रमेश प्रसाईं भन्छन्- म उपचुनावमा उठ्ने कुरा भएको छैन – Nepal Press

रमेश प्रसाईं भन्छन्- म उपचुनावमा उठ्ने कुरा भएको छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन क्षेत्रमा हुने उपचुनावमा कसलाई उठाउने भनेर निधो गरिसकेको छैन । तर, सामाजिक सञ्जालमा भने रमेश प्रसाईं र सागर ढकालको नाम एकाएक चर्चामा आएको छ ।

चितवन २ सहित तनहुँ १ र बारा २ मा आगामी वैशाख १० गते उपचुनाव हुँदैछ । चितवन २ मा सभापति रवि लामिछानेले नै उम्मेदवारी दिँदैछन् । तर, बाँकी दुई क्षेत्रमा उम्मेदवार टुंगो लागेको छैन । रास्वपा विधानअनुसार कुनै पनि निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्न पहिले प्राइमरी इलेक्सन भएर जानुपर्छ । यदि सम्बन्धित निर्वाचन क्षेत्रमा तत्कालीन मतदाताको संख्यामध्ये ०.१ प्रतिशत पार्टी सदस्य छन् भने उनीहरुले भोट गरेर छानेको व्यक्ति उम्मेदवार बन्नेछन् । तर, त्यति सदस्य नभएको अवस्थामा केन्द्रीय समितिले निर्णय गर्छ ।

एकाएक सामाजिक सञ्जालमा आफ्नो नाम चर्चामा आएको देखेर प्रसाईं भने अचम्भित छन् । उपचुनावमा कसलाई उम्मेदवार बनाउने भनेर पार्टीले छलफल नै नगरेको उनले बताए ।

‘म आकांक्षी पनि होइन र पार्टीले उम्मेदवारबारे निर्णय त के छलफलसमेत गरेको छैन’, प्रसाईंले भने ।

यदि पार्टीले उम्मेदवार बन्न प्रस्ताव गर्‍यो भने तयार हुनुहुन्छ त ? भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘मेरो व्यक्तिगत मान्यता र पार्टीको समेत नीति सकेसम्म कतै पनि टुरिस्ट उम्मेदवार नउठाउने । अपवादको स्थितिमा बाहेक हामी सोही निर्वाचन क्षेत्रका व्यक्तिलाई नै उम्मेदवार बनाउँछौं ।’

पार्टीका एक पदाधिकारीले पनि उपचुनावमा कसलाई उम्मेदवार बनाउने भनेर छलफल भइनसकेको बताए ।

उनले भने, ‘उहाँको नाम हामीले चर्चामा ल्याएको होइन । सामाजिक सञ्जालमा रमेश प्रसाईंजीको नाम आएपछि भने हामी पनि सोच्न बाध्य भएका छौं । उम्मेदवार बनाउने तयारी भएको होइन । तर, यति धेरै चर्चा भएपछि यसलाई सुझावका रुपमा लिएर पक्कै छलफल हुन्छ ।’

तनहुँबाट उठ्ने चर्चा गरिएका सागर ढकालको भने कुनै सम्भावना नरहेको ती पदाधिकारीले बताए ।

‘न उहाँले इच्छा जाहेर गर्नुभएको छ न त हामीले प्रस्ताव गरेका छौं’, उनले भने, ‘उहाँ त अहिले अफ्रिकातिर हुनुहुन्छ ।’

रास्वपाले आउँदो १८ गते तीनवटै उपचुनावका उम्मेदवारहरु टुंग्याउने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर