एमालेमा फर्किनका लागि नेकपा एसका नेताहरू आन्तरिक छलफलमा – Nepal Press

एमालेमा फर्किनका लागि नेकपा एसका नेताहरू आन्तरिक छलफलमा

झलनाथले निकट नेताहरूसँग भने- माधव नेपालबाट राष्ट्रियता र कम्युनिस्ट आन्दोलनको नेतृत्व हुँदैन, कुनै पनि बेला ठोस कदम चाल्न तयार रहनुस्

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केही वरिष्ठ नेताहरू नेकपा एमालेमा फर्किने तयारीका लागि छलफलमा जुटेका छन् । नेकपा एसका संस्थापक नेताहरू मुकुन्द न्यौपाने, केदार न्यौपाने र चूडामणि जंगली एमालेमा फर्किन इच्छुक देखिएका छन् ।

पार्टीमा अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरियतामा रहेका नेता मुकुन्द न्यौपानेले लामो समयदेखि नेकपा एसभित्र फरक मत राख्दै आएका छन् । उनले कांग्रेसको सहयोगी भएर वामपन्थी आन्दोलनको हित नहुने भन्दै एमालेसँग मिल्न लिखित प्रस्ताव समेत राखेका थिए ।

न्यौपानेले पछिल्लो पटक माधव नेपालले राष्ट्रपति पद लिएर पार्टी एकता गर्ने प्रस्ताव समेत नमानेको भन्दै अध्यक्ष नेपाल इण्डो–अमेरिकन एजेण्टमा पतन भएको आरोप लगाएका छन् । उनले माधव नेपालबाट नेपालको कम्युनिस्ट र देशभक्तिको आन्दोलनको नेतृत्व नहुने बताएका छन् ।

न्यौपानेसँग नेकपा एसको मंगलवार बसेको बैठकले स्पष्टीकरण सोधेको छ । सोही बैठकले उपाध्यक्ष केदार न्यौपाने र चूडामणि जंगलीको राजीनामा स्वीकृत गरिसकेको छ । यी नेताहरू एमालेमा फर्किनका लागि छलफलमा छन् । अन्य असन्तुष्ट नेता कार्यकर्तासहित समेटेर एमालेमा फर्किने तयारी भइरहेको जंगलीले बताएका छन् ।

नेकपा एसका अध्यक्ष माधव नेपालको पछिल्लो गतिविधिप्रति सम्मानित नेता झलनाथ खनाल समेत सन्तुष्ट छैनन् । उनले कम्युनिस्ट पार्टी कमजोर बनाउन माधव नेपालको भूमिका देखिएको भन्दै अब के गर्ने भन्नेबारेमा केन्द्रीय तहका नेताहरूसँग परामर्श थालेका छन् ।

उनले कुनै पनि बेला राष्ट्रियता र वामपन्थी आन्दोलनको पक्षमा कदम चाल्नुपर्ने हुनसक्छ भन्दै आफूनिकट नेता कार्यकर्ताहरूलाई तयार रहन भनेका छन् । खनालले माधव नेपालबाट वैचारिक सैद्धान्तिक काम नहुने र कम्युनिस्ट आन्दोलन पनि अघि नबढ्ने बताउन थालेका छन् ।

खनालले पछिल्लो स्थायी कमिटी र सचिवालय बैठकमा पनि लामो सम्बोधन गर्दै नेपालको आलोचना गरेका थिए ।


प्रतिक्रिया

One thought on “एमालेमा फर्किनका लागि नेकपा एसका नेताहरू आन्तरिक छलफलमा

  1. संघिन घडीमा पार्टीलाई धोका दिनेलाई जिम्मेवारी दिंदा महत्वपूर्ण समयमा फेरि धोका नदेओस भनेर सचेत हुनु पर्छ ।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर