कर्णाली प्रदेश प्रमुखको सम्बोधन : १० हजार रोजगारी सिर्जना गर्न विशेष कार्ययोजना बनाउनुपर्छ – Nepal Press

कर्णाली प्रदेश प्रमुखको सम्बोधन : १० हजार रोजगारी सिर्जना गर्न विशेष कार्ययोजना बनाउनुपर्छ

सुर्खेत । कर्णाली प्रदेश सभाको मंगलबार बसेको आठौँ बैठकमा प्रदेश प्रमुख तिलक परियारले सम्बोधन गरेका छन् ।

उनले ७ दशकदेखि हजारौं शहीदहरूको बलिदान, बेपत्ता र घाइते योद्धाहरू, लाखौं कर्मवीरहरूको त्याग, तपस्या र सङ्घर्षको परिणामले कर्णाली प्रदेशको सार्वभौम सदन समक्ष उभिन पाएका बताएका छन् ।

जनयुद्ध र जनआन्दोलनका तमाम वेपत्ता योद्धाहरु, घाइते, अपांगहरु, शहीद परिवारहरुमा सम्मान व्यक्त गर्दै परियारले प्रदेश सरकारले अवलम्बन गरेका नीति, योजना र कार्यक्रम कार्यान्वनको अवस्थाबारे गम्भीर समीक्षाको मोडमा उभिएको र सकारात्मक अनुभवबाट शिक्षा लिनु छ पर्ने र नकारात्मक र अव्यवहारिक नीति कार्यक्रमहरुलाई सच्चाउँदै अघि बढ्नुको विकल्प नरहेको बताए ।

समृद्ध कर्णालीको सपना देखिरहँदा झुप्रोमा बस्ने गरिब जनताले पाइरहेको सास्तीलाई नै प्राथमिकता दिनु पर्ने उनको जोड छ । आकाशमा महल ठड्याउने सपना बुनिरहँदा हामीले धर्तीमा झुपडी निर्माण गरी काम सुरु गर्नु पर्ने प्रदेश प्रमुख परियारको भनाइ छ ।

यस्तै, उनले कोभिड महामारी र विश्व भूराजनीतिमा उत्पन्न तनावका कारण अर्थतन्त्र थिलोथिलो हुँदै गइरहेको अवस्थामा कर्णाली प्रदेश सरकार आगामी वर्षहरुमा रोजगारी र उत्पादनलाई विशेष जोड दिन आवश्यक रहेको बताए ।

उनले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, वन तथा वातावरण संरक्षण, उद्योग, सेवा लगायतका क्षेत्रहरुलाई रोजगारी र उत्पादनमुखी बनाउनु पर्नेमा जोड दिए । लघु उद्यममार्फत स्वरोजगारलाई विशेष जोड दिनुपर्ने र वर्तमान सरकारले हालै घोषणा गरेको १० हजार रोजगारी सिर्जना गर्ने अभियानलाई मुर्तरुप दिन विशेष कार्ययोजना बनाउनु पर्नेमा उनको जोड छ ।

साथै, प्रदेश सरकारले अघि बढाइएका बहुवर्षीय र क्रमागत योजनाहरुलाई बजेटको सुनिश्चितता गरी समयमै सम्पन्न गर्नुपर्दछ भने कतिपय कार्यान्वयन हुन नसक्ने योजनाहरु समयमै पुनरावलोकन गरिनु पर्ने भनाइ प्रमुख परियारको भनाइ छ । प्रदेशकै गौरवपूर्ण आयोजना प्रदेश रङ्गशालालाई समयमै सम्पन्न गरी दशौं राष्ट्रिय खेलकुद आयोजनाका लागि सम्पूर्ण तयारी गर्नु पर्नेमा धारणा उनले जोड दिए ।

‘कर्णाली प्रदेश सरकार योजना छनौट र कार्यान्वयनमा रहेका गम्भीर चुनौतीबीच आगामी बजेट निर्धारणका लागि समीक्षाको महत्वपूर्ण घडीमा उभिएको छ’, परियारले भने ।

प्रदेशले तय गरेका प्रथम पञ्चवर्षीय योजनाका लक्ष्य र उद्देश्यहरु परिपूर्ति गर्नु पर्नेमा घोषित उद्देश्यबाट टाढा गएर मनोमानी बजेट विनियोजनको प्रवृत्ति बैढ्दै गएकोमा उनले चिन्ता व्यक्त गरे ।

विगतका वर्षहरुदेखि नै एकमुष्ट डल्लो बजेटको समस्या भोग्दै आएको कर्णाली प्रदेश सरकारले विशेष परिस्थितिमा खर्च गर्नका लागि राखिएको बजेट रातो किताबमा उल्लेख नै नभएका असन्तुलित योजनाहरुमा एकांकी ढङ्गले विनियोजन गर्ने वित्तीय नीतितर्फ निर्देशित हुने खतराहरुबाट प्रदेश सरकार चनाखो रहनुपर्ने उनको धारणा राखेका छन् ।

प्रदेश सरकारले उच्च आर्थिक वृद्धि हासिल गरी कर्णाली प्रदेशलाई समृद्घिको दिशामा अघि बढाउने लक्ष्य लिइरहेको तर विनियोजित योजनामा छुट्टाइएको रकम खर्च नै नहुने समस्या समाधान नगरी दोहोरो अङ्कको आर्थिक वृद्घि हासिल गर्न असम्भव छ ।


‘सरकारी अनुदान निश्चित वर्ग र मानिसहरुको पहुँच भन्दा आम जनताको जीविकोपार्जन र उत्पादन प्रक्रियासंग जोड्न ब्याज अनुदानलाई प्रश्रय दिइ तदारुकता साथ कार्यान्वयन गरिनुपर्छ’, उनले भने, ‘लघु वित्त र सहकारीहरु समाजवाद निर्माणका पुर्वाधार हुन, यसलाई गरिवी निवारण र जीविकोपार्जनसँग जोड्न अपरिहार्य भएको छ । प्रदेश सरकारले राम्रा संस्था निर्माणका लागि विशेष भूमिका खेल्न सकेमा मात्र समृद्ध कर्णाली निर्माणको अभिभारालाई पुरा गर्न सकिने छ ।’

प्रदेशको शासन प्रणालीमा सुशासन कायम गर्न नसकिएमा सङ्घीयतामार्फत समृद्धी हासिल गर्न असम्भव मात्र होइन सङघीयता नै धरापमा पर्ने खतरा विद्यमान रहेको परियारले बताए । कर्णालीबासीको विकास समृद्धिको सपना पुरा गर्न सरकारको नेतृत्व, जननिर्वाचित प्रतिनिधिहरु, राष्ट्रसेवक कर्मचारी र नागरिक समाजले एक सामाजिक पुनर्जागरणमार्फत सुशासनको गहन जिम्मेवारीबोध र नैतिक मानक तयार गर्न आवश्यकता उनले औंल्याए ।

कर्णालीबासीको सामाजिक र आर्थिक सूचकहरुमा सुधार ल्याइ प्रदेशलाई समृद्धिको दिशामा अघि बढाउन प्रदेश सरकारले लागु गरेका मुख्यमन्त्री रोजगार कार्यक्रम, एकीकृत बस्ती विकास कार्यक्रम, कर्णाली उज्यालो कार्यक्रम, मुख्यमन्त्री महिला आयआर्जन कार्यक्रम, मुख्यमन्त्री दलित आयआर्जन कार्यक्रम, जनता आवास कार्यक्रम, ‘बैङ्क खाता छोरीको सुरक्षा जीवन भरीको’ लगायतका कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्नेमा प्रदेश प्रमुख परियारले जोड गरे ।

योजनाबद्ध विकासका लागि कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको कार्यान्वयनलाई निरन्तरता दिइ मध्यावधी समीक्षा गरि अद्यावधिक गरिनुपर्दछ । प्रभावकारी हुन नसकेका विगतका कतिपय कार्यक्रमहरुलाई समिक्षा गरी पुनरावलोकन गरिनुपर्ने भनाइ राखे ।

उनका अनुसार ‘कर्णाली प्रदेशका जनताका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य हाम्रो प्रमुख चुनौती हो । कर्णाली श्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश अस्पताल, जिल्ला अस्पताल र पालिका अस्पतालहरुमा सङ्घ र प्रदेशले गरेको लगानीका कारण यस प्रदेशका स्वास्थ्य सूचकहरुमा सकारात्मक परिवर्तनहरु देखा परेका छन् । प्रदेश सरकारले विशेषज्ञ सेवा, घुम्ती स्वास्थ्य सेवा, स्वास्थ्य शिवीरहरु, विपन्न लक्षित स्वास्थ्यसेवा कार्यक्रमहरुको विस्तार गर्दै जानु अत्यावश्यक छ ।

सार्वजनिक शिक्षा भताभुङ्ग भइ गुणस्तरहीन बन्दै जादा देशमा दुई प्रकारको शिक्षा पद्दती र जनशक्ति विकास भइ बर्गीय विभेद फराकिलो बन्दै गएको उनले बताए ।

कर्णाली प्रदेशमा गुणस्तरीय र नमुना साधारण तथा प्राविधिक शिक्षालयको निर्माण, गुणस्तरीय विद्यालय भवनहरु, आइसिटी र शैक्षिक सामग्रीहरु, सक्षम र उत्तरदायी शिक्षकहरु, भर्चुअल कक्षाका साथै विपन्न र जेहन्दार विद्यार्थीहरुलाई छात्रवृतिको व्यवस्था गर्न बजेट प्रबन्ध गर्नुपर्ने उनले बताए ।

‘शिक्षालाई काम र रोजगारसँग जोडी नमुना विद्यालयहरु निर्माण गर्न सङ्घ, दातृ निकायहरुको समेत कर्णाली प्रदेशका लागि विशेष सहयोग जुटाउन प्रदेश सरकार लागि पर्नुपर्दछ । प्रदेशमा विश्वविद्यालय शिक्षालाई गुणस्तरीय र सुविधासम्पन्न बनाउन सहयोग र सहकार्य अघि बढाइनुपर्छ’, उनले भने, ‘कर्णाली प्रदेश अपार प्राकृतिक स्रोत, जैविक विविधता र सौन्दर्यताले भरिपूर्ण प्रदेश हो । यहा तुलनात्मक लाभ र उच्च मूल्यका कृषि उपजहरुको भण्डार रहेको छ । देशकै आधा जडीबुटी उत्पादन गर्ने यो प्रदेश जडीबुटीको राजधानी हो । रारा, फोक्सुण्डो लगायत ७०० भन्दा बढी तालको क्षेत्र हो ।’

परियारले अगाडि भने, ‘कर्णाली प्रदेशमा न्यून बजेट खर्च, भौगोलिक विकटता, सुशासनको अभाव तथा विकासमा अरुचि राख्ने प्रवृती, र लामो समयसम्म एकात्मक केन्द्रीय राज्यसत्ताको उपेक्षाका कारण अविकासका समस्याहरु भोगेपनि सही ढङ्गले सड्घीयतालाई कार्यान्वयन गर्न सकिएमा कर्णालीका लागि वरदान सावित हुनेमा दुई मत छैन । पुरै कर्णाली क्षेत्रको बजेटभन्दा कुनै एक जिल्लाको बजेट बढी हुने विगतको स्थितिबाट आज हामी सङ्घ, प्रदेश र स्थानीय गरी अरबौ बजेट कर्णालीले प्राप्त गर्ने गरेको छ ।’

प्रदेश प्रमुख परियारले भने, ‘वित्तीय संघीयतामा विगतका बजेट विनियोजन भन्दा सन्तुलन देखिए पनि यसले अझै भौगोलिक विकटता, गरिबी र अविकासको चक्रलाई तोड्न सकेको छैन । कर्णाली प्रदेशलाई क्षतीपूर्ती स्वरूप संघीय बजेटमा कर्णाली र भेरी करिडोर र ठूला जलविद्युत परियोजनामा लगानी गर्न प्रदेश सरकार आवश्यक पहल गर्न प्रतिबद्ध छ । प्रशासनिक संघीयताका बारेमा केन्द्र अझै पनि अनुदार बनिरहेको अवस्था छ । प्रदेशका लागि आवश्यक कानुन नियमहरु समयमा बन्न नसक्नु, सार्वजनिक निर्माणका लागि जग्गा प्राप्तीमा रुमल्लिने अवस्था, प्रदेश प्रहरी र सुरक्षा व्यवस्थामा ढिलाइ, आरक्ष र वनका कारण अत्यावश्यक रणनीतिक सडक र उर्जा विकास अलपत्र पर्ने अवस्था जस्ता विषयहरुले कर्णाली जस्तो प्रदेशलाई वामे सर्न पनि अप्ठ्यारो परेको छ ।’

एकातर्फ कतिपय चाहिने कानुनहरु नबन्नु तथा अर्कोपट्टी खरिद ऐनका उल्झनहरुले बजेट खर्च र विकास प्रक्रियामा अनावश्यक ढिलाइ हुन पुगेको उनले चिन्ता व्यक्त गरे । यो संविधानको रक्षा गर्न तथा सङ्घीयता र गणतन्त्रको मुद्दालाई देशमा स्थापित गर्न बलिदानी र सङ्घर्षबाट आएको शक्ति नै केन्द्रीय सत्ता सञ्चालन गरिरहेको सन्दर्भमा सङ्घीय सरकारसग सहकार्यमार्फत सङ्घीयता कार्यान्वयनमा रहेका सबै उल्झन र समस्याहरुलाइ तोड्दै अगाडि बढ्न प्रदेश सरकार प्रतिबद्ध रहनुपर्ने उनले बताए ।

कालो बादलबीच पनि चाँदीको घेरा देखिन्छ भन्ने भनाइलाई मध्यनजर गर्दै कर्णालीका लागि सङ्घीयता नै उपयुक्त बाटोका रुपमा देखा परेको उनको भनाइ छ ।

आज कर्णाली प्रदेशले करिब २ अरबको मूल्यवान कृषि तथा जडीबुटीहरु निर्यात गर्न थालेको छ । आर्थिक वृद्धी रेखा या प्रदेश सडकहरु निर्माणाधीन छन् । प्रदेश राजधानीमा विस्तारै बाटोघाटो कालो पत्रे हुन थालेको छ । प्रदेश लगायत जिल्ला अस्पतालहरु बनिरहेका छन् । विद्यालय भवनहरु बनिरहेका छन् । प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माण भइरहेको छ ।

व्यवसायिक कृषिको प्रकृया शुरुवात हुन थालेको, खानेपानी र सिचाईका योजनाहरु अघि बढेको, पर्यटन पूर्वाधार र पर्यटकीय उत्पादन बन्दैछन् भने सिमीकोट, लिमी भ्याली रारा र जुम्ला जस्ता क्षेत्रहरु पर्यटकीय दिशामा पाइला चलेको परियारले उल्लेख गरे ।

‘निश्चय नै यी केही प्रयास र उपलब्धीहरु प्रयाप्त छैनन् किनकी अरु हिडेर पुग्ने स्थितिमा हामी दौडिनु पर्ने छ’, उनले भने, ‘प्रदेश सरकारले केही परियोजनाहरु र कार्यक्रमहरु तिब्रगतिका साथ सञ्चालन गरी आर्थिक वृद्धिको उडान भर्न सकेमा मात्र ‘समृद्ध कर्णाली र सुखारी कर्णालीबासी’को सोचलाई पुरा गर्न सकिने कुरामा हामी विश्वस्त छौ । ’

 


प्रतिक्रिया

2 thoughts on “कर्णाली प्रदेश प्रमुखको सम्बोधन : १० हजार रोजगारी सिर्जना गर्न विशेष कार्ययोजना बनाउनुपर्छ

  1. I wanted to take a moment to appreciate the helpfulness of this post. It clarified several doubts I had and presented the information in an organized manner. Great work!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर