कपिलवस्तु पुगेर ओलीले भने- दशमुखे गठबन्धनले देशलाई तहसनहस बनाउँछन् – Nepal Press

कपिलवस्तु पुगेर ओलीले भने- दशमुखे गठबन्धनले देशलाई तहसनहस बनाउँछन्

रुपन्देही । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दशतिर फर्किएका दशमुखे गठबन्धनले देशलाई आर्थिक संटकतर्फ धकेलेको बताएका छन् ।

देशलाई अझै बढी तहसनहस हुन नदिन एमालेलाई अझै बलियो शक्ति बनाउनुपर्ने गरी जुट्न नेता कार्यकर्तालाई उनले निर्देशन समेत दिएका छन् ।

एमालेको सरकारका पालामा शुभारम्भ गरेका राष्ट्रिय गौरवका योजना अहिलेको सरकारले रोक्न थालिसकेको उनको आरोप थियो ।

कपिलवस्तुमा शनिवार आयोजित मिसन ग्रासरुढ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेप्रति चौतर्फी घेराबन्दी, हमला भएको दाबी गर्दै आफ्नो पार्टी सरकारमा हुँदा थालनी गरेका राष्ट्रिय गौरवका योजना कार्यान्वयनका निम्ति वडादेखि प्रतिनिधि सभासम्म मिसन एकाउन्न प्रतिशत निर्वाचित हुनुपर्ने गरी संगठन निर्माणमा लाग्न आग्रह गरे ।

‘देशको बलियो शक्ति बनेको उनीहरूलाई सह्य भएन, हामी विदेशीको इशारामा नचलेको उनीहरूलाई मन परेन, हामीले विकास र समृद्धिका योजना बनाएको उनीहरूलाई पच्दै पचेन, अनि अनेकन् तिकडम चालेर दशमुखे गठबन्धन बनाएका छन्, उनीहरूकै निर्वाहका लागि बनेको हो, नेपाल र नेपालीका लागि होइन’ ओलीको आरोप थियो ।

अध्यक्ष ओलीले नेकपा एमाले वैचारिक, संगठनात्मक, समृद्ध, सम्पन्न समाज बनाउने र देशलाई गरिबीतर्फ धकेल्नेहरू बीचको लडाई लडिरहेको बताए ।

उनले भने, ‘देश विकास देख्न नसक्ने प्यादाहरू जुटेका छन्, दशतिर मुख फर्केकाहरू कसरी आफ्नो स्रोत जुटाउन सकिन्छ भनेर लागेका छन्, उनीहरूलाई विकासका योजना के हुन्, कसरी देशलाई समृद्ध बनाउन सकिन्छ भन्ने सोच नै छैन ।’

पूर्व प्रधानमन्त्री ओलीले आफ्नो सरकारका पालामा हुलाकी सडक, मदन भण्डारी सडक, रेल वे, अपर तामाकोसी, मेलम्ची खानेपानी, तुइन समाप्त पार्ने जस्ता महत्त्वपूर्ण अभियानलाई कार्यान्वयन गर्दै देशको आर्थिक वृद्धिदर ७ प्रतिशत बढी भएको बताए ।

ओलीले आफूहरूको पालामा युवा विदेश जाने क्रम १८ प्रतिशतले न्यून रहेको बताउँदै नागरिकलाई समान अधिकार, सामाजिक न्यायसहितको समानता चाहेको र समाजलाई सदाचारयुक्त, सुशासनयुक्त समाज निर्माण गर्दै देशको स्वाधीनता, स्वतन्त्रता, भूमिको रक्षा गर्न, देशको स्वाभिमान र गौरव बढाउन, बलियो राष्ट्र बनाउन नेकपा एमालेको नेपाली जनताको पार्टी एमालेको बलियो संगठन आवश्यक रहेको चर्चा गरे ।

पूर्व प्रधानमन्त्री ओलीले पार्टी कार्यकर्तालाई स्वार्थमा केन्द्रित नभई, समाजको नमुना योग्य, आदर्श नागरिक बन्न आग्रह गर्दै पार्टीको उद्देश्य प्राप्ति गर्ने काममा लाग्नुपर्ने कार्यकर्तालाई सुझाए ।

नेकपा एमालेले देशब्यापी रूपमा सञ्चालन गरेको मिसन ग्रासरुट पार्टी सुदृढीकरण तथा विस्तार अभियान अन्तर्गत जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमले अब पार्टीलाई थप सुदृढ र क्रियाशील बनाउनुपर्ने बताए ।

‘एमालेको पहिचान सक्रियता हो, क्रियाशीलता हो, सबै तहका जिम्मेवारीलाई चलायमान बनाऔँ, जिम्मेवारी पूरा गर्न नसक्ने एक तह तलको जिम्मेवारीमा बसौँ, पद लिएर पूरा गर्न नसक्नेले अर्कोलाई काम गर्न दिऔँ, पार्टीको आन्तरिक सुशासन महिला कार्यकर्तामा बढी छ, अरूले पनि सिकौँ’ ओलीले भने ‘ग्रासरुटको उद्देश्य यही हो, कहीँ समस्या छन् भने माझियौँ, हरेक क्षेत्रमा संगठन बिस्तारको योजनासहित क्रियाशील जिम्मेवारीमा खटिऔँ ।’

एमाले अध्यक्ष ओलीले अहिलेको निर्वाचनमा कपिलवस्तुले निकालेको नतिजालाई सम्मान गर्दै धन्यवाद भनेका छन् ।

एमाले सचिव एवम् पूर्व मन्त्री छविलाल विश्वकर्माले जनताका मुद्दालाई स्पष्टसँग बुझ्ने र जनताका कुरा सुन्ने काम मिसन ग्रासरुट अभियान मार्फत हुने स्पष्ट पारे ।

नेता विश्वकर्माले स्ववियु निर्वाचनको परिणामबाट पनि नेकपा एमालेको शक्ति र पार्टीप्रति युवा पुस्ताको आकर्षण स्पष्ट भएको बताए ।

नेता विश्वकर्माले यस पटकको मिसन ग्रासरुट अभियान नेता स्वयमको पनि अग्निपरीक्षा रहेको र अभियानमार्फत पार्टीलाई एकताबद्ध बनाउँदै अगाडि बढ्न सबैलाई उत्साह थप्ने बताए ।

कपिलवस्तुमा एमाले नेतृ राधिका शाक्य, स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेशका पूर्व मुख्य मन्त्री भीम आचार्य, स्थायी कमिटी सदस्य एवम् विदेश विभाग प्रमुख डा। राजन भट्टराई, एमाले पोलिटब्यूरो सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी, एमाले पोलिटब्युरो सदस्यहरू दधिराम न्यौपाने, विमला घिमिरे, नेताहरू वृजेश कुमार गुप्ता, सिराज फारुकि, बलराम अधिकारीलगायत पुगेका छन् ।

मिसन ग्रासरुट अभियानमा ५ दिन लुम्बिनीमा ओली

मिसन ग्रासरुट अभियान लिएर लुम्बिनी प्रदेशमा झरेका एमाले अध्यक्ष केपी ओलीले ५ दिन यहाँका ५ जिल्लामा बिताउने भएका छन् ।

११ गते रुपन्देही आएका उनी कपिलवस्तुका दुई स्थानमा आयोजित कार्यक्रम गरेर शनिवार साँझ चन्द्रौटामा बसेका ओली १२ गते आइतबार बिहान अर्घाखाँची जानेछन् ।

बिहान सदरमुकाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने, प्रशिक्षण कार्यक्रममा बस्ने, पुराना पार्टीका नेता कार्यकर्तालाई भेट्ने र जिल्लाका पर्यटकीय क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको एमाले नेता चेतनारायण आचार्यले बताए ।

१३ गते गुल्मीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने, विभिन्न पर्यटकीय क्षेत्र घुम्ने र पुराना नेता कार्यकर्तालाई भेटेर सोही दिन गुल्मीमै बस्ने कार्यक्रम रहेको नेता आचार्यले जानकारी दिए ।

१४ गते पाल्पामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने पुराना नेता कार्यकर्तालाई भेट्ने कार्यक्रम तय भएको छ । सोही दिने पाल्पा बसेर १५ गते रुपन्देहीमा आयोजना हुने मिसन ग्रासरुट कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

साबिक लुम्बिनीमा नेता ओलीले भूमिगत कालमा धेरै समय बिताएको क्षेत्र भएकाले पनि यो समयमा उनले तत्कालीन समयमा आफूलाई साथ सहयोग दिने नेता,कार्यकर्ता, शुभेच्छुक तथा उनीहरूको परिवारलाई भेट्न चाहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर