नेपालमा पर्यटनको अथाह सम्भावना छ : प्रधानमन्त्री प्रचण्ड (भिडिओ) – Nepal Press

नेपालमा पर्यटनको अथाह सम्भावना छ : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा पर्यटनको अथाह सम्भावना रहेको बताएका छन् ।

सोमबार नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले देशको प्राकृतिक एवं सांस्कृतिक सम्पदाहरुको संरक्षण र संवर्द्धन गर्दै पर्यटनको विकासका लागि उच्चस्तरको गुणस्तर भएका दक्ष जनशक्तिहरु देशका सबै क्षेत्रमा विकास गर्न एकदम जरुरी भइसकेको बताए ।

प्रधानमन्त्री प्रचण्डले संस्थामा विदेशी विद्यार्थीहरुसमेत आएर पढ्न लालायित हुने वातावरण निर्माणका पनि पहल गर्न सञ्चालक समितिलाई निर्देशनसमेत दिए ।

उनले भने, ‘यसका लागि सुरुमा सार्क र बिमस्टेकलाई लक्षित गरी त्यहाँका विद्यार्थीलाई आर्कषण गर्ने कार्यतर्फ लाग्नु उपयुक्त देखिन्छ । विदेशी विद्यार्थीहरुलाई नेपालमा ल्याएर पढाउन के कस्ता अप्ठ्याराहरु छन्, तिनीहरुको समाधान गर्न कसरी सकिन्छ भन्नेबारेमा छलफल गरी निकास निकाली अघि बढ्न निर्देशन गर्दछु ।’

आफ्नै कार्यकालमा संस्थालाई आवश्यक पर्ने ऐन संसदबाट अनुमोदन गराउन आवश्यक प्रक्रिया अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई उनले निर्देशन दिएको बताए ।

उनले भने, ‘स्वर्ण जयन्तीको अवसरमा म नाथमलाई नयाँ चुनौतीहरु र थप जिम्मेवारीका लागि तयारी रहन आग्रह गर्दछु । संघीय शासन प्रणालीअनुसार यस प्रतिष्ठानको क्षमता विस्तार गरी पर्यटन तथा होटल व्यवस्थापनको गुणस्तरीय शिक्षा तथा तालिम प्रवाह गर्नु यस प्रतिष्ठानको अबको प्रमुख जिम्मेवारी हो ।’

नेपालका ७५३ वटै स्थानीय सरकारसँग समन्वय गरी त्यहाँको पर्यटन विकासका लागि नाथमको विज्ञता प्रयोग गरी अगाडि बढ्न नाथमको कार्यक्रमलाई थप सुदृढ गर्न पनि सञ्चालक समिति र कर्मचारीहरुलाई प्रधानमन्त्री प्रचण्डले निर्देशन दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *