बैंकको १८ करोड हिनामिनामा मुछिएका अभियुक्त कांग्रेस नेतालाई एसपी र डीएसपीकै संरक्षण – Nepal Press

बैंकको १८ करोड हिनामिनामा मुछिएका अभियुक्त कांग्रेस नेतालाई एसपी र डीएसपीकै संरक्षण

तुलसीपुर । तत्कालीन वेष्टर्न डेभलपमेन्ट बैंक नारायणपुर शाखाबाट १८ करोड रूपैयाँ हिनामिना मुद्दामा फरार यज्ञ वलीलाई पक्राउ गर्न प्रहरीले चासो नदेखाएकोमा आलोचना बढेको छ ।

कांग्रेस दाङका पूर्वजिल्ला सदस्यसमेत रहेका वलीलाई बैंक हिनामिना प्रकरणमा म्याद तामेल गर्दा पनि म्याद गुजारेर बसेको अदालतले ठहर गरेको हो ।

दाङ कांग्रेसको उपसभापतिमा प्रतिस्पर्धा गरेका उनलाई प्रमुख एसपी वीरबहादुर वलीले संरक्षण गर्दै आएको आरोप छ ।

एसपीको पावर देखाउँदै उनी मुद्दा मिलाउन जिप्रका दाङसहित जिल्ला सरकारी वकिल कार्यालय धाउने गरेका छन् ।

उच्च अदालत तुलसीपुरका शाखा अधिकृत गोकर्ण वलीले मुद्दा परेका वली हाजिर नभएकाले मुलतबीमा राखिएको र प्रहरीले वलीलाई पक्राउ गरेर अदालतमा ल्याए प्रक्रिया अनुसार अघि बढ्ने बताए ।

आफैँ हाजिर भए राम्रो र नभएमा पक्राउ गरेर बुझाउनसक्ने प्रावधान रहेको उनको भनाई छ ।

दुई वर्षसम्म अभियुक्त आफैँ उपस्थित नभए अदालतले आफैँ उनीहरूविरुद्ध फैसला सुनाउन सक्ने अदालतले जनाएको छ ।

एसपी वली र डीएसपी राजन गौतमले पक्राउ गर्न चासो नदेखाएको भन्दै आलोचना बढेको छ । बैंक हिनामिनामा संलग्न अभियुक्तमध्ये बैंक सञ्चालक, सीईओ र सहायक सीईओसहित अधिकांशलाई अदालतले धरौटीमा छाडेको छ । वेष्टर्न बैंक देव विकास हुँदै अहिले कुमारी बैंकमा मर्ज भइसकेको छ ।

बैंक घोटालामा संलग्नमध्ये बैंक सञ्चालक, सीईओलगायतको सम्पत्ति छानबिन गर्न मागसहित सम्पत्ति शुद्धीकरण विभागमा मुद्दासमेत परेको छ ।

१२ लाख धरौटीमा छुटेर मुद्दा खेपिरहेकाहरूमा बैंक सञ्चालक समितिका अध्यक्ष ओमभक्त बुढाथोकी, बैँक सञ्चालक समितिका सदस्यहरू घोराही रतनपुरका खड्ग बुढाथोकी, अर्जुन बुढाथोकी, निर्मल देवकोटा, बेगमबहादुर भण्डारी, शेषमणि गौतमलाई सफाइ दियो ।

त्यस्तै बैंकका सीइई खिमबहादुर डिसीलाई पनि सफाइ दिइसकिएको छ । बैंक सञ्चालक सीईओ, सहायक सीईओलाई सफाइ दिएपछि सरकारी वकिल कार्यालयले थुनेर कारबाही गर्नुपर्नेलाई सफाइ दिएको भन्दै उच्चको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर