चीनमा  चार दिने बोआओ फोरम सुरुः निम्तो पाउँदा पनि गएनन् प्रधानमन्त्री प्रचण्ड – Nepal Press

चीनमा  चार दिने बोआओ फोरम सुरुः निम्तो पाउँदा पनि गएनन् प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । सन् २०१६ मा प्रधानमन्त्रीको रुपमा पुष्पकमल दाहाल प्रचण्ड चीनले आयोजना गर्ने एसियाली विमर्श मञ्च बोआओ फोरम फर एसियामा वक्ताको रुपमा पुगेका थिए । सन् २०१६ मार्च २४ मा उनले लिखित मन्तव्य दिएका थिए । मन्तव्यको शीर्षक ‘एसियाको नयाँ भविष्यः नयाँ गतिशीलता, नयाँ भिजन’ थियो । मन्तव्य टुङ्ग्याउनु अगाडि प्रचण्डले भनेका थिए, ‘म विश्वस्त छु कि हामीले सँगसँगै बाटो तय गरेर नै समृद्ध भविष्य, एक साझा एसियाली भविष्यतर्फ यात्रा गर्न सक्छौं ।’

सन् २०१७ को बोआओ फोरममा पनि प्रचण्ड सहभागी थिए । सन् २०१७ मार्च २५ मा उनले फोरममा मन्तव्य दिएका थिए । ‘भूमण्डलीकरण र स्वतन्त्र व्यापारः एसियाली दृष्टिकोण’ शीर्षकमा प्रचण्डले मन्तव्य दिएका थिए । उनले मन्तव्यमा भनेका थिए, ‘अझ सम्पन्न विश्व निर्माण गर्न हामीले अलगवाद होइन समावेशी, संरक्षणवाद होइन साझेदारी, पर्खाल होइन पुल, डर होइन स्वतन्त्रताको लागि पहलकदमी लिनुपर्छ ।’

एसियाली फोरममा एसियाली मुद्दामा सँगसँगै हिँड्ने, अलगवाद होइन समावेशीको पक्षमा बोआओ फोरमका दुई संस्करणमा मन्तव्य दिएका प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री भएपछि भने बोआओ फोरममा उनैले भनेको सँगसँगै हिँड्ने लाइनमा अडिग रहेनन् । उनी समावेशीको पक्षमा अडिग भएनन् । उनी नजाँदा बोआओ फोरममा नेपालको उच्चस्तरीय उपस्थिति हुन सकेन ।

उसो त प्रचण्डलाई बोआओ फोरममा उपस्थितिको लागि निम्तो नआएको होइन । नेपालमा कार्यभार लिएर आएका चिनियाँ राजदूत चेन सोङले गत फागुन १० मा प्रधानमन्त्री प्रचण्डलाई भेटेरै बोआओ फोरममा सहभागिता जनाउन निम्तो दिएका थिए । प्रचण्डका निजी सचिव रमेश मल्लले मिडियालाई सार्वजनिक रुपमा बोआओ फोरममा सहभागिताको लागि चिनियाँ राजदूतले निम्तो दिएको बताएका थिए ।

निम्तो आएको ३४औं दिनमा सुरु हुने बोआओ फोरममा प्रचण्ड सहभागी भएनन् ।

सिंगापुर, मलेसिया, स्पेनका प्रधानमन्त्री सहभागी मञ्चमा प्रचण्ड गयल

मार्च २८-३१ सम्म चीनको हैनान प्रान्तमा हुने बोआओ फोरममा ५० देशका २ हजार बढी सहभागी भएको चिनियाँ अखबार ग्लोबल टाइम्सले उल्लेख गरेको छ । फोरममा आउने शीर्ष नेताहरुमा सिंगापुरका प्रधानमन्त्री लि सिएन लोङ, मलेसियाका प्रधानमन्त्री दातुक सेरी अन्वर इब्राहिम, स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेस, आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टलिना जोर्जिभालगायत उपस्थित हुने चीनको विश्व च्यानल सीजीटीएनले जानकारी दिएको छ ।

स्विट्जरल्याण्डमा चल्ने डाभोस् तहकै एसियाली मञ्चको रुपमा चीनले विकास गरेको बोआओ फोरम फर एसिया चीनको सानो शहर बोआओको नाममा राखिएको हो । सन् २००१ मा चीनसहित २९ देश मिलेर स्थापना गरेको बोआओ फोरम फर एसियालाई एसियाको स्थापित मञ्च बनाउने चिनियाँ प्रयत्न देखिन्छ । चीन सरकारले यसको धेरै प्रवर्द्धन गरिरहेको छ । व्यापार, शिक्षा, दिगो विकासदेखि विभिन्न विकासे मुद्दामा बहस गर्ने गर्छ ।

बोआओ फोरममा प्रचण्डको अनुपस्थितिमा के भन्छन्, चिनियाँ र नेपाली विज्ञहरु ?

प्रधानमन्त्री प्रचण्डले बोआओ फोरममा सहभागिता नजनाउनुको कारण भूराजनीतिक भएको चिनियाँ विज्ञले बताएका छन् । केही समय अगाडि नेपालको चीनस्थित दूतावासले गरेको ‘चिनियाँ प्राज्ञहरुसँगको अन्तरक्रिया’ कार्यक्रममा बोल्दै प्राध्यापक झाङ सुविनले प्रचण्डको बोआओ फोरम फर एसियाको गयललाई भूराजनीतिक कारण देखाएका छन् ।

नेपाल विज्ञको पहिचान बनाएका चीनको हेबेइन विश्वविद्यालयको नेपाल अध्ययन केन्द्रका प्रमुखसमेत रहेका प्राध्यापक सुविनले दूतावासको कार्यक्रममा भनेका थिए, ‘हामीलाई जानकारी छ कि नेपाललाई चीनले आधिकारिक निमन्त्रणा पठाए पनि नेपालका प्रधानमन्त्री दाहालले बोआओ फोरम फर एसियामा सहभागिता जनाइरहेका छैनन् । त्यसको पछाडि भूराजनीतिक कारण जोडिएको छ ।’

चीनका लागि पूर्वनेपाली राजदूत टंक कार्कीले प्रधानमन्त्री प्रचण्डले चीनको बोआओ फोरम फर एसियाको निम्तो आएर पनि नजानु गल्ती भएको बताएका छन् । ‘त्यत्रो ठूलो मञ्चमा विश्वभरका कुराहरु बुझ्न सकिन्थ्यो, सिक्न सकिन्थ्यो’, कार्कीले नेपाल प्रेससँग भने, ‘नगएर राम्रो भएन । राम्रो सन्देश गएन ।’


प्रतिक्रिया

3 thoughts on “चीनमा  चार दिने बोआओ फोरम सुरुः निम्तो पाउँदा पनि गएनन् प्रधानमन्त्री प्रचण्ड

  1. भारत र अमेरिका रिसाऊछन भनेर होला तर मलाई लाग्छ नेपाल ले सन्तुलित निती का साथ फायदा लिनु सक्नुपर्छ

  2. प्रचण्डले भारतीय गुप्तचर संस्था “र” को भएर काम गर्न माओवादी नाम राखेको हुन।

Leave a Reply to दिल राज जोशी Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर