विष्णु पौडेलले भीम रावलबारे बोल्दा बबाल भएको हो ? यस्तो छ साँफेबगरको वास्तविकता – Nepal Press

विष्णु पौडेलले भीम रावलबारे बोल्दा बबाल भएको हो ? यस्तो छ साँफेबगरको वास्तविकता

कैलाली । नेकपा एमालेले सुरू गरेको मिसन ग्रासरुटअन्तर्गत सोमबार नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहितको टोली अछामको साँफेबगर पुग्यो ।

टोलीमा केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य तथा सह इन्चार्ज कर्ण थापा, प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारीलगायतका नेताहरू सहभागी थिए । नेता भीम रावलको गृहपालिकाको सो कार्यक्रममा उनी भने थिएनन् ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार नै नेताहरू अछाम पुगेका थिए । कार्यक्रम राम्रै भइरहेको थियो । नेताहरूले भाषण गरिरहेका थिए । चन्द्र बोहरा,हर्कबहादुर कुवर, कमल तिमिल्सेना , बचन सिंह, कृष्ण प्रसाद जैशी लगायतले मन्तव्य राखेपछि सल्लाहकार समिति सदस्य पदमराज जोशीको बोल्ने पालो आयो । उनले मार्क्सवादसँगै जोडेर भीम रावलको नाम लिए ।

उनले भने, ‘मार्क्सवाद र लेनिनवादका विषयमा म प्रश्न गर्न चाहन्छु, विधि विधान र प्रक्रिया बुझ्नु भएको छ कि छैन । पार्टी अध्यक्ष लडेको नेताले पार्टीको विधि विधान मान्नुपर्छ ।’

त्यसपछि रावल समर्थक नेता कार्यकर्ताहरू ‘कुन विधि मान्नु भएन’ भन्दै आक्रोशित बनेका थिए । केहीबेर उनीहरुले नाराबाजीसमेत गरे ।

त्यसपछि कार्यक्रम पुन सुरू गरियो । जोशीपछि केही वक्ताको नामहरू काटेर स्थायी कमिटी सदस्य कर्ण थापालाई मञ्च दिइयो । त्यो बेलासम्म माहौल शान्त भइसकेको थियो ।

थापाले पनि भीम रावलको बारेमा टिप्पणी गरे । उनले भीम रावल यो उचाइको नेता बन्नुमा पार्टीको लगानी पनि रहेको बताए । आफू पनि अछामको राजनीतिबारे जानकारी रहेको भन्दै पार्टीविरुद्ध नबोल्न सबैलाई आग्रह गरेका थिए ।

त्यसपछि मञ्चमा एमाले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टलाई बोलाइयो । भट्टले पार्टीको अवस्था र मिसन ग्रासरुटबारे सबैलाई प्रशिक्षित गरे । उनले रावलको टिप्पणी गरेनन् ।

अन्तिममा केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल मञ्चमा उभिए । उनले सुरूमा वर्तमान राजनैतिक अवस्था, बढ्दो आर्थिक संकट र एमाले भूमिकाका विषयमा प्रस्ट पारे । उनले लामै समय प्रशिक्षण दिए ।

पौडेल रावलका विषयमा नबोली रहन सकेनन् ।

‘भीम रावलको बारेमा बोलौँ कि नबोलौँ’ उनले सहभागी नेता कार्यकर्ताहरूलाई सोधे ।

‘बोल्नुहोस्’ कार्यकर्ताहरूले अनुमति दिए ।

केही बेरअघिसम्म विरोध गरिरहेका कार्यकर्ता तर्फ पनि उनले सोधे,‘म भीम रावलको बारेमा बोलौँ त ।’

‘हुन्छ’ आवाज अझै ठूलो सुनियो ।

‘राम्रा-राम्रा कुरामात्रै गर्नु’ एक महिलाले बोलिन् ।

पौडेलले फेरि कार्यकर्ताहरूको अनुमति लिए । त्यसपछि पौडेलले भीम रावलको विषयमा नेता कार्यकर्तालाई जानकारी दिए ।

‘यस विषयमा ठोस कुरा आउँछ । हरेक घटनाक्रमसँग म जानकार छु । पार्टीले केही निर्णय गर्छ’ उनले सबैलाई भने ।

यति भन्दासम्म सम्म केही बेरअघिसम्म विरोध गर्ने नेता कार्यकर्ताहरूले विरोध गरेनन् । उनले अछाममा पार्टी बलियो बनाउन आफू ६ महिनासम्म अछाममै बसेर काम गर्न तयार रहेको समेत बताए । त्यसपछि कार्यक्रम सम्पन्न गरेर पौडेललगायतका नेताहरू डडेल्धुरा फर्किए ।

कार्यक्रम सकिएपछि रावल समर्थक नेता कार्यकर्ताले पौडेललाई भेटेका थिए । उनीहरूले पुन: रावललाई पार्टीले जिम्मेवारी दिनुपर्ने बताए ।

‘ओलीसँग शत्रुतापूर्ण व्यवहार गरेका प्रचण्डलाई फेरि ओलीले प्रधानमन्त्री बनाए, पार्टी फुटाएका माधव नेपाललाई राष्ट्रपतिका लागि संवाद गरे अनि पार्टी भित्रै रहेका रावललाई किन भूमिका नदिएको’ उनीहरूले पौडेललाई प्रश्न गरेका थिए ।

पौडेलले भीम रावलको विषय पार्टीले चाँडै टुङ्गो लगाउने बताएका थिए । पौडेलको अभिव्यक्तिलाई रावल समर्थक नेता कार्यकर्ताहरूले दुई अर्थमा बुझेका छन् ।

पार्टीले जिम्मेवारी दिने वा कारबाही गर्ने भन्ने विषयमा ठोस निर्णय आउनसक्ने उनीहरुको बुझाई छ ।

त्यसो त एमाले अछाम जिल्ला कमिटीले गत चुनावमा रावलले पार्टीको पक्षमा मत नमागेको र चुनावको दुई दिनअघि गृहजिल्ला गएका उनले निकट कार्यकर्तालाई पनि विवेक प्रयोग गर्न भनेको भन्दै चुनावी समीक्षा रिपोर्ट माथि पठाएको छ ।

एक नेताले भने, ‘जिल्ला कमिटीमा समीक्षा हुँदा २०४८ देखि लगातार चुनाव लडेका नेताले यसपटक टिकट नपाएपछि पार्टीलाई असहयोग गरेको कुरा माइन्युट भएको छ । उहाँले एमालेलाई मत दिएको पनि निश्चित छैन र अरुलाई पनि आफ्नो विवेक प्रयोग गर्न भन्नुभयो । यही रिपोर्ट माथि पठाइएको छ ।’

पौडेलप्रति रावलको आक्रोश

अछाम साँफेबगरमा एमाले उपाध्यक्ष पौडेल भीम रावललाई मानमर्दन हुने ढंगले प्रस्तुत भएका थिएनन् । उनले सबैले आफ्नो कमजोरी बुझ्नुपर्ने बताएका थिए । आफ्नो उदाहरणसमेत दिँदै पौडेलले १० औँ महाधिवेशनमा रावललाई उपाध्यक्षमा बस्न आग्रह गर्दा पनि नमानेको बताएका थिए ।

पौडेलले प्रेस चौतारीले आयोजन गरेको पत्रकार सम्मेलनमा अछाम १ मा भीम रावलले प्रतिनिधिसभा सदस्यको टिकट नपाउने कारणबारे बोलेका थिए । सार्वजनिक कार्यक्रममा रावलप्रति खरो टिप्पणी नगरेका पौडेलप्रति रावलले भने सामाजिक सञ्जालमा खरो प्रतिक्रिया दिएका छन् ।

‘चैत १३ गते अछाम, साँफेबगरको एक कार्यक्रममा विष्णु पौडेलजीले मेरोविरुद्ध लगाउनुभएका आरोप निराधार छन् । ती आरोपमा कुनै तथ्य राख्न नसकी भ्रम छर्ने दुष्प्रयास गरिएको छ । उहाँको भनाई प्रतिशोध, निषेध र पूर्वाग्रहले ग्रसित छ । सबै देशभक्त इमानदारहरू सजग रहौँ’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

सोही कार्यक्रममै सहभागी अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बमले भने उक्त कार्यक्रममा एमाले उपाध्यक्ष पौडेलले रावललाई कुनै आरोप नलगाएको बताएकी छन् ।

‘त्यो कार्यक्रममा म पनि सहभागी थिएँ, विष्णु कमरेडले तपाईँलाई कुनै आरोप लगाउनुभएको छैन’ उनले रावलकै स्टाटसमा प्रतिक्रिया दिएकी छन् ।

पौडेलप्रति रावलको आक्रोश मंगलबार बिहानसम्म थियो । धनगढीको एक होटेलमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले विष्णु पौडेलले आफू विरुद्ध बोलेको भन्दै आक्रोश व्यक्त गरे । उनले त्यो बेला विरोध जनाउनेहरूप्रति आभारसमेत प्रकट गरेका थिए ।

‘विष्णुप्रसाद पौडेलले जे बोल्नु भएको त त्यो तथ्यहीन छ निराधार छ । पार्टीलाई एउटा बनाएर लैजाने बेलामा त्यहाँ गएर भड्काउपूर्णरूपमा उत्तेजनापूर्ण रूपमा बोल्नुभयो कार्यकर्ताको विरोध त्यसको परिणाम हो’, उनले भने, ‘नेताहरूले उत्तेजनापूर्ण कुरा बोल्दा कार्यकर्ताहरूले प्रतिवाद गर्ने कुरा म एकदमै स्वाभाविक ठान्छु । पार्टीको विधि पद्धति र सिद्धान्तको पक्षमा उभिने ती कार्यकर्ताहरू धन्यवादका पात्र छन् ।’

के भन्छन एमाले अछामका अध्यक्ष ?

यता एमाले अछाम जिल्ला अध्यक्ष चन्द्र बोहराले एमाले उपाध्यक्ष विष्णु पौडेल बोल्दा विरोध नभएको बताए । उनले त्यस विषयमा छानबिन हुनेसमेत जानकारी दिए ।

‘उपाध्यक्ष कमरेड बोल्दा सबैले ध्यान दिएर सुन्नु भएको थियो विरोध भएको होइन’, उनले भने ‘सल्लाहकार बोल्दा विरोध भएको हो यस विषयमा छानबिन हुन्छ ।’

यता रावलनिकट मानिने जिल्ला कमिटी सदस्य प्रकाश शाहले पूर्वसहमतिभन्दा बाहिर गएर अभिव्यक्ति दिएका कारण विवाद भएको बताए ।

उनले भने, ‘भीम रावललाई पनि कार्यक्रममा सहभागी गराउने प्रयास गरिएको थियो त्यो सम्भव नभए पनि विरोध नगर्ने सहमति भएको उनले भने विरोध नगर्ने सहमति गरेर विरोध गरेपछि नेता कार्यकर्ताहरूले त्यसको विरोध गरेका हुन् ।’

यसबीचमा गृहजिल्ला गएका रावलले पार्टी कमिटीले भन्दा पनि आफ्नै ढंगले राजनीतिक भेटघाट र भेला गरेर फर्किएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर