बच्चाको जाँच सकियो ? प्रकृति र वन्यजन्तुसँग रमाउन हलिउडले चिनाएको जंगल भिल्ला हुनसक्छ उत्कृष्ट गन्तव्य (भिडिओ) – Nepal Press

बच्चाको जाँच सकियो ? प्रकृति र वन्यजन्तुसँग रमाउन हलिउडले चिनाएको जंगल भिल्ला हुनसक्छ उत्कृष्ट गन्तव्य (भिडिओ)

शान्त वातावरण र प्रकृतिसँगै वन्यजन्तुसँग रमाउन चाहने आन्तरिक र बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्दैछ पटिहानीको जंगल भिल्ला रिसोर्ट

चितवन । शैक्षिकसत्र सकिँदैछ । विद्यालयस्तरीय परीक्षा सकिएसँगै परिवार घुम्न निस्कने प्रचलनसमेत विस्तारै नेपालमा बढिरहेका बेला काठमाडौंलगायत मुख्य शहरबाट नजिकै उत्कृष्ट गन्तव्यको खोजी हुँदा पछिल्लो समय चितवनकै सौराहाको विकल्प बन्न थालेको छ पटिहानीको जंगल भिल्ला रिसोर्ट ।

सौराहा ‘क्राउडेड’ बन्न थालेपछि अहिले आन्तरिक र बाह्य पर्यटकको गन्तव्य बन्दैछ कसरा नजिकै रहेको पटिहानी । वन र वन्यजन्तु अनि दुर्लभ चराहरुमा रुचि भएकाहरुका लागि चितवन राष्ट्रिय निकुञ्ज संसारकै उत्कृष्ट गन्तव्य हो ।

त्यसमा पनि जंगल सफारीमात्र होइन बसेको होटलको कोठाकै छेउमा वन्यजन्तु र चराहरुको चरनका कारण पटिहानीको जंगल भिल्ला रिसोर्ट हलिउडका कलाकारको समेत उत्कृष्ट रोजाइमा परेको छ ।

हलिउड कलाकारदेखि रियालिटी शोसम्म

विश्व प्रशिद्ध कलाकारहरुले जंगल रिसोर्टको बाल्कोनीमा बसेर खिचेका दुर्लभ तस्विरहरु आज संसारभरका पर्यटकलाई नेपाल आउन प्रेरित गर्ने विज्ञापन बनेका छन् ।

हलिउड नायिका तथा पोल्याण्डकी चर्चित गायिका एवं मोडल इजाबेल्ला स्कोरुप्को केही समयअघि जंगल भिल्लामा आफ्नो टीमसहित आएर बसेकी थिइन् । सन् १९९५ मा निर्मित गोल्डेन आई फिल्मबाट स्टार बनेकी इजाबेल्लाले जंगल भिल्ला रिसोर्ट संसारकै उत्कृष्ट गन्तव्यभित्र पर्ने भनेर प्रचारसमेत गरेकी छन् ।

त्यस्तै केही समयअघि जंगल भिल्ला रिसोर्टमा सुटिङकै क्रममा स्वीडिश अमेरिकी हलिउड अभिनेता रोल्फ पिटर स्टोमेयर पनि आएका थिए । मर्दी हिमालदेखि चितवन राष्ट्रिय निकुञ्जसम्मको रियालिटी शो को सुटिङ युनिटसमेत जंगल भिल्ला रिसोर्टमा बसेकाले सो रियालिटी शोमार्फत पनि नेपालको र चितवन राष्ट्रिय निकुञ्जको प्रचारप्रसार भएको होटलका सञ्चालक सविन पौडेलले बताए ।

हलिउड नायिका तथा पोल्याण्डकी चर्चित गायिका एवं मोडल इजाबेल्ला स्कोरुप्कोसँग हाेटलका प्रबन्ध निर्देशक सविन पाैडेल ।

कसरासँगै राप्ती किनारमा अवस्थित जंगल भिल्ला रिसोर्ट शान्त वातावरणमा प्रकृति र वन्यजन्तुसँग रमाउन चाहने विदेशी तथा स्वदेशी पर्यटकका लागि उत्कृष्ट र एकमात्र गन्तव्य बनेको छ । किनकि रिसोर्टका सबै कोठाबाट सबैतिर देखिने र सबैखाले वन्यजन्तुका क्रीडा कोठा वा बार्दलीमा बसेर देख्न पाइने डिजाइनको यो एकमात्र होटल मानिएको छ ।

गैंडा, हात्ती, मृग, मयूर, भालु, बँदेललगायत वन्यजन्तु जंगल भिल्लाकै वरिपरि रमाइरहेका देखिन्छन् भने कुनैबेला बाघ पनि आइपुग्छ । राति जनावर र प्रकृतिको एकोहोरो सुमधुर आवाज र बिहान ओछ्यानबाटै वन्यजन्तुसँगको प्रत्यक्ष अन्तरक्रिया जंगल भिल्लाको विशेषता हो ।

‘जंगल भिल्लाको विशेषता भनेकै वन्यजन्तु र प्रकृति मन पराउनेहरुका लागि सुत्ने कोठादेखि खाने डाइनिङ टेबल र आराम गर्ने काउचबाट समेत निकुञ्जभित्रका सबैखाले जीवजन्तु र प्रकृतिको प्रत्यक्ष अवलोकन गर्न पाउनु हो । हलिउडका कलाकारले पनि यस्तो दृश्य अन्यत्र कतै देख्न पाइँदैन भनेर जानुभयो’, जंगल भिल्ला रिसोर्टका सञ्चालक पौडेल भन्छन्, ‘विशेषगरी पीसफुल वातावरणमा प्रकृतिसँग रमाउन चाहनेका लागि हामीले यो गन्तव्य बनाएका हौं ।’

जंगल भिल्लाको इतिहास

चितवनको साविक जगतपुर गाविसका पूर्वअध्यक्ष खगेश्वर शर्मा पौडेल यही क्षेत्रका परिचित अनुहार हुन् । करीब चार दशक शिक्षण पेशापछि उनी गाविस अध्यक्ष बनेका थिए । उनका छोरा गणेश शर्मा पौडेल चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी थिए ।

त्यसबेला कसराभन्दा वारिपट्टि रापती किनारामा रहेको बाँझो जमिनको कुनै मूल्य थिएन । निकुञ्जसँग जोडिएको र खोलाले बगाउने जमिन भएकाले कसैले किनबेच गर्दैन थिए । वन्जयन्तु र प्रकृतिप्रेमीहरुको गन्तव्य बन्न सक्ने बुझेका गणेशले २०४७ सालतिर ४ बिघा क्षेत्रफलको जग्गा किनेर राखेका थिए ।

त्यो जग्गा लामो समय खाली नै थियो । संरक्षण क्षेत्रमै काम गरेका गणेशले वन्जयन्तु, प्रकृति र सम्भावित पर्यटन गन्तव्यको भविष्य बुझेर यो जग्गा लिए भने हस्तकला व्यवसायमा रमेका भाइ सविनको हुटहुटीले सन् २०१० मा जंगल भिल्ला रिसोर्ट बनाउन थालियो । थोरै कोठाबाट परीक्षणका रुपमा सन् २०१२ देखि भिल्ला रिसोर्ट सञ्चालनमा आएको थियो ।

उनीहरु आफैं पनि चितवनका बासिन्दा भएकाले कुनै न कुनै दिन यो ठाउँ आन्तरिक र बाह्य पर्यटकको उत्कृष्ट गन्तव्य बन्नसक्छ भन्ने बुझेका थिए । तत्कालीन राजदरवारको सामुन्नेमा रहेको जंगल भिल्ला रिसोर्ट सोही जग्गामा बनेको हो । यसको अर्को र मुख्य विशेषता भनेको राष्ट्रिय निकुञ्ज र समुदाय दुवैतिर जंगल भिल्ला रिसोर्टको फ्रन्ट साइट अर्थात मुख फर्किएको छ । जुन अरु होटल र रिसोर्टको छैन र सम्भव पनि हुन्न ।

जंगल भिल्लामा बस्नेहरुले एकातिरबाट जंगल र जंगली जनावरहरुको मज्जा लिन्छन् भने अर्कोतिर समुदायका गतिविधि पनि हेर्न पाउँछन् । यही कारण जंगल भिल्लामा विदेशी फिल्म क्रु र टेलिभिजनहरुले सुटिङ गर्न आउने गरेका छन् । जंगल भिल्ला रिसोर्टका हरेक कोठा बाहिर रापती नदी छ, जहाँ संसारका विभिन्न देशबाट आउने माइग्रेन्ट चराहरुले विचरण गर्छन् । गोहीको त वासस्थान नै यही छ ।

स्थानीय उत्पादन, मूलबासी कर्मचारी

विभिन्न प्रकारका ४० वटा कोठा रहेको जंगल भिल्ला रिसोर्टको अर्को विशेषता भनेको यहाँ अधिकांश स्थानीय उत्पादनबाटै खानेकुरा तयार पारिन्छ । प्रबन्ध निर्देशक सविन पौडेलका अनुसार समुदायले उत्पादन गरेका तरकारी पाहुनालाई खुवाइन्छ । भ्याएसम्म र स्थानीय उत्पादनले पुगेसम्म बाहिरको खाद्यान्न यहाँ ल्याइँदैन ।

जंगल भिल्ला रिसोर्ट रहेको क्षेत्र आदिवासी जनजातिहरुको बाहुल्य भएको ठाउँ भएकाले ९५ प्रतिशत जनशक्ति स्थानीय नै छ । यहाँका थारु, दराई, बोटेलगायतका समुदायका युवालाई जंगल भिल्लाले रोजगारी दिएको छ । यसका साथै सामाजिक उत्तरदायित्वअनुसार यहाँका समुदाय, विद्यालय र क्लबहरुका साथै संरक्षणमा जंगल भिल्लाले सहयोग गर्दै आएको छ ।

बाहिरबाट हेर्दा सामान्य र प्रकृतिसँगै हराइरहेको देखिने जंंगल भिल्ला रिसोर्टभित्र छिरेदेखि नै प्रकृतिसँग प्रत्यक्ष साक्षात्कार हुन्छ । अहिलेसम्म ५०-६० करोड लगानी भइसकेको यो रिसोर्टले चर्चेको जग्गाको आजको मूल्यसमेत जोड्ने हो भने एक अर्बभन्दा माथिको लगानी यहाँ भएको छ ।

यो पारिवारिक व्यापार भएकाले लगानीको हिसाब पनि नभएको र पर्यटकलाई सन्तुष्ट पार्न जे गर्न पर्ने हो, त्यही गर्दा लगानी बढिरहेको प्रबन्ध निर्देशक पौडेल बताउँछन् । बिदाको बेला शान्त पारिवारिक भ्रमणका लागि जंगल भिल्लालाई आन्तरिक पर्यटनको पनि गन्तव्य बनाइएको छ ।

कति महँगो छ जंगल भिल्ला ?

जंगल भिल्ला रिसोर्टले मध्यम वर्ग र त्योभन्दा माथिका पर्यटकलाई लक्षित गरी सेवा सुविधाहरुको व्यवस्थापन गरेको छ । संरक्षणमैत्री संरचना जंगल भिल्लाको अर्को विशेषता हो । रिसोर्टका संरचना पनि सोहीअनुसार बनाइएका छन् । २४ वटा इलिफेन्ट भिल्ला, १२ वटा सफारी भिल्ला र २ वटा स्वीमिङ पुलसहितका भिल्ला यहाँभित्र छन् ।

बिदा मनाउन जाँदै गर्दा जंगल भिल्लामा बस्नु पर्दा कति खर्च निकाल्न पर्ला भन्ने पनि सबैको चासो हुनसक्छ । जंगल भिल्ला रिसोर्टले सफारी भिल्लाको लागि दुई रात तीन दिनको प्याकेज २४ हजार रुपैयाँ राखेको छ ।

इलिफेन्ट भिल्लाको प्याकेज १८ हजार राखिएको छ । मध्यम वर्गको परिवारले पनि जंगल भिल्ला रिसोर्टमा बिदा मनाउन सक्छ । जंगल भिल्ला रिसोर्ट आफैंमा प्रकृतिको अनुपम सम्मिश्रण हो भन्दा फरक पर्दैन । एकपटक यहाँ जाने व्यक्ति र परिवारको मानसपटलबाट जंगल भिल्ला कहिल्यै बिर्सन सकिन्न ।

काठमाडौंबाट १५० किलोमिटर दूरीमात्र रहे पनि बाटोका कारण ५-६ घण्टासम्म लाग्ने गरेकाले बाह्य पर्यटक थकित भइसकेका हुन्छन् । राजमार्ग विस्तारको कारण बाटो असहज भएको छ । विभिन्न देशका राजदूत र कूटनीतिज्ञहरु पनि जंगल भिल्ला रिसोर्ट पुग्छन । उनीहरुको गुनासो पनि बाटोका कारण समय खेर गयो भन्नेमात्र सुनिएको पौडेल बताउँछन् ।

पर्यटन विकासमा सरकारले आफैं लगानी गर्नुपर्ने हो । तर, यहाँ पूर्वाधार विकासमा समेत सरकारको बेवास्ताका कारण यति छोटो दूरीको पर्यटकीय गन्तव्यमा समेत आन्तरिक र बाह्य पर्यटकको आगमनलाई सहज बनाउन नसकिएको व्यवसायीहरु बताउँछन् ।

जंगल भिल्ला रिसोर्टको अर्को एउटा छुटाउनै नहुने योगदान पनि छ, त्यो भनेको विशेषगरी विदेशीहरुका लागि नेपाल भनेको हिमालमात्र हो र यहाँका गन्तव्य भनेका हिमाली क्षेत्र र पदयात्रा तथा पर्वतारोहणमात्र भन्ने परेको छ । तर, पछिल्लो पटक हलिउड कलाकारहरुको सुटिङ र टेलिभिजन कार्यक्रमले नेपालमा समथर पर्यटकीय भूभाग र वन्जयन्तुको घर पनि छ, जहाँ संसारमै अन्यन्त्र नपाइने दुर्लभ जनावरहरु पाइन्छन् भन्ने प्रचार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर