पदस्थापन रोकिँदा एआईजीले नेतृत्व गर्ने युनिट निमित्तको कमान्डमा – Nepal Press

पदस्थापन रोकिँदा एआईजीले नेतृत्व गर्ने युनिट निमित्तको कमान्डमा

काठमाडौं । सरकारले चैत ८ गते नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेका पाँचमध्ये चार जनाले अझै जिम्मेवारी पाएका छैनन् ।

बढुवा भएका आईजीपीमध्ये बसन्त कुँवर चैत १२ गते आईजीपी बने । उनले आईजीपीको कार्यभारसमेत सम्हालिसकेका छन् ।

बाँकी चार जनाको पदस्थापन भएको छैन । यसैबीच खाली रहेका अन्य चार दरबन्दीमा सोमबार बढुवा सिफारिस भएको छ । यसकारण एआईजी प्रमुख रहने ठाउँहरु डीआईजीले निमित्त सम्हालिरहेका छन् ।

नेपाल प्रहरीमा कार्य विभाग, अपराध अनुसन्धान विभाग, प्रशासन विभाग, मानव स्रोत विभाग र प्रदेश समन्वय विभाग गरी पाँच वटा विभाग तथा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), पुलिस एकेडेमी र महानगरीय प्रहरी कार्यालयसहित ८ वटा युनिटको नेतृत्व एआईजीले गर्छन् । तर, फुली लगाएको एक साता बित्न लाग्दा पनि ४ एआईजीलाई जिम्मेवारी दिइएको छैन ।

यता डीआईजीले कमान्ड गर्ने प्रदेश प्रहरी पनि अधिकांश निमित्तको भरमा छन् । गन्डकी प्रदेश र कर्णाली प्रदेशमात्र डीआईजीले चलाइरहेका छन् । एसएसपीसमेत नभएपछि सोमबार कोशी प्रदेशमा एसएसपी राजेश बास्तोला र सुदूर पश्चिम प्रदेशमा भरतबहादुर बोहरालाई निमित्त प्रमुखको जिम्मेवारी दिएर पठाइएको छ ।

नेपाल प्रहरीमा अहिले १३ डीआईजीको दरबन्दी खाली छ । ३० वर्ष सेवा अवधिका कारण निवर्तमान आईजीपी धिरजप्रताप सिंहसहित उनका भर्ना ब्याचीहरु एकैसाथ अवकाशमा गएपछि प्रहरीको माथिल्लो तह खाली भएको हो ।

मंगलबार गृह मन्त्रालयले डीआईजीहरुको काज सरुवा गरेको चर्चा चले पनि प्रहरी प्रवक्ता पोषराज पोखरेलले त्यसबारे जानकारी नभएको बताए । ‘दुई जना एसएसपीलाई प्रदेशमा पठाइएको छ । अरु थाहा भएन’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *