वैदेशिक रोजगारमा रहेका नेपालीलाई आजदेखि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा – Nepal Press

वैदेशिक रोजगारमा रहेका नेपालीलाई आजदेखि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई आजदेखि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा सुरु गरेको छ ।

वैदेशिक रोजगार बोर्डले विदेशमा रहेका नेपालीको स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि यो सेवा दिन सुरु गरेको हो ।

यो सेवामार्फत वैदेशिक रोजगारीमा रहेका श्रमिकले टेलिफोनमार्फत आफ्नो स्वास्थ्यको समस्या तथा समाधानको उपायबारे चिकित्सकसँग परामर्श लिन पाउनेछन् ।

वैदेशिक रोजगारमा रहेकाले मोबाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ को भाइबर, हृवाट्सएप र इमेल वा सामाजिक सञ्जालबाट फोन गरी टेलिमेडिसिन सेवा लिन सक्ने बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले जानकारी दिए ।

उनका अनुसार टेलिमेडिसिन सेवा आज बिहान १० बजेदेखि सुरु हुने र सार्वजनिक बिदाका दिनबाहेक नेपाली कार्यालय समयमा सेवा प्रवाह गरिने छ ।

बिरामी परेका श्रमिकलाई विशेषज्ञ सेवा नै आवश्यक परेमा आइतबार र शुक्रवार विशेषज्ञ सेवा उपलब्ध गराइने बोर्डले जनाएको छ । सेवा प्रवाहका लागि बोर्डले वीर अस्पतालसँग सम्झौता गरिसकेको छ ।

सेवा लिने श्रमिकका लागि ‘प्रेस्कृप्सन’ अनलाइनमार्फत उपलब्ध गराइनेछ । यसको सम्पूर्ण खर्च वैदेशिक रोजगार बोर्डले व्यहोर्ने जनाइएको छ ।

बोर्डका सूचना अधिकारी राजन पौडेलले एक सूचना जारी गर्दै निःशुल्क ‘टेलिमेडिसिन’ सेवा सुरु गर्न लागिएको जानकारी गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर