कोशीमा एमाले सरकार ढाल्ने शेरबहादुर र शेखरको प्रस्तावमा के भने राप्रपाका भक्ति सिटौलाले ? (भिडिओ) – Nepal Press
नेपाल टक

कोशीमा एमाले सरकार ढाल्ने शेरबहादुर र शेखरको प्रस्तावमा के भने राप्रपाका भक्ति सिटौलाले ? (भिडिओ)

'बीपीले नसोचेको प्रतिपक्षीविहीन लोकतन्त्रको अभ्यास कांग्रेसले गर्‍यो, सहयात्रीले छिर्के नलगाइन्जेल हामीले खुट्टा उचाल्ने कुरा हुँदैन'

विराटनगर । कोशी प्रदेश सरकारको सत्ता साझेदार दल हो राप्रपा । संघीय सरकारबाट समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको राप्रपाले कर्णाली र वागमती प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लियो ।

तर, एमाले नेतृत्वको सरकार रहेको कोशी र गण्डकीमा भने राप्रपा सरकारमै छ । राप्रपालाई एमालेसँगको गठबन्धनबाट छुटाएर नेपाली कांग्रेससहितको समीकरणमा ल्याउन विपक्षी गठबन्धनले प्रयास गरिरहेका छन् ।

६ सीट रहेको राप्रपाले हिक्मत कार्की नेतृत्वको सरकारमा साथ नछाडेसम्म कोशीमा विपक्षी गठबन्धनको समीकरण बन्ने अवस्था छैन । कांग्रेस, माओवादी, नेकपा एस र जसपाका सांसदले मात्र बहुमत पुग्दैन ।
कोशी प्रदेशमा सत्ता समीकरणको चाबी लिएर बसेको राप्रपा कोशी प्रदेश संसदीय दलका नेता तथा उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलासँग नेपाल प्रेसले गरेको कुराकानी नेपाल टकमा :

– प्रदेश सरकार परिवर्तनको कुरा चलिरहेको छ । कोशीमा राप्रपाले के गर्छ ?

राप्रपा कार्य सम्पादन समितिको बैठकले राप्रपा सरकारबाट बाहिरिने निर्णय गर्‍यो । यही निर्णय प्रदेशहरूको हकमा पनि थियो । त्यही निर्णयअनुसार तत्कालै राप्रपा वागमती सरकारबाट बाहिरियो । त्यहाँ राप्रपालाई निकाल्दा पनि माओवादी, कांग्रेस, नेकपा एसको बहुमत पुग्ने अवस्था छ । भोलि अपमानित हुनुभन्दा कुरा बुझेरै हामी सरकारबाट बाहिरिएका हौं ।

एमालेलाई गरेको व्यवहार पनि हेरियो- परराष्ट्रमन्त्रीलाई विदेश भ्रमणमा अपमानित ढङ्गले जान रोकिएको घटना । एमाले उपराष्ट्रपतिको चुनावसम्म सरकारमा बस्न चाहन्थ्यो । त्यो घटनापछि एमाले सरकारबाट बाहिरियो । हामीले पनि त्यही बुझेर बागमती सरकारबाट व्याक हट्यौं । तर, यहाँ र गण्डकीमा हामी सरकारमा छौं । यहाँ ६ वटा सीट छ एमाले र हामी मिलेर चुनाव लड्यौ । सहकार्य अहिलेसम्म छ । अहिले सरकारमा एमाले, माओवादी राप्रपा र जसपाका बीच अहिलेसम्म सहकार्य जारी छ । ५९ जनाको समर्थन रहेको यो सरकारलाई कसैले पनि समर्थन फिर्ता लिने भनेको छैन ।

– सरकारलाई दिएको समर्थन फिर्ता लिएर कांग्रेससँगको समीकरणमा आउन तपाईँहरूलाई नेताले फकाइरहनु भएको हो ?

अहिलेसम्म भएको कुरा अनौपचारिक हो । दुईवटा पार्टीबीच औपचारिक कुरा भएको छैन । सरकार परिवर्तन हुन्छ मुख्यमन्त्री बन्छौ र सरकार पक्षमा जान्छौ भनेर विपक्षमा बसेका मान्छेले चासो राख्नु, कुरा गर्नु नौलो कुरा होइन । त्यो कुरा भएको पनि हो । म काठमाडौं गएको बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेटौँ भन्नुभयो । शेखर कोइरालाले पनि भेट्न मिल्छ भन्नुभयो । उहाँहरूले बोलाएपछि मैले मेरो अध्यक्ष राजेन्द्र लिङदेनलाई जानकारी गराएँ । उहाँले भट्नुस न भेट्दा के हुन्छ भन्नु भयो । राजनीतिक कुराकानी न हो भनेपछि मैले उहाँहरूलाई पनि भेटे । उहाँहरूको मनशाय सरकार चेन्ज गर्दा मिलेर जानुपर्छ भन्ने थियो । शेरबहादुर दाइको पनि कुरा त्यही थियो । अब सरकार परिवर्तन गर्नुपर्छ । तपाँइहरू हामीसँग आउनुस् भन्नुभयो ।

शेखर दाइले पनि अब मिलेर जानुपर्छ भन्नुभयो । मैले तपाँईहरू डेमोक्रेसी एलायन्सको कुरा गर्नुहुन्छ । म पनि बीपीको स्कुलिङमा हुर्किएको मान्छे हो । बीपीले परिकल्पना नगरेको प्रतिपक्षविहीनताको अवस्था तपाँईँहरूले गर्नुभयो भने ।

बीपीले वीरगञ्ज महाधिवेशनमा सर्वसम्मत सभापति हुँदा पनि भूदेव राईलाई आफ्नो प्रतिपक्षमा खडा गर्नु भयो । तर, तपाँईहरुले त प्रतिपक्षविहीन अवस्थाको परिकल्पना गर्दै प्रचण्डलाई मत दिनुभयो भनेँ ।

– कोशी प्रदेशमा राप्रपा र एमालेका बीचमा विशिष्टकृत सम्बन्ध हो ?

हामी एक्लै सरकार बनाउनसक्ने अवस्थामा छैनौं । राजनीतिक गर्दा सत्तालाई साधन बनाएर आफ्ना योजना तथा कार्यक्रम लागू गर्ने स्वाभाविक नै हो । सत्ता आफ्ना कार्यक्रम र योजना लागू गराउने एउटा औजार हो ।

राजनीति गर्ने मान्छेले सत्ता र सरकारमा जानुहुन्न भन्नु हुन्न । सत्तामा बसेर आफ्नो काम गर्ने र योजना लागू गराउने हो । आदर्शको कुरा गरेर मात्रै राजनीति हुँदैन । हिजो चुनावमा लड्दा मैले बिरङ्ग बाँध्छु भनेर आएको छु । कमलाले दिने दु:खबाट मुक्त गराउँछु भनेर जनलाई आश्वासन दिएको छु । बाटो बनाउनेछु , पुल बनाउँछु र स्कुल सुधार्छु भनेको छु । सत्तामा गएपछि नै मैले ती सब काम गर्ने हो । यो अवस्थामा मिलेर जानु पर्ने परिस्थिति हो । एमालेसँग मिलेर हामी सरकारमा गएका छौं । एमाले पनि हामीसँग मिलेर जानुपर्ने अवस्था छ । हामी पनि एमालेसँग मिल्नुपर्ने अवस्था छ । नेतृत्व गर्ने मानिसले सबैलाई मिलाएर हिँड्नु पर्छ । अहिले सबै मिलेको छ । सरकार सञ्चालनमा कोशीमा कुनै गडबड छैन ।

– यहाँलाई कांग्रेस नेतृत्वको समीकरणमा मुख्यमन्त्री बन्ने प्रस्ताव आएको हो ?

यस्ता कुरा मसँग औपचारिकरूपमा आएको छैन । पहिलो कुरा त यो सरकारलाई समर्थन गरेका दलहरूले समर्थन फिर्ता लिनुपर्‍यो तब न सुरू हुन्छ यी प्रक्रिया । एक सीट भएको जसपाले मात्रै समर्थन फिर्ता लियो भने पनि विश्वासको मत लिनुपर्छ । यो बेला कसलाई के बनाउने के गर्ने भन्ने प्रस्ताव आउला । अहिले त्यो परिस्थिति आएकै छैन । सत्ता टुट्ने बेलामा कसले कसलाई के प्रस्ताव गर्ने होला ? भक्ति सिटौला अहिले मुख्यमन्त्री बन्ने सीट बोकेर बसेको छैन । मुख्यमन्त्री बनिहाल्ने अवस्था आयो भने छलफल गर्न पर्‍यो नि । मुख्यमन्त्री बन्नु मुख्य कुरा होइन । मुख्य कुरा त के हो भने राजनीतिक स्थिरता हो । २-४ दिन दुई महिना ५ महिना मुख्यमन्त्री भएर के गर्नु ? राजनीतिक गर्ने मान्छे इतिहासमा केही कुरा छाडेर जाउँ भन्नेमा रहन्छौं । मुख्यमन्त्रीभन्दा योग्य मन्त्री र सांसद हुँदा पनि इतिहासमा देखिनेगरी धेरै काम गर्न सकिन्छ । म लोभिन भन्दा पनि राजिनीकि स्थिरता हुने केही काम गर्न चाहन्छु ।

– राजनीति स्थिरताका लागि रिमोट राप्रपासँग छ । अब यहाँहरूको रोल के हुन्छ ?

अहिले ४ वटा दलको समर्थनमा सरकार बनेको छ । ४ वटै दलहरू मिलेर बसेको अवस्था छ । अहिले हिँडिरहेको सहकर्मीसँग उसले कुनै छिर्के नलाइ, असहजता नगरीकन खुट्टा उचाल्ने कुरा भएन ।  राजनीतिक स्थिरताका लागि हामी सत्ता फेरबदलमा लाग्दैनौं । मन्त्रीका लागि राप्रपाले गन्धा खेल खेल्दैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर