विद्यार्थीले काम हेरेर भाेट दिँदा पुल्चोक स्ववियुमा विराजकाे राज – Nepal Press

विद्यार्थीले काम हेरेर भाेट दिँदा पुल्चोक स्ववियुमा विराजकाे राज

काठमाडौं । गएको ५ गते भएको स्ववियु निर्वाचनमा पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका विराज अर्याल निर्वाचत भए । २३ सय बढी खसेको मतमा उनले ६ सय ३५ मत ल्याएर चुनाव जितेका हुन् ।

पुल्चोकका विद्यार्थीले अर्याललाई निर्वाचित गर्नुको एकै कारण हो, विगतमा उनले क्याम्पसमा गरेका कामहरू । क्याम्पसमा विद्यार्थीहरूमाझ उनको लोकप्रियता पनि उनी निर्वाचित हुनुको अर्को पाटो थियो । तर, अर्याल भने आफूले स्ववियु सभापतिमा निर्वाचित हुनकै लागि क्याम्पसमा सक्रिय रहेर विद्यार्थीको हकहितका लागि काम नगरेको बताउँछन् ।

उनी भन्छन्, ‘स्ववियु जित्नका लागि मैले काम गरेको थिइनँ । तर, परिस्थितिले उम्मेदवार बनायो । विद्यार्थी साथीहरूले मलाई भोट दिएर जिताउनुभयो ।’

अर्याल सानैदेखि शैक्षिक वातावरणमा हुर्किए । उनका मातापिता दुवै शैक्षिक क्षेत्रमा थिए । त्यसकारणले गर्दा पनि उनको घरको वातावरण शैक्षिक नै रह्यो । सँगै संस्था कसरी चलाउने, एउटा संस्था कसरी बन्छ भनेर उनले घरबाटै सिके । किनभने उनका मातापिता नै शैक्षिक संस्था चलाउने बारे घर छलफल गरिरहन्थे ।

घरको वातावरणले पनि आफूमा नेतृत्व क्षमताको विकास गरेको अर्यालको भनाइ छ । उनी भन्छन्, ‘पुल्चोक क्याम्पसमा आएपछि केही राम्रो गर्न सकिन्छ कि भनेर केही कामहरु गर्ने प्रयास गरेँ । त्यही प्रयास नै मेरो जितको आधार बन्यो ।’

अर्याल सिभिल इन्जिनियरिङ गर्नका लागि पुल्चोक क्याम्पसमा भर्ना भएका थिए । इन्जिनियरिङ सकाएर त्यही क्षेत्रमा करिअर बनाउनेबारे सोचेका अर्यालले राजनीति गर्छु भनेर सोचेकै थिएनन् । झनै क्याम्पसमा विद्यार्थी राजनीति गर्नेबारे उनले चासो नै दिएका थिएनन् । तर, भर्ना भएपछि केही राम्रो काम गर्दै विद्यार्थीहरुको समग्र आवाज बन्दै जाँदा स्ववियु सभापतिमै निर्वाचित भए ।

गुल्मी घर भएका अर्यालको पारिवारिक कनेक्सन राजनीतिसँग थियो । राजनीतिक कनेक्सन भए पनि उनको परिवार प्रत्यक्ष राजनीतिमा निष्क्रिय थियो । एमाले नेता गोकर्ण विष्टको क्षेत्र गुल्मीमा अर्यालको केही एमाले नेताहरुसँग चिनजान भयो । तर, उक्त चिनजनालाई चिनजानमै सीमित गर्दै सिभिल इन्जिनियर बन्न पुल्चोक छिरेका अर्याल विद्यार्थी राजनीतिको घेराभित्र परिहाले ।

अखिलको सदस्य भए । अखिलका सिनियर विद्यार्थी नेताहरुको संगतमा बसे । र, विद्यार्थी राजनीतिमा सक्रिय भए । गएको फागुनमा भएको अखिलको महाधिवेसनमा अर्याल महाधिवेसन प्रतिनिधि बने । उनी क्याम्पस एकाइ कमिटीको अध्यक्ष पनि थिए । तर, उनी केन्द्रीय सदस्यका लागि उम्मेदवार बन्न भने चाहेनन् ।

उनको प्रष्टीकरण छ, ‘यदि सक्रिय राजनीति गर्ने योजना थियो भने केन्द्रिय सदस्य उठ्ने थिएँ । तर, उठिनँ ।’

अर्यालको सक्रिय विद्यार्थी राजनीति नगर्ने भन्ने ठोस योजना चाहिँ छैन । तर, सबै कुरा परिस्थितिको जिम्मा दिन्छन् उनी । अहिले उनले देखेको भविष्य भनेको इन्जिनियरिङ पेशा नै हो । यदि जिम्मेवारी आइहाल्यो भने चाहिँ पछाडि नहट्ने योजनामा छन् ।

पुल्चोकमै मास्टर्स गर्ने योजनामा रहेका अर्याल अहिलेको मूलधारको पार्टी एमालेको विद्यार्थी संगठनमार्फत् सभापतिमा निर्वाचित भए । दुई जना स्वतन्त्र उम्मेदवार नै उठेका थिए । तर, उनले जिते । तैपनि उनको पुस्ता भने अहिलेको मूलधारको पार्टीप्रति प्रश्न र वितृष्णा बोकेर हिँडिरहेको छ ।

मूलधारको पार्टीसँग आफ्नो पुस्ताको गुनासो हुनुको कारणबारे बोल्छन् अर्याल, ‘मूलधारको पार्टीका नेताहरुले बोलेका कुराहरु पूरा गरिदिएका छैनन् । नेता भएपछि बोलेको कुरा पूरा गर्नुपर्छ । तर, बोली पूरा नभएपछि हामी युवामा स्वाभाविकरूपमा वितृष्णा छ । त्यो वितृष्णा गलत पनि होइन । मेरो पनि नेताहरूलाई प्रश्न छ । तैपनि म एमालेकै विद्यार्थी संगठनमा काम गर्दै गर्दा पनि मलाई नै साथीहरूले निर्वाचित गर्नुभयो । त्यस हिसाबले पार्टी होइन, काम गर्ने मान्छेलाई मतदाताले छनोट गर्दोरहेछ भन्ने चाहिँ प्रमाणित गरिदिएको छ ।’


प्रतिक्रिया

One thought on “विद्यार्थीले काम हेरेर भाेट दिँदा पुल्चोक स्ववियुमा विराजकाे राज

  1. आदरणीय कमरेड बिराज अर्याल.. तिमी को हौ र जे हौ त्यसमा मलाई गर्व छ। एक प्रतिनिधि हुनु अधिक को लागी पर्याप्त छ तर तपाईले प्रतिनिधित्व गर्ने व्यक्तिहरु को बारे मा विद्यार्थीहरु को लागी हरेक सम्भावित सम्भाव्यता पछि एक व्यक्ति हुन को लागी प्रमाणित गर्नुभयो। धन्यवाद र आगामी दिनहरुमा सफल कार्यकालको शुभकामना ।

Leave a Reply to Anup Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर