प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाउँदै – Nepal Press

प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाउँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आफ्नो सरकारको विस्तार गर्ने भएका छन् । बुधवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकको निर्णय अनुसार आज प्रचण्ड नेतृत्वको सरकार विस्तार हुन लागेको हो ।

जसअनुसार हाल रिक्त रहेको १६ वटा मन्त्रालयसहित २५ वटा मन्त्रालयको भागबन्डा टुंगो लागेको जनाउँदै बिहीबार अपराह्न शपथ ग्रहण गराउने गरी भागबन्डा टुंगिएको हो ।

बालुवाटारमा हिजो बसेको बैठकमा सरकारमा सहभागी हुने ९ दलबीच २१ मन्त्रालयमा सहमति भएको नेताहरूले बताएका छन् ।

जसअनुसार नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित ५, नेपाली कांग्रेसलाई  ८, नेकपा एकीकृत समाजवादीलाई २, जनता समाजवादी पार्टी नेपाललाई २, जनमत पार्टीलाई राज्यमन्त्रीसहित २, लोकतान्त्रिक जनता पार्टी नेपाललाई १, नागरिक उन्मुक्ति पार्टीलाई १, आम जनता पार्टीलाई १ र नेपाल समाजवादी पार्टीलाई १ मन्त्रालय दिने सहमति भएको बताइएको छ ।

सो सहमति पछि प्रचण्ड सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउनका लागि नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ भने नेकपा एकीकृत समाजवादीले बुधवार आकस्मिक रूपमा सचिवालय बैठक बोलाएर उपाध्यक्ष बेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वालालाई प्रचण्ड नेतृत्वको सरकारमा पठाउने निर्णय गरिसकेको छ । तर, सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले भने तीन वटा मन्त्रालय पाउनु पर्ने जनाउँदै तीन वटा मन्त्रालय नदिएमा नाम सार्वजनिक नगर्ने जनाएका छन् ।

उता, प्रचण्ड नेतृत्वको सरकारमा सहभागितालाई लिएर अन्य राजनीतिक दलले भने बिहीबार नै निर्णय लिने गरी बैठक बोलाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर