश्वास राख्छौं ।

चितवनपछि तनहुँमा पनि पार्टीको जित निश्चित रहेको डा. ढकालको दाबी छ । सो क्षेत्रमा पार्टीले उम्मेदवार तय गर्नासाथ तरङ्ग आउन सक्ने उनले बताए ।

तनहुँ १ कांग्रेसका रामचन्द्र पौडेलले जितेको क्षेत्र हो । यहाँबाट रास्वपाका उम्मेदवार विकास सिग्देलले ६ हजार ३२ भोट ल्याएर चौथो भएका थिए । पार्टीले कुनै लोकप्रिय अनुहारलाई चुनावमा उठाएर जित हासिल गर्ने रणनीति लिएको बुझिएको छ ।

बारा २ मा पनि रास्वपा बलियो बन्दै गएको दाबी गर्छन् डा. ढकाल । सो क्षेत्रमा यसअघिको चुनावमा रास्वपाले उम्मेदवारी नै दिएको थिएन ।

समानुपातिकमा पनि पार्टीलाई न्यून मत आएको थियो । तर, यसपालि भने पार्टीको प्रभाव बढेको ढकालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर