दुर्गा प्रसाईंले मिटरव्याज पीडितलाई पठाएको एक ट्रक खाद्यान्न अभियन्ताले गरे फिर्ता – Nepal Press

दुर्गा प्रसाईंले मिटरव्याज पीडितलाई पठाएको एक ट्रक खाद्यान्न अभियन्ताले गरे फिर्ता

‘राजसंस्था फर्काउन हिँडेका व्यक्तिको सहयोग चाहिँदैन’

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले मिटरव्याज पीडितहरुका लागि पठाएको एक ट्रक राहत सामग्री आन्दोलनको अगुवाइ गरिरहेका अभियन्ताले फिर्ता गरेका छन् । राजसंस्था फर्काउन हिँडेका व्यक्तिको सहयोग नलिने भन्दै राहत सामग्री अस्वीकार गरिएको हो ।

पैदल हिँडाएर काठमाडौं ल्याइएका पीडितहरुलाई हिजो खुलामञ्च अगाडिको सडकमै सुताइएको थियो । उनीरुका लागि प्रसाईंले आज बिहान एक ट्रक खाद्यान्न पठाएकोमा आफूहरुले लिन अस्वीकार गरेको अभियन्ता कुमार बर्तौलाले बताए ।

उनले नेपाल प्रेससँग भने, ‘हामीले यस आन्दोलनलाई मिटरव्याज पीडितको संघर्ष भनेर भनिरहेका छौं । पीडितहरुले मधेसका सामन्तहरुले आफूहरुलाई लुटेको भनिरहेका छन् । तर, प्रसाईं राजतन्त्र फर्काउने भनेर हिँडिरहेका छन् । त्यो भएकाले हामीले लिन्नौं भन्यौं ।’

बिहान प्रसाईंका सहयोगी एक ट्रक खाद्यान्न लिएर पीडित बसेकै ठाउँमा पुगेका थिए । उनीहरुले क्यामेरासमेत लिएर आएको बर्तौलाले बताए ।

प्रसाईं अहिले बैंकको ब्याज मिनाहा गर्ने अभियानमा छन् । उनका सहयोगीहरुले सुर्खेतमा लघुवित्तका कर्मचारीलाई कालोमोसो दलेका थिए । केही समयअघि प्रसाईंले मिटर व्याज तथा लघुवित्त पीडितहरुसँग ऐक्यबद्धता जनाउन माइतीघर पुग्दा पनि अभियन्ताहरुले विरोध जनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *