‘मन्त्रालयमा प्रशासकीय अधिकृत रोज्ने मेयरहरूको भिड लाग्छ, ५१ हजारलाई कहाँ पठाउँ ?’ – Nepal Press

‘मन्त्रालयमा प्रशासकीय अधिकृत रोज्ने मेयरहरूको भिड लाग्छ, ५१ हजारलाई कहाँ पठाउँ ?’

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय सरकारसँग प्रदेश र स्थानीय सरकारको दोहोरो समन्वय हुन आवश्यक रहेको बताएका छन् ।

वुधबार काठमाडौं महानगरपालिकाले आयोजना गरेको पहिलो न्यायिक समिति राष्ट्रिय सम्मेलनमा बोल्दै तीन तहका सरकारसँग समन्वयकारी भुमिका खेल्न दोहोरो समन्वय हुनुपर्ने बताएका हुन् । उनले प्रदेश र स्थानीय तहको कामलाई प्रभावकारी बनाउन केन्द्र सरकारसँग दोहोरो समन्वय बनाउन आवश्यक रहेको बताए ।

उनले मुलुकमा ५३ हजार कर्मचारीको दरबन्दी भएपनि २ हजार मात्रै कर्मचारी स्थानीय तहको रोजाईमा पर्ने गरेको बताए । उनले ७५३ स्थानीय तहमा २ हजार कर्मचारी रोजाईमा रहेकाले ५१ हजार कर्मचारीलाई कहाँ पठाउने ? भन्दै स्थानीय तहसँग जवाफ मागे ।

उनले स्थानीय तहले अधिकृत माग गर्ने बित्तिकै पठाउँदा हुँदैन भनेर मन्त्रालय आउने गरेको बताए । उनले रोजाइको अधिकृत पठाउन माग गर्दै मन्त्रालयमा दैनिक हजार भन्दा बढीको भीड लाग्ने गरेको बताए ।

‘मन्त्रालयमा नगरपालिका र गाउँपालिकाका मेयरहरु आउनुहुन्छ । पालिकामा कार्यकारी प्रमुख पठाइदिन आग्रह गर्नुहुन्छ । मैले पठाइदिन्छु । पठाएको भोलिपल्ट एउटा गु्रप आउँछ त्यो हुँदैन । त्यसलाई तुरुन्त हटाई देउ भन्नुहुन्छ । फेरि अर्को गु्रप त्यसलाई राख्नैपर्छ भनेर आउने गर्छन् । मन्त्रालयमा दैनिक रुपमा हजार जनाको भीड आफूले रोजेको कर्मचारीको लागि हुने गरेको छ, ‘ सबै रोजेको कर्मचारी ७५३ स्थानीय तहमा पठाउन थालियो भने देशमा अधिकृत २४ सय, उपसचिव ९ सय र सहसचिव ४ सय जना रहेका छन् । अनि केन्द्र सरकारले ५३ हजार कर्मचारीको दरबन्दी छ । २ हजार कर्मचारी मात्रै मन परेको खोज्ने हो भने बाँकी ५१ हजार कर्मचारी कहाँ जान्छन् । ५१ हजार कर्मचारीलाई लगेर गाउँमा हलो जोताउनु भएन । कुनै न कुनै स्थानमा पठाउनु नै पर्छ । मन नपर्ने खोजेको कर्मचारी पठाउँदा स्थानीय तहहरुले हाजिर लगाउन नमान्ने गर्नुहुन्छ । स्थानीय, प्रदेश र केन्द्र सरकारबीच समन्वय हुनुपर्छ । केन्द्र सरकारसँग प्रदेश र स्थानीय सरकारसँग दोहोरो समन्वय हुनुपर्छ ।’

मन्त्री मोदीले वर्तमान सरकारको पालामा नै संघीय निजामती सेवा ऐन आउनेमा ढुक्क हुन आग्रह गरे । उनले लामो समयदेखि रोकिएको संघीय निजामती सेवा ऐन आफू मन्त्री भएर आएको दुई महिनामा नै प्रक्रिया अगाडि बढाएको बताए । उनले ऐन प्रक्रिया अगाडि बढेर अहिले कानून र अर्थ मन्त्रालयमा स्वीकृतको लागि पठाएको बताए ।

उनले अब बस्ने प्रतिनिधि सभामा पेस गर्ने गरी ऐनको प्रक्रिया अगाडि बढाएको उल्लेख गरे । उनले संघीय निजामति सेवा ऐनमा तहगत बढुवा हुने र अवकाश अवधि ६० वर्षको अवधि कायम भएको बताए ।

उनले ऐनमा टे«ड युनियन कस्तो बनाउने भन्ने विषयमा छलफल प्रक्रियामा रहेको बताए । उनले स्थानीय तहहरुमा प्रमुख कार्यकारी अधिकृत कसले पठाउने भन्नेमा विकास नभएसम्म केन्द्र तहगत विकास भएपछि प्रदेश सरकारबाट पठाउने ऐनमा व्यवस्था गरिएको बताए । उनले निजामती सेवा ऐनको अभावमा कर्मचारी समायोजनमा देखिएको समस्या समाधान गर्ने प्रयास गरेको बताए ।

‘लामो समयदेखि अगाडि बढ्न नसकेको संघीय निजामति सेवा ऐन प्रक्रिया अगाडि बढेको छ । ऐन सरोकारवाला सबैसँग छलफल गरेर प्रक्रिया अगाडि बढेको छ । अहिले कानून र अर्थमन्त्रालयमा सहमतिको लागि पठाएको छु । धेरै वर्षदेखि थाती रहेको ऐन दुई महिनामा अगाडि बढेको छ । संघीय निजामति सेवा ऐनमा श्रेणीगत राख्ने की तहगत भन्ने थियो अब तहगत र अवकाश अवधि ६० की ५८ थियो अहिले ६० बनाएर आउँछ’, उनले भने, ‘ऐनमा ट्रेड युनियन कस्तो भन्ने कुरा छलफलकै प्रक्रियामा रहेको छ । स्थानीय तहहरुमा प्रमुख कार्यकारी अधिकृत कसले पठाउने भन्नेमा विकास नभएसम्म केन्द्र तहगत विकास भएपछि प्रदेश सरकारबाट पठाउने ऐनमा व्यवस्था गरिएको छ । निजामती सेवा ऐनको अभावमा कर्मचारी समायोजनमा देखिएको समस्या समाधान गर्ने प्रयास गरेका छौं । अब बस्ने प्रतिनिधि सभामा पेस गर्ने तयारी रहेका छौं । संघीय निजामती सेवा ऐन हाम्रै पालामा आउँछ । तपाईहरु ढुक्क हुनुस् ।’

त्यस्तै, बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले केन्द्र,प्रदेश र स्थानीय तीनै तहको सरकार संघीय संरचना अनुसार काम गर्न सक्षम नदेखिएको बताए ।

उनले संघीयता अनुसार काम गर्न नसक्दा जनताले खोजेको जस्तो काम गर्न नसकिरहेको स्वीकार गरे । उनले जनताको सबै भन्दा नजिकको सरकार भनेको स्थानीय सरकार भएको भन्दै जनताका समस्या समाधान गर्न स्थानीय सरकार सचेत हुनुपर्ने बताए ।

उनले केन्द्र सरकारले प्रहरी समायोजन ऐन बनेपनि त्यसलाई कार्यान्वयनमा ल्याउन नसकिएको बताए ।


प्रतिक्रिया

One thought on “‘मन्त्रालयमा प्रशासकीय अधिकृत रोज्ने मेयरहरूको भिड लाग्छ, ५१ हजारलाई कहाँ पठाउँ ?’

  1. कामभन्दा हल्ला धेरै । अब मन्त्रालयबाट विदा हुने दिन आउँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर