तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को तेह्रौं पार्षद सभा पोखरामा


पोखरा । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को तेह्रौं राष्ट्रिय पार्षदसभा पोखरामा हुने भएको छ ।
तमु (गुरुङ) भाषालाई सरकारी कामकाजको भाषा घोषणा हाम्रो आव्हान तमु भाषामा तमू थातथलोको नाम पुनर्स्थापना र ऐतिहासिक पहिचानको संरक्षण हाम्रो अभियान भन्ने मुल नाराका साथ तेह्रौं केन्द्रीय पार्षद सभा पोखरामा हुन लागेको हो ।
तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले वुधबार पत्रकारसम्मेलन गर्दै परिषद्को तेह्रौं राष्ट्रिय पार्षद सभा चैत १८ र १९ गते पोखरामा हुने जनाएको हो ।
परिषद्का अध्यक्ष कर्णबहादुर गुरुङले तमु जातिको सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनैतिक अधिकारका विषयमा र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल संविधानले परिकल्पना गरेका राज्यको विकासका बारेमा संस्थागत धारणाहरु निर्माण गर्ने विषयमा महत्वपूर्ण नीतिहरु पारित गर्नै लक्ष्यसहित पोखरामा केन्द्रीय पार्षद सभा गर्न लागिएको बताए ।
संविधान बमोजिम सरकारी कामकाजको भाषाको रुपमा गुरुङ मातृभाषालाई मान्यता दिलाउनका लागि यो पार्षद सभा महत्वपूर्ण हुने विश्वास लिएको अध्यक्ष गुरुङले जनाए ।
उक्त पार्षद सभामा देशभरबाट ६ सय जनाको सहभागिता रहने आयोजकले जनाएको छ । २०६५ चैत १५ देखि १८ गतेसम्म चितवनमा ऐतिहासिक तमू एकता राष्ट्रिय महाधिवेशन गरी तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको स्थापना गरिएको थियो ।