कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै, मन्त्रीको नाम टुंगो लगाइने


काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने विषयमा छलफल गर्नका लागि कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको हो ।
‘पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपीनगरमा २०७९ चैत्र १६ गते बिहीबार बिहान ११ः०० बजे बस्ने भएको छ,’ केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने । उनका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहनेछ ।
यसअघि गत मंगलवारका लागि बोलाइएको बैठक दुई दिन पछि बिहीबारका लागि सारिएको हो ।
बालुवाटारमा हिजो बसेको बैठकमा दलबीच २१ मन्त्रालयमा सहमति भएको नेताहरूले बताएका छन् । जसअनुसार नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित ५, नेपाली कांग्रेसलाई ८, नेकपा एकीकृत समाजवादीलाई २, जनता समाजवादी पार्टी नेपाललाई २, जनमत पार्टीलाई एक राज्यमन्त्रीसहित २, लोकतान्त्रिक जनता पार्टी नेपाललाई १, नागरिक उन्मुक्ति पार्टीलाई १, आम जनता पार्टीलाई १ र नेपाल समाजवादी पार्टीलाई १ मन्त्रालय दिने सहमति भएको बताइएको छ ।