साढे ५ लाख ‘भेटी’सहित दाङमा पल शाहलाई नागरिक अभिनन्दन – Nepal Press

साढे ५ लाख ‘भेटी’सहित दाङमा पल शाहलाई नागरिक अभिनन्दन

पञ्चेबाजा बजाएर स्वागत, पललाई छुन युवायुवतीको होडबाजी

काठमाडौं । बलात्कारको मुद्दामा सफाइ पाएपछि पहिलो पटक आफ्नो गृह जिल्ला पुगेका अभिनेता पल शाहलाई भव्य स्वागत र नागरिक अभिनन्दन गरिएको छ । स्वागत कार्यक्रमको तामझाम यस्तो थियो, मानौँ पल जेलबाट छुटेर होइन कि चुनाव जितेर आएका नेता हुन् ।

दाङको घोराहीस्थित एउटा विशाल मैदानमा आयोजित घोराही ‘वृहत् सांस्कृतिक कार्यक्रम’ मा पललाई हेर्न दशौं हजारको भिड थियो । गलाभरि माला भिरेर दुलहा झैँ सिंगारिएका थिए पल । कार्यक्रममा उनलाई ‘सुपरस्टार’ र ‘रियल हिरो’ भनेर सम्बोधन गरिएको थियो । उनलाई दुईवटा सम्मानपत्रसहित नागरिक अभिनन्दन पनि गरियो । अभिनन्दन पत्रमा पलले चलचित्र क्षेत्रमा योगदान दिएर जिल्लाको नाम चम्काएको उल्लेख छ ।

कार्यक्रममा पलले आफू जेल बस्दाको अनुभूति सेयर गरेका थिए । ‘जेलमा छँदा मलाई अब भित्रै सड्छु कि भन्ने डर थियो’ पलले सुनाए, ‘तर तपाईँहरूको आशीर्वादले निस्किन सफल भएँ ।’

एक वर्ष जेल जीवन बिताउँदा आफूलाई परिवारको अभाव भने महसुस नभएको पलले बताए ।

‘देशका कुना कुनाबाट आमाबुवा आउनुहुन्थ्यो । तपाईँ हाम्रो छोरा हो भनेर आशीर्वाद दिनुहुन्थ्यो । रुनु हुन्थ्यो । मेरो लागि प्रार्थना गरिदिने सबै नेपाली आमा र बुवालाई कोटी कोटी प्रणाम ।’ यति भनेर पलले मञ्चमा शिर राखेर ढोगेका थिए ।

फ्यानहरूले मन्दिर, चर्च, मस्जिद र गुम्बाहरूमा आफ्नो फोटो राखेर रिहाइको लागि प्रार्थना गरिएको आफूले सुनेको पले बताए । आफूले पाएको मायालाई खेर जान नदिने प्रतिबद्धता उनले व्यक्त गरे ।

कार्यक्रममा उद्घोषकले दर्शकलाई १० पटक ‘पल शाह आइ लभ यू’ भन्न लगाएका थिए । अनि एकजना ‘भाग्यशाली’ दर्शकलाई पलसँग सेल्फी खिच्ने र टिकटक बनाउने ‘अवसर’ पनि प्रदान गरिएको थियो । पलले अभिनय गरेको पहिलो म्युजिक भिडियो कुन हो भन्ने प्रश्नको सही जवाफ दिएर एक युवतीले सो ‘अवसर’ पाइन् ।

कार्यक्रममा सहभागी हुन पल शाह हिजो आफ्नी बहिनी रोशनीसहित काठमाडौंबाट घोराही पुगेका थिए । घोराहीको भिङ्ग्रेली रिसोर्टमा बास बसेका पललाई भोलिपल्ट त्यहाँबाट लैजान सानो तामझाम गरिएन । पल चढ्ने गाडीलाई बिहेमा दुलहा चढ्ने जसरी सिंगारिएको थियो । पल निस्किनु अगावै रिसोर्टबाहिर पञ्चैबाजासहित सयौँको भिड जम्मा भइसकेको थियो । पल गाडीमा पसेपछि हुटबाट उठेर सबैलाई अभिवादन गरेका थिए । युवायुवतीहरुबीच उनलाई स्पर्श गर्ने र हात मिलाउन होड चलेको थियो ।

त्यसो त पललाई कार्यक्रम स्थलमा रथ वा घोडामा चढाएर लैजाने तयारी गरिएको थियो । तर, पछि गाडीमै लगियो ।

तीन दिन चलेको घोराही सांस्कृतिक कार्यक्रममा पहिलो दिन पशुपति शर्मा र दोस्रो दिन प्रमोद खरेल उपस्थित भएका थिए । तेस्रो दिनमा पल शाहलाई लगिएको हो ।

कार्यक्रममा पल शाह कुनै प्रस्तुति दिन आएका थिएनन् । उनले गृह जिल्लाका जनतालाई धन्यवाद दिन मात्रै आफू आएको बताएका थिए । तर, उनलाई सो कार्यक्रममा ल्याउन आयोजकले साढे पाँच लाख रुपैयाँ पारिश्रमिक दिएको बुझिएको छ । साथै कार्यक्रम सशुल्क थियो । पल शाहलाई हेर्न दुई सय रुपैयाँको टिकट काट्नुपर्ने व्यवस्था गरिएको थियो ।


प्रतिक्रिया

One thought on “साढे ५ लाख ‘भेटी’सहित दाङमा पल शाहलाई नागरिक अभिनन्दन

Leave a Reply

Your email address will not be published. Required fields are marked *