तनहुँ १ मा कांग्रेसका एक दर्जन आकांक्षी – Nepal Press

तनहुँ १ मा कांग्रेसका एक दर्जन आकांक्षी

पोखरा । तनहुँ–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको उक्त क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन मिति तोकिएको छ ।

मिति नजिकिएसँगै तनहुँमा चुनावी चहलपहल बढेको छ । दलहरू उम्मेदवार छान्न आन्तरिक छलफलमा लागेका छन् । नेपाली कांग्रेसले सो क्षेत्रको उपनिर्वाचनमा उम्मेदवार बन्न आकांक्षीको निवेदन माग गरेको थियो ।

नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ क्षेत्रीय समितिले निवेदन माग गरेकामा १२ जनाले निवेदन दिएका छन् । उम्मेदवार हुन पूर्व मन्त्रीदेखि संविधानसभा सदस्यसम्मले निवेदन दिएका छन् ।

पूर्व प्रदेश मन्त्री डोवाटे विश्वकर्मा, केन्द्रीय सदस्य गोविन्द भट्टराई, संविधानसभा सदस्य रामचन्द्र पोख्रेल, पूर्व सभापति रघुनाथ पौडेल, महाधिवेशन प्रतिनिधि रामचन्द्र अधिकारी, दीपक भट्टराई, लक्ष्मी आचार्य र विष्णुबहादुर पन्तले उम्मेदवार बन्न निवेदन दिएका छन् ।

जिल्ला उपसभापति देवकुमार श्रेष्ठ, पूर्व सचिव समुन्द्र गोदार, पूर्व प्रदेश सांसद सरिता गुरुङ, पूर्व समन्वय समिति सदस्य अर्जुनबहादुर अधिकारी र क्षेत्रीय सभापति श्याम मौराती पनि उपनिर्वाचनमा कांग्रेसबाट उम्मेदवार बन्न निवेदन दिएका छन् ।

चैत १५ गतेभित्र क्षेत्रीय कार्यसमितिले उम्मेदवारको नामावली प्रदेश समितिसमक्ष सिफारिस गर्नेछ ।

तनहुँ १ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि चैत २० गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।

चैत १८ गते निर्वाचन आयोगको कार्यालय स्थापना हुने र चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी निर्वाचन चिन्ह प्रदान गर्ने आयोगको तालिका छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर