भूपू गोर्खा सैनिक रक्ष राईको ‘युद्ध सौन्दर्य चिन्तन’ माथि विमर्श – Nepal Press

भूपू गोर्खा सैनिक रक्ष राईको ‘युद्ध सौन्दर्य चिन्तन’ माथि विमर्श

काठमाडौं । कवि, कथाकार तथा डायास्पोरिक साहित्य सिद्धान्त र नवचेतनाग्रहका प्रवर्तक रक्ष राईले ‘युद्ध सौन्दर्य चिन्तन’ नामक दर्शन तथा चिन्तनमा आधारित अर्को वृहत् अनुसन्धानमूलक कृति प्रकाशनमा ल्याएका छन् । चिन्तक राईको उक्त कृतिमाथि शनिबार काठमाडौंमा विशेष कृति–विमर्श कार्यक्रम आयोजना गरियो ।

साहित्यकार तथा समालोचक प्रा. डा. गोविन्दराज भट्टराईले ‘युद्ध सौन्दर्य चिन्तन’ विशिष्ट र महत्वपूर्ण ग्रन्थका रूपमा आएको बताए । उनले लेखक राईले युद्धलाई सकारात्मक दृष्टिकोणबाट हेरेको उल्लेख गर्दै नेपाली सेनाका सबै कार्यालयका पुस्तकालयमा ‘युद्ध सौन्दर्य चिन्तन’ राखिनुपर्ने विचार व्यक्त गरे ।

यसैगरी प्रा. डा. विष्ण एस राईले अहिलेसम्म नेपाली वाङ्मयमा यसप्रकारको कृति नआएको उल्लेख गर्दै कृतिकार राईले नयाँ र महत्वपूर्ण काम गरेको बताए ।

दर्शनाशास्त्री तथा संस्कृतिविद् डा. भक्त राईले चिन्तक रक्ष राईको यस ग्रन्थमा दर्शन पाइने बताए । उनले युद्ध विध्वंशमात्रै नभएर सृजना पनि भएको उल्लेख गरे । उनले नेपाली वाङ्मयका क्षेत्रमा राईको ग्रन्थ ठूलो उपलब्धि भएको बताए ।

नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी सुरेश शर्माले युद्ध कुरुपमात्रै नभएर सुन्दर पनि हुन्छ भन्ने कुरा ग्रन्थले बोलेको बताए । उनले नेपाली वाङ्मय यसप्रकारको पुस्तक अहिलेसम्म आफूले नपढेको भन्दै पुस्तक अत्यन्तै महत्वपूर्ण रहेको बताए ।

समालोचक अनिता पन्थीले रक्ष राईको यस ग्रन्थ नयाँ खोज, नयाँ सोच, विचार, चिन्तन र दर्शनले युक्त भएको बताइन् ।

कृतिकार राईले वाङ्मयका क्षेत्रमा नयाँ नयाँ खोज तथा अनुसन्धान गर्दै जाँदा ‘युद्ध सौन्दर्य चिन्तन’ नामक ग्रन्थ तयार भएको बताए । उनले करिब एक दशकको खोज, अध्धयन तथा अनुसन्धान र लेखनबाट ग्रन्थ तयार भएको बताए ।

राईको उक्त ग्रन्थ गोर्खा बुक्सले छापेको हो । युद्ध सौन्दर्यसम्बन्धी खोज, अनुसन्धान र चिन्तन गर्न चाहनेहरूका लागि राईको उक्त ग्रन्थ महत्वपूर्ण सामग्रीका रूपमा आएको छ । पुस्तक रत्न पुस्तक भण्डार र गोदावरी बुक हाउस बागबजारमा पाइन्छ ।

ब्रिटिस गोर्खा सैन्य सेवाबाट सेवानिवृत्त राईका यसअघि देश दुःखेको छ, सालिक उभिएर गोर्खाली, पोयट इन किलिङ जोन (अंग्रेजी) कवितासंग्रह, सहिदकी आमाको लास, बालुवामा अर्को नेपाल र पल्टनेको फोटो कथासंग्रह प्रकाशित छन् । यसका साथै मिजास तेम्बेसँगको सहलेखनमा नवचेतनाग्रह र डायास्पोरा सिद्वान्तः रचना र समालोचना नामक ग्रन्थ प्रकाशित छन् । हाल बेलायतको वेल्समा बस्दै आएका राईको जन्म खोटाङको बुइपामा भएको हो ।

‘मानव सभ्यताको दर्पण’का रूपमा प्रस्तुत गरिएको ग्रन्थमा सैन्य तथा युद्ध परिभाषा, सैन्य विज्ञान, सैन्य समाज विज्ञान, युद्ध विज्ञान, युद्ध कला र युद्ध सौन्दर्य चिन्तन गरी ६ अध्याय रहेका छन् ।

६ सय छपन्न पृष्ठको पुस्तकको मूल्य एक हजार रहेको छ । कवि तथा प्राज्ञ शशी लुमुम्बूले सहजीकरण गरेको कार्यक्रम नेपाली वाङ्मय परिषद्ले आयोजना गरेको थियो ।


प्रतिक्रिया

One thought on “भूपू गोर्खा सैनिक रक्ष राईको ‘युद्ध सौन्दर्य चिन्तन’ माथि विमर्श

  1. भान्जालाई धेरै धैरै बधाई तथा शुभ कामना छ ।

Leave a Reply to भीम राई Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर