बैंकको १८ करोड हिनामिनामा मुछिएका कांग्रेस नेतालाई तत्काल पक्राउ गर्न आईजीपीको निर्देशन – Nepal Press

बैंकको १८ करोड हिनामिनामा मुछिएका कांग्रेस नेतालाई तत्काल पक्राउ गर्न आईजीपीको निर्देशन

काठमाडौं । तत्कालिन वेष्टर्न डेभलपमेन्ट बैंक नारायणपुर शाखाबाट १८ करोड रूपैयाँ हिनामिना मुद्दामा फरार यज्ञ वलीलाई पक्राउ गर्न प्रहरीले आनाकानी गरेको समाचार सञ्चारमाध्यममा समाचार आएपछि प्रहरी प्रधान कार्यालय काठमाडौंले चासो देखाएको छ ।

नेपाल प्रेसमा बैंकको १८ करोड हिनामिनामा मुछिएका अभियुक्त कांग्रेस नेतालाई एसपी र डीएसपीकै संरक्षण  गरेकाेसमाचार प्रकाशन भएको थियो ।

प्रहरी प्रधान कार्यालय काठमाडौंका केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलले नव नियुक्त आईजीपी वसन्तबहादुर कुवरले फरार अभियुक्तलाई प्रहरीबाट भइरहेको संरक्षण बारे चासो प्रकट गरेको र तत्काल प्रहरी परीचालन गरेर नियन्त्रणमा लिएर अदालतमा बुझाउन निर्देशन दिइसकेको बताए ।

उनले घटना वारे प्रहरी प्रधान कार्यालयबाट चासो प्रकट गर्दे एसपी वलि र डिएसपी गौतमलाई तत्काल जवाफ दिन लिखितरुपमा पत्राचार गरिएको पनि जानकारी दिए । यसअघि पनि स्कुटर चोरी प्रकरणलाई चोरलाई मुद्दा नचलाई छाडेको घटना बारेमा जानकार रहेको र प्रतिवेदन हेडक्वाटर आइसकेकाले त्यसमा संलग्नलाई कारवाही हुने पनि उनले बताए ।

कांग्रेस दाङका पूर्वजिल्ला सदस्यसमेत रहेका वलीलाई बैंक हिनामिना प्रकरणमा म्याद तामेल गर्दा पनि म्याद गुजारेर बसेको अदालतले ठहर गरेको थियो ।

दाङ कांग्रेसको उपसभापतिमा प्रतिस्पर्धा गरेका उनलाई प्रमुख एसपी वीरबहादुर वलीले संरक्षण गर्दै आएको आरोप लागेको छ ।एसपीको पावर देखाउँदै उनी मुद्दा मिलाउन जिप्रका दाङसहित जिल्ला सरकारी वकिल कार्यालय धाउने गरेका छन् ।

उच्च अदालत तुलसीपुरका शाखा अधिकृत गोकर्ण वलीले मुद्दा परेका वली हाजिर नभएकाले मुलतबीमा राखिएको र प्रहरीले वलीलाई पक्राउ गरेर अदालतमा ल्याए प्रक्रिया अनुसार अघि बढ्ने बताए ।

आफैँ हाजिर भए राम्रो र नभएमा पक्राउ गरेर बुझाउनसक्ने प्रावधान रहेको उनको भनाइ छ ।एसपी वली र डीएसपी राजन गौतमले पक्राउ गर्न चासो नदेखाएको भन्दै आलोचना बढेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *