राजनीतिक कार्यकर्ता र ‘अभियन्ता’ को हातमा मिटरव्याज पीडितको आन्दोलन – Nepal Press

राजनीतिक कार्यकर्ता र ‘अभियन्ता’ को हातमा मिटरव्याज पीडितको आन्दोलन

पीडितका नाममा राजनीति गर्नेहरु को को हुन् ?

काठमाडौं । रौतहट, सर्लाही, महोत्तरीलगायत जिल्लाका केही मिटरब्याज पीडितहरुलाई १२ दिन पैदल हिँडाएर अस्ति काठमाडौं खाल्डो ल्याइयो । प्रदेशदेखि स्थानीय तहमा सरकारैसरकार हुँदाहुँदै पीडितलाई सीधै काठमाडौं ल्याइनु र खुलामञ्चमा त्रिपाल टाँगेर स्थायी रुपमै राख्न खोजिनुलाई काठमाडौंका मेयर बालेन्द्र शाहले ‘शंकास्पद’ मानेका छन् ।

शाहले सीधै नभने पनि मिटरव्याज पीडितका नाममा कसैले राजनीति गर्न खोजिरहेको उनको आशंका छ । र, दुई दिनभित्र देखिएका गतिविधिले उनको आशंकालाई बलमात्र पुर्‍याउँदैन, पुष्टि नै गर्छ । मिटरव्याज पीडितको समूहमा राजनीतिक कार्यकर्ता र कथित सामाजिक अभियन्ताको घुसपैठ उदांगो भएको छ । खासमा आन्दोलनको नेतृत्व जसले गरेका छन्, उनीहरु पीडित होइनन् । आफ्नो स्वार्थको रोटी सेक्न पीडित प्रयोग गरिरहेका ‘भिजिलान्ते’ हुन् ।

महानगरलाई कुनै पूर्वजानकारी नदिइकन हिजो रातबिरात मिटरब्याज पीडितको समूहलाई खुलामञ्च लगियो । त्यही पकाउने-खाने र सुत्ने बन्दोबस्तसहित पीडितहरुलाई खुलामञ्चमा राख्ने योजना आन्दोलनका नेतृत्वकर्ताको थियो । अनिश्चितकालसम्म आन्दोलन लम्ब्याएर खुलामञ्च कब्जा गर्ने योजना बुझेर महानगरका मेयर बालेन्द्रले उनीहरुलाई रोक्न निर्देशन दिएका थिए ।

काठमाडौं ल्याइएका पीडितको संख्या ठूलो छैन । अहिले आन्दोलनमा रहेकामध्ये वास्तविक पीडित ७८ जना र बाँकी ‘भिजिलान्ते’ हुन् । यी ७८ जनालाई खुलामञ्चमा शिविर नै ठड्याएर राख्न खोजिनु शंकास्पद नै थियो । महानगरले पीडितहरुलाई शान्तिबाटिकामा बस्न अनुरोधमात्र गरेको थिएन, त्यहाँ खाने र बस्ने प्रवन्ध पनि मिलाइदिने आश्वासन दिएको थियो । तर, आन्दोलनका अगुवाहरु सहमत भएनन् । उनीहरुले मिटरव्याज पीडितलाई रातभरि खुलामञ्च अगाडि सडकमै सुत्न बाध्य पारे ।

आज अर्को दृश्य देखियो । माइतीघरमा धर्ना बसिरहेका मिटरव्याज पीडितहरुप्रति ऐक्यबद्धता जनाउन राप्रपाका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाही पुगे । तर, शाहीलाई देख्नासाथ त्यहाँ अराजक नाराहरु लागे । पीडितको भेषमा रहेको भिजिलान्ते समूहले शाहीलाई ‘राजावादी’ र सामन्तवादी संज्ञा दिँदै ‘मुर्दावाद’ को नारा लगायो ।

यथार्थ के हो भने जो वास्तविक पीडित छन्, उनीहरुलाई राजनीतिको ‘र’ पनि थाहा छैन । ज्ञानेन्द्र शाही कुन पार्टीका हुन् भन्नेमा पनि अधिकांश अनभिज्ञ छन् । तर, अगुवाहरुले ‘मुर्दावाद’ भन्न लगाएपछि उनीहरुमध्ये केहीले नबुझिकनै साथ दिए । तर, पीडितमध्येकै अलि टाठाबाठाहरुले चाहिँ यस्तो हर्कतप्रति खेद व्यक्त गरेका छन् ।

एक युवक सञ्चारकर्मीहरुसँग भन्दै थिए, ‘उहाँ कुनै राजनीतिको कुरा गर्न आउनुभएको होइन । एउटा जनप्रतिनिधिको हिसाबले हामीलाई समर्थन गर्न आउनुभएको हो । उहाँलाई यसरी भगाउनु राम्रो भएन । संसदमा जनताको आवाज बोल्ने युवा सांसदलाई लखेट्ने अभियन्ताहरुले के हाम्रो समस्या समाधान गर्ने ग्यारेन्टी लिन सक्छन् ?’

यता, ज्ञानेन्द्र शाहीविरुद्ध चर्को स्वरमा नारा लगाउने एक युवा बडो गर्वसाथ क्यामरा अघि बोलिरहेका थिए । उनी भन्दै थिए, ‘ज्ञानेन्द्र शाहीलाई हामीले लखेट्न सफल भयौं । हामीलाई उहाँ जस्तो राजावादी र संघीयताविरोधीको साथ चाहिँदैन । उहाँ हाम्रो आन्दोलनलाई हाइज्याक गर्न आउनुभएको हो ।’

यी युवकको विषयमा खोजीनीति गर्दा थाहा भयो, उनी मिटरव्याज पीडित नभएर कथित सामाजिक अभियन्ता रहेछन्, जो पहिले वैद्य माओवादीमा थिए । काठमाडौंमै बस्ने झापा घर भएका दिवस गौतम नामका यी अभियन्ता आज माइतीघरमा भएको धर्नामा टुपुल्किएर ज्ञानेन्द्र शाहीको उछितो काढे र मिडियालाई अन्तर्वार्ता दिन व्यस्त भए ।

अभियन्ताका दुई गुट

मिटरव्याज पीडितहरुलाई राजनीतिक कार्यकर्ता र अभियन्ताहरुले प्रयोग गर्न थालेको भर्खर होइन । खासमा दुईवटा गुट मिटरव्याज पीडितलाई ‘उद्धार’ गर्ने नाममा सक्रिय छन् ।

अभियन्ताको एउटा समूहले अहिले ७२ जनालाई काठमाडौं लिएर आएको हो । यो समूहमा विभिन्न टुक्रामा विभाजित कम्युनिष्ट कार्यकर्ता छन् ।

अर्को समूह चाहिँ अहिले पनि मधेसमै छ । यसमा मनोज खतिवडा, निर्घ नवीनलगायत छन् । यो समूहले निरन्तर अभियान चलाएर मधेसमा मिटरव्याज पीडितलाई प्रभावमा लिन थालेपछि दोस्रो समूहले काउन्टर रणनीति बनाएर पीडितहरुलाई काठमाडौं ल्याएको हो । पीडितलाई काठमाडौं लिएर आउने समूहमा संघर्ष दाहाल, कुमार बर्तौला, गौतम राईहरु छन् । दुई समूहबीच को बढी चर्चामा आउने भन्ने अघोषित प्रतिस्पर्धा जस्तो छ । पीडितहरु भने न्याय पाउने आशामा उनीहरुलाई पत्याइरहेका छन् ।

यो समस्यालाई गहिराइबाट बुझेका मधेसकै एक सञ्चारकर्मी भन्छन्, ‘पीडितहरुको समस्यामा अभियन्ताहरु सिर्फ खेलिरहेका छन् । पीडितलाई न्याय दिलाउनेभन्दा पनि आफ्नो राजनीतिक प्रभाव विस्तार गर्ने उनीहरुको मुख्य ध्येय देखिन्छ । को अगाडि गएर कसले पीडितहरुको स्वामित्व लिने भन्ने लडाइँका कारण पीडितहरुको आवाज बुलन्द भएको छैन । यसले अन्ततोगत्वा पीडितहरुलाई न्यायबाट धेरै टाढा लैजाला भन्ने भय पैदा भएको छ ।’

पीडितहरुलाई साथ दिन मंगलबार माइतीघर र बानेश्वरमा भेला भएका अभियन्ता र राजनीतिक कार्यकर्ताहरुको ध्यान क्यामेरातर्फ केन्द्रित थियो । हुत्तिएर माइतीघर आइपुगेका अभियन्ताहरु मिडियामा बोल्नलाई जबरजस्ती चासो देखाइरहेका थिए ।

जसले पीडितको आन्दोलन चलाउँदैछन्

राजनीतिक प्रभावबाट अलग राख्ने भनिएको आन्दोलनका अगुवाहरु नै विभिन्न राजनीतिक दलका सक्रिय कार्यकर्ता भएको पाइएको छ । अहिले आन्दोलनको अगुवाइ गरिरहेका सिरहाका मनोजकुमार पासवान माओवादी पार्टीको भ्रातृ संगठन वाईसीएलमा सक्रिय छन् । उनी मिटरब्याज पीडित संघर्ष समितिका मधेस प्रदेश संयोजक पनि हुन् । मधेसमै अभियान चलाइरहेका निर्ग नवीन माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा छन् ।

अहिले पीडित बनेर मिडियामा प्रस्तुत भइरहेका गौतम राई नेकपा एसका महासचिव घनश्याम भुसालको सचिवालयका कर्मचारी हुन् । लामो समय एमालेमा उपेक्षित भएर फरक विचार राख्दै आएका उनी घनश्यामसँगै नेकपा एसमा आबद्ध भएका थिए । मंगलबार बिहान गृह सचिवसँग वार्ता गर्नेदेखि ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी गर्दा शाहीले उल्टै प्रतिप्रश्न गरेपछि तर्किएर भाग्ने व्यक्ति गौतम नै हुन् ।

त्यस्तै विगतमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीमा क्रियाशील संघर्ष दाहालदेखि दिवस गौतमसम्मका युवाहरु मिटरव्याज पीडितको आन्दोलनमा घुसेका छन् । खासमा मिटरव्याज पीडितको पक्षमा लागिरहेका यी दुइटै गुटका अभियन्ताहरु ‘फ्रस्टेट वामपन्थी’ कार्यकर्ताहरु हुन् । उनीहरु मूलधारका कम्युनिष्ट पार्टीहरुबाट पनि सन्तुष्ट छैनन् ।

मिटरव्याज पीडितहरुको अभियानलाई बाहिरबाट हेर्दा सङ्लो देखिए पनि भित्रभित्रै भने चरम राजनीतिकरण भएको छ । मिटरव्याज पीडितहरुको नुनिलो आँसु, सुकेको ओठ र पटपटी फुटेका पैतालाहरु आ-आफ्ना स्वार्थको रोटी सेक्न प्रयोग गरिएका छन् । यसले वास्तविक पीडामा रहेका देहातका निरीह नागरिकको न्यायको आशामा तुषारापात भइरहेको छ । न्यायको आशमा उनीहरुले दिएको भरोसामाथि जुन खालको खेलबाड भइरहेको छ, त्यसले पीडितहरुको घाउमा झनै नूनचुक गर्ने निश्चित छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर